Logo

सेयर बजारमा गुम्ने पैसाको गणना

सेयर बजारमा सेयर किन्न सिकाउने धेरै हुन्छन् । सेयर किनेर नाफा हुने होइन । बेच्न सिकाउने कोही हुँदैनन् । आजभोलि क्लब हाउसमा छलफल हुन्छ । युट्युब र टिकटकमा पनि प्रवचन र अन्तरक्रिया हुन्छ । त्यहाँ अनुभवी लगानीकर्ता वक्ताको रूपमा प्रस्तुत हुन्छन् । नयाँ लगानीकर्ता श्रोता वा प्रश्नकर्ताको रूपमा सहभागी हुन्छन् ।

विदेश जाँदा म्यानपावर कम्पनी वा दलालबाट ठगिएका व्यक्तिहरू धेरै दुःख पाएर सफल भए भने आफैं म्यानपावर कम्पनीका सञ्चालक वा दलालको भूमिकामा प्रवेश गर्छन् । कसरी पैसा कमाउने भन्ने उनीहरूले पाठ सिकेका हुन्छन् । त्यस्तै, अघिल्लो बुट ट्र्यापमा परेको व्यक्ति टिकेर सफल हुन सक्यो भने अर्को बुलमा सेयर प्रशिक्षक बन्छ ।

पैसा कसरी गुम्छ भन्ने अनुभव गरेको व्यक्तिले अरूलाई सिकाउन सक्छ । तर, उसले अरूलाई कमाउन होइन, गुमाउन सिकाइरहेको हुन्छ । किनकि सेयर बजारमा आफूले कमाउन अरूले गुमाउनुपर्ने हुन्छ । अरूले बजारबाट पैसा नझिकून्, खाल बढिरहोस् र अन्तिममा मैले कुम्ल्याउन पाऊँ भन्ने आशामा उनीहरू हुन्छन् । लामो समय होल्ड गर्नु हुन्न, मुनाफा भएपछि नाफा बुक गर्नुपर्छ भनेर सिकाइन्छ । क्यासमा भने बस्नु हुँदैन । अर्को उपयुक्त स्क्रिप्टमा पैसा हालिहाल्नुपर्छ भनेर सिकाइन्छ ।

पुँजीकरण र नयाँ पैसाको सम्बन्ध
पुँजीकरण बढेबराबर सेयर बजारमा नयाँ पैसा थपिने होइन । पुँजीकरण ३० खर्बबाट ४० खर्ब पुग्दा बजारमा १० खर्ब रुपैयाँ थपिएको होइन । विद्यमान सेयरधनीबीच कारोबार हुँदा एक रुपैयाँ थप नगरी सेयरको मूल्य वृद्धि हुन सक्छ । उदाहरणका लागि ‘ए’ र ‘बी’ दुई कम्पनीका दुई सेयरधनी छन् । ‘ए’ को सेयर मूल्य १० प्रतिशत बढाएर बिक्रीमा राखियो । ‘बी’ले १० प्रतिशत बढेको मूल्यमा किन्यो । ‘बी’ले पनि आफ्नो सेयर १० प्रतिशत बढाएर ‘ए’लाई बिक्री गर्‍यो । ‘ए’को सेयर किन्न लिएको सापटी उसले ‘बी’को सेयर बेचेर तिर्‍यो । थप पैसा कत्ति पनि चाहिएन, बजार सूचक १० प्रतिशत बढ्यो ।

पुराना सेयरधनीको होल्डिङ घटेर नयाँ सेयरधनी थपिँदा बजारमा नयाँ पैसा थपिन सक्छ । त्यो पनि कारोबार भएको कित्तामा बढेको मूल्य मात्र थपिने हो । मानौं, नेप्सेमा १० लाख कित्ता सूचीकृत छ । पुँजीकरण १० करोड छ । सेयर मूल्य १ सयबाट १ सय १० रुपैयाँ भयो । यहाँ पुँजीकरण १ करोड थपियो । १ सय कित्ता कारोबार भएको भए बजारमा थपिएको पैसा भनेको बढीमा १ हजार रुपैयाँ मात्र हो, १ करोड रुपैयाँ होइन ।

दैनिक कारोबार रकम बढ्दैमा नयाँ पैसा आएको हुँदैन । कारोबार रकम दुई गुणा बढे पनि नेप्से परिसूचक यथावत् नै रहेको भए यहाँ एक रुपैयाँ पनि थपिँदैन । पहिले दैनिक १ अर्बको कारोबार हुन्थ्यो । अहिले २० अर्बको कारोबार भयो । १९ अर्ब नयाँ पैसा आएको होइन । नेप्से परिसूचक २००० अंकबाट ३००० अंक पुगेको छ भने केही नयाँ पैसा थपिएको हुन्छ ।

बढेको मूल्यमा सेयर बेचेर बढेको मूल्यमै सेयर किन्दा पुँजीकरण बढ्छ, नयाँ पैसा आउँदैन । नयाँ लगानीकर्ता प्रवेश गरे भने नयाँ पैसा आउँछ । पुरानाले बेचेर बजारबाट निस्के भने आएबराबर जान्छ । सामान्यतया मूल्य बढ्न नयाँले पैसा हाल्ने, पुरानाले बेचेको पैसा खालबाट नझिक्ने, त्यही पैसाले पुनः सेयर किन्ने, एवम् रीतले सबै लगानीकर्ताले केही दिन पैसा तरल राख्ने, बढेको मूल्यमा किन्ने गर्दै जाँदा मूल्य माथि–माथि जान्छ ।

नाफामा सेयर बेचेका लगानीकर्ताले जब नयाँ सेयर किन्न छोड्छन्, अनि मूल्य तल झर्न थाल्छ । नयाँ लगानीकर्ताले नाफा गरेर बजारबाट निस्क्यो भने पुराना खेलाडीको कमाउने मौका साँघुरिन्छ । त्यसैले उनीहरूले नाफा भएको पैसा पुनः लगानी गर्न प्रेरित गर्छन् । बजारमा धेरै पैसा भित्र्याउन आकर्षित गर्न सुरुमा आफैंले थप पैसा हालेर सेयरहरूको मूल्य बढाउँछन् । अनि मूल्य धेरै माथि पुग्छ, छिटो किन्नेले धेरै नाफा गर्ने अवसर हुन्छ भनेर ह्विम फैलाइन्छ ।

फलानो कम्पनी किन्नू, धेरै मूल्य बढ्छ भनेर सही सल्लाह दिएजस्तो गरिन्छ । ती कम्पनीको सेयर मूल्य साँच्चै बढ्छ । नयाँ लगानीकर्तालाई विश्वास दिलाउन अन्तिम महँगो मूल्यमा आफूले किन्न परे पनि किनेर अर्थात् आफूले घाटा खाएर पनि अरूलाई नाफा दिलाइदिन्छन् । बजारमा स्वतः नयाँ लगानीकर्ता आएर मूल्य बढ्दै गयो भने पुराना लगानीकर्ताले घाटामा सेयर खानु पर्दैन ।

बढ्दो बजारमा जुन कम्पनीको सेयर किने पनि बढिहाल्छ । तर नयाँ लगानीकर्ताले फलानोले भनेको सेयर किन्दा यति बढ्यो, यति नाफा भयो भनेर मक्ख पर्छन् । सुरुमा दुई–चार कम्पनीमा पुरानाले भनेको मिल्छ । त्यसपछि ऋण, सापटी, यताउति गरेर अझ धेरै पैसा नयाँ लगानीकर्ताले बजारमा हाल्छन् । अब तत्काल थप पैसा बजारमा आउँदैन भन्ने जस्तो देखिएपछि पुराना खेलाडीले खाने दाउ गर्छन् । यतिखेर उनीहरूले सिकाएको कम्पनीको सेयर किनेपछि मूल्य बढ्दैन, घट्छ ।

खेलाडीहरूले सेयर बिक्री गर्छन् । नयाँ लगानीकर्ताले किन्छन् । उनीहरूले मूल्य बढाएर बेच्न ग्राहक पाउँदैनन् । यसरी सुरु–सुरुमा थोरै–थोरै कमाएका लगानीकर्ताले पछि एकै पटक ठूलो रकम गुमाउँछन् । सेयर बजारमा यसरी मूल्य उकालो लाग्ने र ओरालो लाग्ने गर्छ । नेपालको सन्दर्भमा भन्ने हो भने २०५० सालदेखि अहिलेसम्म दुई–तीन वर्ष मूल्य उक्लँदै जाने र तीन–चार वर्ष ओर्लंदै जाने गरेको पाइन्छ ।

लामो बुलिस बजारमा ससाना बियर र लामो बियरिस बजारमा ससाना बुल पनि आउँछन् । नयाँ लगानीकर्तालाई सक्रिय पार्न, उनीहरूलाई पहिले नजानेर गुमाएको रहेछु, अब जान्ने भएँ, कमाइन्छ भनेर भ्रम पार्न यस्तो उतारचढावको भूमिका हुन्छ । स्विङमा कमाइन्छ भन्ने लोभको सिर्जना गरिन्छ । नाफा गर्दा थप नाफा गर्न र घाटा हुँदा पुरानो घाटा असुल्न भन्दै थप लगानी गर्न मानिसहरूलाई उत्प्रेरित गरिन्छ ।

नेप्से परिसूचक १-२ सय अंक बढ्दा नै २-३ हजार बिन्दु परसम्मको प्रक्षेपण सार्वजनिक गरिन्छ । जस्तो कि नेप्से परिसूचक २००० बाट २२०० पुग्दा अब यो ५५०० पुग्छ भनेर हल्ला फैलाइन्छ । पुराना खेलाडीले तल्लो बिन्दुमा थोरै–थोरै गरेर धेरै कित्ता जम्मा गरेका हुन्छन् ।

लामो यात्राको बीच–बीचमा नयाँ लगानीकर्तालाई प्यानिक बनाएर सेयर बेच्न प्रेरित गर्ने, फेरि लोभ देखाएर किन्न प्रेरित गर्ने गरिन्छ । यहाँ दीर्घकालीन खेलाडीका साथै छोटो अवधिका खेलाडीहरू पनि हुन्छन् । उनीहरूले दैनिक लोभ र डरको सिर्जना गर्ने प्रयास गर्छन् ।

सेयर बजारमा बाहिरबाट मानिसहरूलाई तानेर खेलमा सहभागी गराउने र उनीहरूलाई हराएर आफूले जित्ने मनोवैज्ञानिक विधिलाई फोमो (एफओएमओ अर्थात् फियर अफ मिसिङ आउट) भनिन्छ । अरू सबैले सेयर खेलेर पैसा कमाए, म मात्र पैसा कमाउन छुट्छु कि भन्ने पारेर खेलमा प्रवेश गराउने । त्यस्तै, अरू सबैले बेचिसके, मैले सबैभन्दा तल बेचेर धेरै नोक्सान बेहोर्नुपर्छ कि भन्ने लागेर बेच्न मन लाग्ने बनाउने । त्यस्तै, सबैले किनिसके, म किन्न छुटें कि भनेर किन्न मन लाग्ने बनाउने ।

सेयर बजारमा कम्पनी र कित्ता धेरै हुन्छन् । फोमो क्रियट गराएर कमाउँछु भन्नेको संख्या पनि ठूलो हुन्छ । बेला–बेला आफूले घाटा सहेर भए पनि अरूलाई लोभ्याउन र तर्साउन प्रयत्न गर्नुपर्ने भएकाले खेलाडीहरू पनि जोखिममै हुन्छन् । तथापि आममानिसमा छोटो अवधिको घटनाबाट धारणा निर्माण गर्ने मनोविज्ञान हुन्छ । त्यो कमजोरीबाट लाभ उठाएर सीमित बाठा खेलाडीले मुनाफा गर्छन् ।

सेयर बजारमा मूल्य बढाउन मात्र मेहनत गर्नुपर्ने हो । स्मार्ट लगानीकर्ताले नीतिगत सुधार भयो, बैंकको ब्याजदर घट्यो, अर्थतन्त्र सुधारको बाटोमा हिंड्न थाल्यो भनेर मूर्ख लगानीकर्ताहरूलाई आकर्षित गर्छन् । त्यत्तिकै मूर्ख बनाउन सकिँदैन । त्यसैले केही न केही सपोर्ट फ्याक्टर चाहिन्छ ।

मूल्य घटाउन भने स्मार्ट लगानीकर्ताले किन्न छोडे पुग्छ । घटबढ नभई स्मार्ट लगानीकर्ताले कमाउँदैनन् । उनीहरूका लागि बजार घट्नैपर्छ । घट्दा पनि कुनै नीतिगत वा कुनै व्यक्तिलाई दोष लगाउन पाए भने उनीहरू बढी सुरक्षित हुन्छन् । फलानोले यसो भनेको कारण बजार घटेको हो भनेर अरूलाई दोष दिन पाइने बिन्दु उनीहरूले खोजिरहेका हुन्छन् ।

सेयरको मूल्य स्वाभाविक बढ्ने भनेको भविष्यमा कम्पनीले दिने लाभांशले हो । मूल्यलाई त्योभन्दा माथि पुर्‍याउन वा अड्याएर राख्न धकेल्नुपर्छ । धकेल्न छोड्नासाथ आफ्नो स्थानतिर फर्किहाल्छ । आफ्नो स्थान भनेको लाभांशले थेग्ने मूल्य हो । यो मूल्य धेरै तल हुन्छ । त्यसैले मूल्य घटाउन सहज छ । तर, लाभांशले थेग्ने मूल्यसम्म भने झर्नै पाउँदैन । त्यस्तो सुरक्षित मूल्यमा जोसुकैले लगानी गर्न सक्छ । यो अवसर सेयर बजारले दिँदैन । सेयर बजारमा तल्लो बिन्दु पनि जोखिमपूर्ण नै हुन्छ । सेयर बजारमा कमाउने भनेको जोखिमको बिन्दुबाट अझ बढी जोखिममा यात्रा गरेर हो ।

प्रतिक्रिया दिनुहोस्