पेरिसको पर्यटनमा उल्लेख्य सुधार

आतंकवादी हमला भएको दुई वर्षपछि सन् २०१७ मा फ्रान्सको राजधानी पेरिसमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
पेरिस भ्रमणका लागि उल्लेख्य होटल बुकिङ भएपछि सन् २०१५ को नोभेम्बरमा पेरिसमा आतंकवादी हमलाका कारण लागेको घाउ बिस्तारै निको भएको महसुस गरिएको छ ।
सन् २०१६ को तुलनामा पेरिसका होटल बुकिङ गराउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या २९ लाखभन्दा बढी भएको तथ्यांकले देखाएको छ । यसबाट पेरिसको पर्यटन क्षेत्रमा ९.५ प्रतिशत आम्दानी थपिएको छ । बढेको पर्यटकबाट हुने कमाइबाट २ अर्ब अमेरिकी डलर बराबर फाइदा पुगेको पेरिस क्षेत्रमा कार्यरत पर्यटन समितिले बताइएको छ ।
समितिले भनेको छ, “सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा पर्यटनमा चमत्कारिक रूपमा सुधार देखिएको छ ।”
पछिल्लो वर्ष खास गरी समुद्रपारबाट आउने पर्यटकको संख्यामा १३.७ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक पर्यटकको संख्यामा पनि उक्त समयमा ५.९ प्रतिशतले वृद्धि देखिएको जनाइएको छ ।
ज्योतिको सहर भनिने पेरिसमा चिनियाँ, जापानी, अमेरिकी तथा जर्मन पर्यटकले उल्लेख्य भ्रमण गर्ने गरेकोमा पेरिसमा भएको आतंकवादी हमलाले यसलाई प्रभावित तुल्याएको थियो । तर, यो बिस्तारै पुरानो भएको र पेरिसको सुरक्षा अवस्था पनि निकै सुधार भएकाले विदेशी तथा स्वदेशी पर्यटकको आवतजावत ह्वात्तै बढेको हो ।
यस वर्ष पनि अन्य वर्षझैँ पेरिस भ्रमणमा आउने अमेरिकी पर्यटकको संख्या नै बढी देखिएको छ । फ्रान्समा गत वर्ष २४ लाख अमेरिकीले भ्रमण गरेका थिए भने दोस्रोमा योभन्दा निकै कम ११ लाख चिनियाँ पर्यटकले भ्रमण गरेका थिए ।