कालिगण्डकी करिडोर आयोजनाद्वारा घरटहराको क्षतिपूर्ति वितरण

पर्वत– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालिगण्डकी करिडोर अन्तर्गतको मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि क्षेत्राधिकारमा पर्ने घरटहराको क्षतिपूर्ति वितरण थालिएको छ । १३ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि आयोजना सुरु भएको चार वर्षपछि क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन क्षतिपूुर्ति वितरण गर्न थालिएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईंले ११ मिटर फराकिलो सडकको क्षेत्राधिकारमा पर्ने ६३ वटा घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु भएको जानकारी दिए । ‘भदौ २७ गते जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको बैठकले क्षतिपूुर्तिको दर निर्धारण गरेपछि २८ गतेदेखि लागू हुने गरी क्षतिपूर्ति बुुझ्न र घरटहरा भत्काउन १५ दिने सार्वजनिक सूचना जारी गरिएको छ,’ उनले भने, ‘सडकको बीच भागबाट पाँच दशमलब पाँच मिटर दायाँ र बाँया पर्ने घरटहरा भत्काउन प्रक्रिया थालिएको हो ।’
जलजला गाउँपालिकाको ८, ७ र ४ नम्बर वडाको फर्से, लस्ती, केराबारी, मिलनचोक, मोहनचोक, लामाखेत क्षेत्रको घरटहरा भत्काउन लागिएको हो । उनीहरूलाई कुुल ७९ लाख ७३ हजार क्षतिपूर्ति निर्धारण गरिएको छ । सडकअन्तर्गत पर्ने पर्वत–बेनी बजारको तीन सय मिटर दूरीलाई भने तत्काललाई छाडिएको आयोजनाका सूचना अधिकारी चापागार्इंले बताए । घरटहरा नभत्काउँदा बस्तीभित्र मापदण्डअनुसार सडक विस्तार गर्ने काम हुन सकेको थिएन ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको राष्ट्रिय गौरवको, कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्रे गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुंगा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर २०७९ कात्तिकदेखि सडक निर्माणलाई सुस्त बनाएको थियो । ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालिगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वाेच्च अदालतले रोक लगाएको थियो । विसं २०८० असोज महिनामा म्याद सकिएको यो सडक योजनाको २०८१ असोज महिनासम्मका लागि ठेक्काको म्याद रहेको छ ।
सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । सडक फराकिलो, नाली र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्रे गर्न सबबेस बिछ्याएको छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट पुल निर्माण गरिएको छ ।
फर्सेदेखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माणको काम भइरहेको छ । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन । बेनी–मालढुंगा, बेनी–जोमसोमलगायत म्याग्दीका दुरगामी महत्त्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् ।