लुम्बिनीमा एक वर्षमा उद्योग र वाणिज्य क्षेत्रमा १५ हजारलाई रोजगार
दाङ– लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार २०४ जनाले रोजगार प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश घरेलु पर्यटन तथा सहकारी मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार प्रदेशमा यो संख्यामा रोजगार प्राप्त गरेका हुन् । प्रदेशमा स्थापना भएका उद्योग तथा वाणिज्यमार्फत् यो संख्यामा रोजगार प्राप्त गरेका हुन् ।
रुपन्देहीमा ८४३ महिला २५ सय पुरुष, बाँकेमा २ हजार २४ महिला र २२ सय पुरुष, नवलपरासी पश्चिममा ४७५ महिला र ६४५ पुरुष, कपिलवस्तुमा ६३३ महिला र ११ सय पुरुषले रोजगारी प्राप्त गरेका छन् । दाङमा ७६५ महिला र ११ सय पुरुष, बर्दियामा ३३५ महिला र ९३५ पुरुष, पाल्पामा १८० महिला र २७० पुरुष, गुल्मीमा १५० महिला र २५७ पुरुषले रोजगार प्राप्त गरेका छन् ।
त्यसैगरी अर्घाखाँचीमा ९३ महिला र १४० पुरुष, प्युठानमा ४६ महिला र १०२ पुरुष, रोल्पामा ७३ महिला र ६८ पुरुष एवं रुकुमपूर्वमा ७२ महिला र ९७ पुरुषले रोजगार प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८०/०८१ मा पाँच हजार ३६१ नयाँ उद्यमी थपिएका छन् । जसमा महिला दुई हजार ८५ जना र पुरुष ३२ सय ७६ जना रहेका छन् ।
रुपन्देहीमा ४०७ महिला र ५८० पुरुष, बाँकेमा ३४९ महिला र ८७४ पुरुष, नवलपरासी पश्चिममा ३ सय २ महिला र ५४५ पुरुष, कपिलवस्तुमा १७९ महिला र २६० पुरुष उद्यमी थपिएका छन् । यसैगरी दाङमा ५७५ महिला र ५९१ जना पुरुष, बर्दियामा १२५ महिला र १६४ जना पुरुष, पाल्पामा ४० महिला र ६० पुरुष, गुल्मीमा ३० महिला र ५२ पुरुष उद्यमी थपिएका छन् । अर्घाखाँचीमा १६ महिला र ४० पुरुष, प्युठानमा १६ महिला र ४० पुरुष, रोल्पामा २३ महिला ४५ पुरुष र रुकुमपूर्वमा ३८ महिला र ४५ पुरुष उद्यमी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
घरेलु उद्योगमा नौ अर्ब लगानी
लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा करिब नौ अर्ब लगानी थपिएकोे छ । प्रदेशका १२ जिल्लामा रहेका घरेलु तथा साना उद्योगमा आव २०८०/०८१ मा उक्त लगानी थपिएको हो । लुम्बिनी प्रदेश घरेलु पर्यटन तथा सहकारी मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार प्रदेशमा एक वर्षको अवधिमा आठ अर्ब ९० करोड रुपैयाँ लगानी थपिएको उल्लेख छ ।
रुपन्देहीमा दुई अर्ब ३० करोड रुपैयाँ, बाँकेमा दुई अर्ब २३ करोड, नवलपरासी पश्चिममा एक अर्ब २५ करोड, कपिलवस्तुमा ९१ करोड ६८ लाख, दाङमा ९२ करोड ४६ लाख रुपैयाँ लगानी भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । बर्दियामा ५३ करोड ७० लाख, पाल्पामा २१ करोड ८० लाख, गुल्मीमा १३ करोड २२ लाख, अर्घाखाँचीमा १५ करोड ४१ लाख, प्युठानमा पाँच करोड ५६ लाख रुपैयाँ लगानी भएको छ । यस्तै रोल्पामा सात करोड २८ लाख र रुकुमपूर्वमा आठ करोड ५३ लाख रुपैयाँ लगानी भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशमा एक वर्षको अवधिमा ३ हजार ६ सय घरेलु तथा साना उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए । उनका अनुसार रुपन्देहीमा ८३७, बाँकेमा ७२९, नवलपरासी पश्चिममा ४८४, कपिलवस्तुमा ४०५, दाङमा ५१३, बर्दियामा २८२ वटा उद्योग थपिएका हुन् । यसैगरी पाल्पामा ९७, गुल्मीमा ७३, अर्घाखाँचीमा ५४, प्युठानमा ३६, रोल्पामा ६८, रुकुमपूर्वमा ६१ वटा उद्योग थपिएका छन् । पाँच हजार ३६१ उद्यमी थपिएका छन् ।
वाणिज्यतर्फ ६ अर्ब लगानी
वाणिज्यतर्फ ६ अर्ब २१ करोड रुपैयाँ लगानी भएको छ । एक वर्षको अवधिमा प्रदेशका १२ जिल्लामा वाणिज्यतर्फ उक्त लगानी थपिएको हो । प्रदेशमा एक वर्षमा वाणिज्यतर्फ ३९ सय व्यवसाय दर्ता भएका छन् । १२ जिल्लामा एक वर्षको अवधिमा उक्त संख्यामा वाणिज्यतर्फका व्यवसाय दर्ता भएका थिए । यो अवधिमा १९ सय व्यवसाय बन्द भएका छन् । बन्द हुनेमा रुपन्देहीका ४८, बाँकेका ४६२, नवलपरासी पश्चिमका १२१, कपिलवस्तुका १३१, दाङका ४७५ वटा व्यवसाय रहेका छन् । यसैगरी बर्दियाका १६१, पाल्पाका १८६, गुल्मीका १८७, अर्घाखाँचीका १६, प्युठानका ३२, रोल्पाका ८३, रुकुमपूर्वका ३१ वटा व्यवसाय बन्द भएका छन् ।