Logo

नागढुंगा-मुग्लिन सडकमा २१ पुल बन्दै

धादिङ– संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाको रुपमा रहेको नागढुंगा–मुग्लिन सडक खण्ड अहिले धमाधम विस्तार भइरहेको छ । यो खण्ड विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति भइरहेको हो ।

सडकको खत्रीपौवा खोलादेखि बर्बाङ खोलासम्म २१ वटा पुल निर्माणाधिन अवस्थामा छन् । नागढुंगा–मुग्लिन सडक आयोजना प्याकेज नं. १ नागढुंगादेखि नौबिसेसम्म दुईवटा एकल स्पानको पुल निर्माण भइरहेका छन् । खत्रीपौवा खोलामा २२ मिटर लामो र नौबिसे खोलामा २२ मिटर लामो पुल निर्माण गर्ने काम चलिरहेको छ । नागढुंगा–नौबिसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ३१ करोड ८४ लाख रुपयाँ लागतमा दुई वर्षमा सक्ने गरी जिअंसु र सगुन कन्स्ट्रक्सनले जिम्मा लिएका छन् । २०७८ चैत २४ मा यो सम्झौता भएको थियो । तोकिएको समयमा निर्माण कार्य पूरा नगरेकाले २०८१ माघ २८ गतेसम्म म्याद थप गरिएको छ ।

यसैगरी प्याकेज नं. २ नौबिसेदेखि मलेखु खोलासम्म १३ वटा पुल निर्माणाधिन छन् । ती पुलमध्ये ११ वटा एकल स्पान, एउटा दुई स्पान र एउटा तीन स्पानको निर्माण भइरहेको छ । गणेश खोलामा १७ मिटरको, साप्याङ खोलामा २२ मिटरको, खहरे खोलामा २५ मिटरको, फेदी खोलामा नौ दशमलव दुई मिटरको, डाङडुँगे खोलामा १७ मिटरको, खेस्टे खोलामा २२ मिटरको पुल निर्माण भइरहेको छ ।

यसैगरी मछेडी खोलामा छ मिटरको, गर्दो खोलामा आठ दशमलव पाँच मिटरको, जुँदी खोलामा नौ मिटरको, चिरौदी खोलामा १७ मिटरको, पोखरे खोलामा १७ मिटरको, गलौदी खोलामा २२ मिटरको र सोती खोलामा ५ मिटरको पुल निर्माण कार्य जारी छ ।

निर्माण कम्पनी शर्मा–लामा कन्स्ट्रक्सन र जेआइसिजीले संयुक्त रुपमा २०७८ चैत २४ गते नौबिसे–मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार पाँच अर्ब ३३ करोड १९ लाख रुपयाँ लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेका छन् । तोकिएको समयभित्र काम नसकिने आयोजनाका परामर्शदाता राजेन्द्र पौडेलले बताए ।

यसैगरी नागढुंगा–मुग्लिन सडक आयोजना प्याकेज नं. ३ मलेखु खोलादेखि मुग्लिनसम्म ६ वटा पुल निर्माणाधिन छन् । तीमध्ये चारवटा एकल स्पान र दुई वटा दुई स्पानका हुन् । गोमती खोलामा १७ मिटरको, चरौदी खोलामा एउटा ३५ मिटर र अर्को २२ मिटरको, खटौती खोलामा २२ मिटरको, जगग्दी खोलामा २ मिटरको, मौवा खोलामा २२ मिटरको र वर्वाङ खोलामा २५ मिटरको पुल निर्माण भइरहेको छ ।

३९ किलोमिटर सडक सुधार तथा विस्तार गर्न चार अर्ब ५० करोडमा शर्मा कन्स्ट्रक्सन र जेडआइसीजीले तीन वर्ष अर्थात् २८ डिसेम्बर २०२५ मा सक्ने गरी सम्झौता गरेर काम गरिरहेको परामर्शदाता रोहित आचार्यले बताए । पुल निर्माणमा पछिल्लो प्रविधि अपनाइएकाले काम गर्न सजिलो भएको र निर्माण पनि छिटो भएको उनको भनाइ छ । सगुन कन्स्ट्रक्सनका इन्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार पुलको लागि आवश्यक फाउण्डेशन निर्माणसँगै गर्डर बाहिर निर्माण गरेर लगेर राखिन्छ । गर्डर राखेपछि स्ल्याप ढलानको काम अघि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्