नेपाली अर्थराजनीतिमा अन्तरविरोध «

नेपाली अर्थराजनीतिमा अन्तरविरोध

 

जनताको निरन्तरको विश्वासबाट राज्य सञ्चालनको नेतृत्व प्राप्त हुन सक्दा मात्र समाजवाद निर्माणमा नेतृत्वकारी भूमिका निर्वाह हुन सक्छ ।

मुलुकमा ०६२-०६३ मा भएको शान्तिपूर्ण जनक्रान्तिबाट सामन्ती राजतन्त्रको अन्त्य भई गणतान्त्रिक व्यवस्थाको स्थापना भएको छ । संविधानतः जनता सार्वभौमसत्ता सम्पन भएका छन् । अब आर्थिक सामाजिक रूपान्तरण गरेर समाजवादी बाटोमा मुलुकलाई अगाडि बढाउन जरुरी छ । यसका लागि सही कार्यनीतिक कार्यदिशा निर्धारण गरेर अगाडि बढ्नुपर्ने बेलामा एउटा कोणबाट अब राजनीतिक आन्दोलनको आवश्यकता नरहेको, अब त विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ । कुनै राजनीति, सिद्धान्त, विचार, वादभन्दा पनि राजनीति गरेर विकास र समृद्धि हासिल गर्नुपर्छ भन्ने विचारहरू नेपाली राजनीतिमा प्रवाह भइरहेको छ ।
यसरी नेपाली राजनीतिमा प्रवाह भइरहेका यस किसिमका विचारहरूले आखिर अब मुलुकमा साँच्चिकै सबै खाले द्वन्द्व वा संघर्ष समाप्त भएकै हुन् त ? के गणतन्त्र आइसकेपछि हिजो राजतन्त्रका विरुद्धको जस्तो संघर्ष आन्दोलन गर्नु पर्दैन त ? भनेर प्रश्न उठ्ने गरेको छ । निश्चय नै संविधानले दिशाबोध गरेअनुरूप विकास र समृद्धि हासिल गर्दै आर्थिक र सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्न सम्पूर्ण शक्ति केन्द्रित गर्दै अगाडि बढ्नु जरुरी छ । यसरी अगाडि बढिरहँदा बाटोमा देखा परिरहेका तगारोलाई नजरअन्दाज गरियो भने विकास र समृद्धि हासिल गर्ने कुरा केवल भाषणको विषय बन्न पुग्छ, यो त केवल अँध्यारोमा ढुङ्गा हानेजस्तो मात्र हुनेछ ।
समाज विकासको क्रममा दासप्रथा, सामन्तवाद हुँदै पुँजीवादमा समाज आइपुगेको छ । यहाँसम्म आइपुग्दा भीषण संघर्ष, आन्दोलन र क्रान्ति सम्पन्न भएका छन् । अब पुँजीवादबाट समाजवादमा जाँदा पनि यस्तै संघर्ष हुन्छ र समाजवाद हुँदै साम्यवादी समाजमा पुग्दा पनि मित्रतापूर्ण अन्तरविरोध र द्वन्द्व हुन्छ भनेर माक्र्सले उल्लेख गरेका छन् भने पछि पुँजीवादी व्यवस्थामा संघर्ष आन्दोलन आवश्यक छैन भनेर स्वयं वामपन्थीहरूले भन्नु यो त केवल अवसरवादी र यथास्थितिवादी एवं दक्षिणपन्थी सोचचिन्तनबाहेक अरू केही होइन ।
नेपालको विशिष्ट परिस्थितिमा सामन्तवादविरोधी राजनीतिक आन्दोलनले सफलता प्राप्त गरी गणतन्त्र स्थापना भएको छ । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान निर्माण भएको छ । यस सन्दर्भमा नेपालमा राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भएको छ, तर श्रमजीवीवर्गमाथि साम्राज्यवादी पुँजीवाद र दलाल पुँजीवादको शोषण र उत्पीडन कायमै छ ।
अब संविधानले दिशाबोध गरेको बाटोबाट राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गरी समाजवादको आधार निर्माण गर्न व्यवधान खडा गर्ने शक्ति र प्रवृत्ति नै यतिखेर नेपाली समाजको प्रमुख अन्तरविरोधका रूपमा रहेकोे छ र संघर्षको निशाना पनि यही शक्ती र प्रवृत्तिविरुद्ध हुन आवश्यक छ ।
सामन्तवादविरोधी पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलताबाट नेपाली समाज सामन्तवादबाट पुँजीवादको प्रारम्भिक चरणबाट विकास भइरहेको छ । तर, साम्राज्यवादी पुँजीवादको हस्तक्षेप र प्रभावका कारण प्रारम्भिक अवस्थामा रहेको पुँजीवाद पनि आधारभूत रूपमा दलाल चरित्रका रूपमा विकास भइरहेको छ । दलाल पुँजीवादले राष्ट्रिय पुँजीको विकास गरेर उत्पादन र स्वरोजगारी वृद्धि गरी आर्थिक विकास र समृद्धि हासिल गर्न व्यवधान खडा गरेको छ । यसरी नेपालको विकास र समृद्धिको बाधकका रूपमा रहेको दलाल पुँजीवादको गहिरोसँग अध्ययन–विश्लेषण गरेर त्यसका विरुद्ध संघर्ष गर्नु नै अहिलेको आवश्यकता हो । तर, सतही रूपमा विकास र समृद्धिको मात्र कुरा गर्दा लक्ष्य प्राप्त गर्न सकिन्न । अहिलेको नेपालको वाम आन्दोलनमा देखा परेको मुख्य समस्या पनि यही हो ।
दलाल पुँजीवादले नेपाली पुँजी र प्रविधिको विकास हुन दिइरहेको छैन । खास गरी बहुराष्ट्रिय निगमका कम्पनीले विकास गरेको प्रविधि र वस्तुलाई खुला आयात नीतिका माध्यमबाट नेपाली बजारमा भित्र्याउँदा एकातिर स्वदेशी उद्योगहरू धाराशायी भएका छन् भने अर्कातिर वस्तु उपभोग गरेबापतको पुँजी पनि बहुराष्ट्रिय निगमका एजेन्टमार्फत विदेशतर्फ नै जाने गरेको छ । बहुराष्ट्रिय निगमका वस्तुले नेपाली बजारमा एकाधिकार जमाएका छन्, यसले गर्दा बजारमा अनियन्त्रित मूल्य वृद्धि भई महँगी बढ्न गएको छ । दलाल पँुजीवादले राज्यसंयन्त्रका अधिकारीलाई नै प्रभावमा पार्ने गरेका कारण कार्टेलिङ, एकाधिकार तवरले मूल्य निर्धारण, वस्तुको गुणस्तरीयतामा -हास हुँदै गएको छ र बजार अनुगमन प्रभावहीन हुँदै गएको छ । वस्तु आयातमा सीमित व्यक्तिले लाइसेन्स लिएर एकाधिकार कायम गर्ने गरेका कारण पनि बेलाबेलामा वस्तुको अभाव सृजना गरिदिने, तोकिएबमोजिमको परिणाममा बजारमा वस्तु आयातन गरिदिने र एकाएक मूल्यवृद्धि गरी अभाव खडा गरिदिने प्रवृत्ति बढेको छ ।
दलाल पुँजीवादले मूलतः अनुत्पादन क्षेत्रमा पुँजी प्रयोग गर्ने गरेको छ । केवल कमिसन र अधिक मुनाफा केन्द्रित क्षेत्रमा लगानी केन्द्रित गर्ने जस्तै सेयर कारोबार, रियल स्टेट, म्यानपावर व्यवसायतर्फ बढी लालायित हुने भएका कारण रोजगारीका अवसरलाई संकुचन गर्दै आएको छ । बहुराष्ट्रिय निगमको औद्योगिक वस्तु देशभित्र बेरोकटोक आउन थालेपछि देशभित्र स्वच्छ तवरले औद्योगिक एवं व्यापारिक प्रतिस्पर्धा हुन दिँदैन, साथै कृषिक्षेत्रलाई प्रोत्साहन गरेर उद्यमसँग जोड्न नदिने दलाल पुँजीवादीको विशेषता बनेको छ ।
परिणामस्वरूप उद्योग कलकारखाना नहुँदा युवा श्रमशक्तिले देशभित्र रोजगारी प्राप्त गर्ने अवसर नपाउँदा सस्तो श्रममा विदेशमा गएर रोजगारी गर्न विवश हुनुपरेको छ । अझ सरकारी स्तरबाटनै देशभित्र रोजगारीका अवसर सृजना हुने गरी औद्योगिक गतिविधिलाई तीव्रता प्रदान गर्नुको सट्टा विभिन्न देशमा श्रमसम्झौता गर्ने जुन नीति छ, यसले साम्राज्यवादी दलाल पुँजीवादलाई नै सहयोग पु-याउने काम गरेको छ । देशभित्र विदेशी पुँजी र प्रविधि भित्र्याउने क्रममा एनसेलजस्तो कम्पनीले सञ्चार क्षेत्रमा कायम गर्दै गरेको एकाधिकारले एकातिर राज्य कमजोर बन्दै गएको छ भने अर्कातिर देशभित्र व्यवसाय बिक्री–वितरण गरी कमाएबापत पचासौं अरब पुँजीगत लाभकर राजनीतिक र न्यायालयको संरक्षणमा भुक्तानी नगरेर अर्थतन्त्र कमजोर बनाउने काम गरेको छ ।
दलाल पुँजीवादले अनियमितता, कर छली र कानुनको उल्लङ्घन गरी राज्यलाई कमजोर बनाउने काम गर्छ । सरकारी अधिकारीहरूलाई घूस तथा नजराना बुझाएर आफ्नो काम फत्ते गर्ने, सार्वजनिक जग्गा हडप्ने, मापदण्ड पूरा नगरी सरकारी अधिकारीलाई प्रभावमा पारेर व्यवसाय सञ्चालन गर्न इजाजत लिने, विकास आयोजनाहरू ठेक्का पारेर, समयभित्र आयोजनामा सम्पन्न नगर्ने, जलविद्युत्लगायत अन्य आयोजनाको सञ्चालन र निर्माणको लाइसेन्स लिएर होल्ड गर्ने वा मोटो रकम लिएर लाइसेन्स बिक्री गर्ने, निर्माणाधीन आयोजनाहरूको उल्टै समय गुजारेर आयोजनाको लागत बढाइदिने, निर्माण भएको आयोजना गुणस्तरहीन बनाइदिएर राज्यलाई कमजोर बनाउने र सेवाग्राहीलाई गुणस्तरहीन वस्तु तथा सेवा प्रदान गर्ने काम दलाल पुँजीवादले गर्दै आएको छ ।
दलाल पुँजीवादले आर्थिक क्षेत्रमा मात्रै होइन, राजनीतिक एवं सामाजिक क्षेत्रमा समेत पकड जमाएको छ । मोटो पैसा बुझाएर राजनीतिक पार्टीहरूबाट टिकट लिने, निर्वाचनमा जे–जति पनि पैसा खर्च गरेर, जे–जसरी भए पनि विजय हासिल गर्ने खालका हर्कतले स्वच्छ, निष्पक्ष एवं धाँधलीरहित निर्वाचन प्रणालीमा गम्भीर प्रहार गरिदिएको छ । दलाल पुँजीवादले पैसाकै भरमा धर्मान्तरण गरिदिने र जातीय तथा साम्प्रदायिक सद्भाव खलबल्याइदिने सम्मका काम हुने गरेको छ । गैरनेपालीलाई पैसाकै भरमा नागरिकता दिलाउन प्रशासनलाई समेत प्रभावमा पारी मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकतामा समेत खलल पु-याउने काम गर्दै आएको छ । यसर्थ पनि यतिखेर दलाल तथा नोकरशाही पुँजीवाद नै मुलुकको अग्रगति, प्रगति, समृद्धि र आर्थिक विकासको बाधक बनेको छ ।
यतिखेर श्रमजीवीवर्गको अग्रदूत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको छ । तसर्थ नेपाली श्रमजीवी जनताको वर्गीय एवं राजनीतिक हिसाबले बाधक बनेको दलाल पुँजीवादका बीचको अन्तरविरोधलाई सही ढंगले खुट्याउदै यसका विरुद्धको संघर्ष र टक्कर तीव्र बनाउँदै लैजानु जरुरी छ । दलाल पुँजीवादका विरुद्ध माथि उल्लिखित विकृति एवं विसंगतिलाई अन्त्य गर्ने गरी सरकारले जति जनमुखी नीति, योजना र कार्यक्रमलाई अगाडि बढाउनेछ, त्यति नै दलाल पुँजीवाद कमजोर बन्दै जानेछ । यसका विरुद्ध संघर्ष गर्न सक्दा नै सरकारको लोकप्रियता बढेर जानेछ ।
तसर्थ सरकारले राष्ट्रिय पुँजीको निर्माण र प्रोत्साहन गर्ने गरी अर्थ नीतिलाई अगाडि बढाउनुपर्छ । उत्पादन बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र निर्यात बढाउने गरी निजी पुँजीलाई प्रोत्साहन गर्ने, निजीकरण र व्यापारीकरण भइरहेको जनताका आधारभूत सेवाहरू– शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, खाद्यान्न, यातायात क्षेत्रलाई सर्वसुलभ बनाउने र यसबापत बचत हुने बचत रकमलाई प्रोत्साहन गरी राष्ट्रिय पुँजी निर्माण गरी परिचालन गर्ने नीतिलाई अगाडि बढाउँदा राष्ट्रिय पुँजीको आकार विस्तारित ढंगले निर्माण भई दलाल पुँजीवाद क्रमशः कमजोर बन्नेछ । यसका साथै, सार्वजनिक सेवामार्फत जनतालाई सर्वसुलभ सेवाप्रवाह गर्ने, सिन्डिकेट, कार्र्टेलिङलाई रोक लगाउने, विकास–निर्माणका कार्यमा सार्वजनिक स्वामित्वमा निर्माण कम्पनी खडा गरेर विकास आयोजनाहरूलाई सुचारु रूपले गुणस्तरीय ढंगले सम्पन्न गर्ने-गराउने, निर्माण सामग्रीको अभाव हुन नदिने गरी विकास आयोजना सञ्चालन गर्नुपर्छ ।
सीप, पुँजी र बजारको सुनिश्चितता गर्ने गरी बेरोजगार युवायुवतीका लागि सीपमूलक तालिमको प्रत्याभूति गरी सस्तो दरको कर्जा पुँजीका रूपमा उपलब्ध गराई स्वरोजगार उद्यमी बनाउने नीति लिनुपर्छ । निजी उद्यमी–व्यवसायीले उत्पादन गर्ने वस्तुको बजारको सुप्रबन्ध गरेर मात्र देशमा उद्योग–व्यवसाय फस्टाएर जान्छ, साथसाथै आयात प्रतिस्थापन भई निर्यात वृद्धि हुँदै जानेछ र यसैको जगमा मुलुकमा आर्थिक विकास समृद्धि, हासिल गर्ने तथा स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार तयार हुनेछ ।
दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्न विशेषतः पार्टी र सरकारका बीचमा सम्बन्ध व्यवस्थित हुन जरुरी छ । कम्युनिस्ट पार्टीभित्र नयाँ ढंगले क्रान्तिकारी कार्यशैली र जीवनशैलीको अवलम्बन गर्नुपर्छ । पार्टीभित्र कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली र यसैका आधारमा नेतृत्व छनोट गर्ने प्रणालीको विकास गर्ने, पार्टी कार्यकर्तालाई उत्पादनसँग जोड्ने, सबै नेता–कार्यकर्ताले राज्यलाई अनिवार्य कर बुझाउने नीतिको अवलम्बन, पार्टीका नेताको आवधिक रूपमा स्वतन्त्र तवरले सम्पत्ति छानबिन गर्ने संयन्त्रको व्यवस्थाका साथै आधारभूत तहसम्म वैचारिक अभियानको सघन सञ्चालन गरेर मात्र पार्टी र सरकार लोकप्रिय र जनमुखी बन्नेछ । जनताको निरन्तरको विश्वासबाट राज्य सञ्चालनको नेतृत्व प्राप्त हुन सक्दा मात्र समाजवाद निर्माणमा नेतृत्वकारी भूमिका निर्वाह हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्