बाल अस्पताललाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहयोग
काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पचास लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो अस्पताल निर्माणका लागि उक्त सहयोग गरेको जनाएको छ ।
बैंकको कार्यालयमा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायव महाप्रबन्धक विनयनाथ न्यौपानेलगायत र उक्त संस्थाको तर्फबाट भुवन दाहालसहितको उपस्थिति रहेको थियो ।
बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्य लिई स्थापना भएको सो संस्थाले बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।