Logo

अर्थतन्त्र सुधारतर्फ : अर्थमन्त्री

बुटवल– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारतर्फ गएको दाबी गरेका छन् । बुटवल उद्योग वाणिज्य संघको ७१ औं वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै मन्त्री पौडेलले राजस्व परिचालन, पुँजीगत खर्चलगायतका आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका हुन् । मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै उनले स्थिरता, विकास र समृद्धिको लागि संसद्का दुई ठूला दलहरु कांग्रेस र एमाले एक ठाउँमा आएको बताए ।

पौडेलले दुई दलबीचको सत्ता सहकार्यले आम नागरिकमा आशाको सञ्चार गरेको जिकिर गरे । स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारासहित बनेको यो सरकार संसद्को बाँकी अवधिको पूरा कार्यकालसम्म रहने उनको दाबी थियो । बुटवलको भविष्य कमजोर होलाकी भन्ने चिन्ता नगर्न आग्रह गर्दै पौडेलले यो ठाउँ पूर्व–पश्चिम र उत्तर दक्षिणको समेत ट्रान्जिट भएकाले राम्रो सम्भावना रहेको बताए । उद्योगी व्यवसायीलाई तत्कालै केही भएन भनेर मन साँघुरो नबनाउन समेत उनले आग्रह गरे ।

उपप्रधानमन्त्री पौडेलले राष्ट्रिय अभिभार पूरा गर्न र आफू निर्वाचित भएको क्षेत्रको विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको बताउँदै निर्माणाधीन बुटवल–नारायणगढ सडक चाँडो पूरा हुने विश्वास व्यक्त गरे । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माण हुँदै गरेको सुरुङमार्ग छिटै ब्रेक थ्र्रु हुने बताउँदै पूर्वपश्चिम राजमार्गको तिनाउमा सिग्नेचर ब्रिज, बुटवल–दाङ सडकको स्तरोन्नति, बुटवलको चौराहा गोलपार्क सडकको निर्माण पूरा हुँदा बुटवलको रौनक अर्कै हुने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका हिसाबले सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको बताए । उनले मुलुकमा नीतिगत स्थायित्व नभएका कारण लगानीकर्तामा विश्वासको वातावरण नबनेकोमा जोड दिए । ‘नीतिगत स्थायित्व भएन भने कन्फिडेन्स विल्डप गर्न सकिँदैन’ उनले भने,‘अहिले नीतिगत अस्थिरता छ । अर्थमन्त्रीका रूपमा तपाईलाई पाएपछि केही भए पनि आशा जाग्रित भएको छ, लगानीकर्तालाई कन्फिडेन्स विल्डप गराउनु होला ।’

सरकार र निजी क्षेत्रको सहकार्यमा भएका लगानी सम्मेलनपछि आठ वटा कानुन सुधार भएको बताउँदै ढकालले लगानी निरुत्साहित गर्ने अझै धेरै कानुनमा सुधार गर्न आवश्यक रहेकाले त्यसमा ध्यान दिन पनि मन्त्री पौडेललाई आग्रह गरे । पछिल्लो वर्ष नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनुपर्नेमा त्यसको उल्टो भएको बनेको उनले बताए । नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनको लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपाल पब्लिक एण्ड डेभलपमेन्ट आयोजना सञ्चालन गरिएको जानकारी उनले दिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिलान्यास भएर रोकिएको मोतीपुर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउन, खुला सीमाका कारण नेपाली उद्योगी व्यवसायीलाई मार पर्नुको साथै राजस्वमा समेत प्रत्यक्ष प्रभाव गरेको बताउँदै सीमा नाकालाई व्यवस्थित र कडाइ गराउन माग गरे । त्यसैगरी बीमाको दाबी भुक्तानीमा समस्या रहेको बताउँदै सहज भुक्तानीको वातावरण बनाई दिन समेत उनले मन्त्री पौडेललाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले यो वर्ष विशेष गरेर बुटवलमा रात्री कालीन बजार सञ्चालन, मोतिपुर औद्योगिक क्षेत्र निर्माण र कृषि उपज केन्द्र स्थापनालाई विशेष प्राथमिकता दिएको जानकारी गराए । उनले बुटवललाई पर्यटकीय विश्राम स्थलको रूपमा विकास गर्ने र भारतीय पर्यटकलाई बुटवल हुँदै मुक्तिनाथ पुर्‍याउनको लागि बुटवल–मुक्तिनाथ, बुटवल–गोरखपुर रुटको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा, संघका महासचिव मुक्तिप्रसाद अधिकारीलगायतले यस क्षेत्रका आर्थिक तथा व्यावसायिक समस्या औंल्याउँदै समाधानका लागि पहल गर्न अर्थमन्त्री पौडेललाई आग्रह गरे । साधारणसभाका अवसरमा सहयोगी संघसंस्था तथा उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्