‘दलित समुदायका लागि रोजगारी सृजना गर्न कार्यविधि तयार पारिँदै’

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न कार्यविधि तथा निर्देशिका तयार हुने क्रममा रहेको बताएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद भुबनबहादुर सुनारले चालु आव २०८१/८२ को बजेट वक्तव्यमा दलित समुदायको रैथाने सीप, ज्ञान, पेसाको आधुनिकीकरण गर्न, रोजगारी सृजना गरी जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्नका लागि २० करोड विनियोजन भएकोमा सोको कार्यान्वयन कुन निकायबाट कसरी भइरहेको छ ? भनी अर्थमन्त्री पौडेललाई प्रश्न सोधेका थिए ।
जवाफमा अर्थमन्त्री पौडेलले दलितको हकका सम्बन्धमा संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सोको कार्यान्वयन गर्न सरकारले वार्षिक बजेटमार्फत रकम विनियोजन गर्नुका साथै कार्यविधि बनाएर कार्यान्वयनको चरणमा गइसकेको जानकारी दिए ।