'६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी धितोपत्र बोर्ड जिम्मेवार हुनुपर्छ'
धितोपत्र बोर्डको काम तजबिजीमा हुनुहुँदैन: सांसद

काठमाडाैं- धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले धितोपत्र बोर्डलाई राज्यले विश्वास गरेर पुँजीबजार लगानीकर्ताको हित र संरक्षण गरी लगानी सुरक्षित गर्ने नियामक निकायका रुपमा जिम्मेवारी लिएको भन्दै त्यही अनुसार जिम्मेवार हुन नसकेको उल्लेख गरे ।
उनीहरुले धितोपत्र बोर्डले विगतमा गरेका कामले लगानीकर्ताको विश्वास गुम्दै गएको भन्दै जिम्मेवार भएर बोर्डले लगानीकर्ताको विश्वास जित्न सक्नुपर्नेमा जोड दिए । सांसदहरुले धितोपत्र बोर्डको ऐनमा तजबिजी बढी भएकाले पनि धेरै बेतिथिहरु आउने गरेको उल्लेख गरे । अब धितोपत्र बोर्डमा तजबिजी भन्दा पनि ऐन र नियमावलीले लिएका निश्चित अधिकारबाट चल्न समितिले निर्देशन दिनुपर्ने सांसदहरुको भनाइ छ । सांसदहरुले ६० लाख लगानीकर्ताको लगानीलाई सुरक्षित र संरक्षण गर्नेगरी जिम्मेवार भएर धितोपत्र बोर्डले काम गर्न सक्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद एवम पूर्वअर्थमन्त्री वर्षमान पुनले लेखा समितिले उठाएको विषय पुँजीबजारमा आइपीओ जारी गर्ने क्रममा चलखेल भएको गुनासो आउँदा आवश्यक व्यवस्था गर्न समितिले निर्देशन गरेको देखिएको बताए । उनले आईपीओ निकाल्दा चलखेल हुने नहुने विषयमा धितोपत्र बोर्ड जिम्मेवार हुनुपर्ने बताए । उनले लगानीकर्ताले नियामक प्रतिको विश्वास गुम्नु भनेको राज्यप्रतिको विश्वास गुमाउनु भएको उल्लेख गरे ।
उनले विगतका आईपीओ निष्काशनका सर्न्दभमा समितिले निर्देशन दिनुपर्ने अवस्थाका विषयमा धितोपत्र बोर्डले जिम्मेवारीपूर्वक लगानीकर्ताहरुको हितलाई संरक्षण गर्नुपर्ने बताए । उनले आईपीओ बुक बिल्डिङ प्रणालीमा जाँदा चलखेल रोक्न सकिने अवस्था रहेको बताए । उनले समितिले आईपीओ जारी गर्दा बुकबिल्डिङ प्रणालीमालाई प्राथमिकतामा राखेर जान निर्देशन दिनुपर्नेमा जोड दिए । उनले प्राथमिक शेयर जारी गर्दा दोहोर्याएर कम्पनीहरुको पुन:मूल्यांकन गर्ने नियमावली संशोधन काम गरिएको उल्लेख गरे ।
नेकपा एमालेका सांसद पदम गिरीले पनि धितोपत्र बोर्ड अर्थ समितिको क्षेत्राधिकार भित्र पर्ने बताए । उनले अर्थ समितिले नीतिगत कुराहरुमा छलफल गर्ने र लेखा समितिले अनियमितता विषयमा हेर्ने भएकाले त्यही अनुसार निर्देशन भएको देखिएको बताए । उनले नियमावली नै संशोधन गरेर पुन:मूल्यांकन गर्ने कम्पनीहरुको मूल्य बढाएर आईपीओ जारी गर्दा लगानीकर्ताहरु मर्कामा पर्ने गरेको देखिएको बताए । उनले नेटवर्थ ९० प्रतिशत भन्दा माथि वा तल भन्ने विषयमा समितिमा गम्भिर रुपमा छलफल गर्नु आवश्यक रहेको बताए । उनले घाटामा रहेका कम्पनीहरुको आईपीओ जारी गर्न दिँदा शेयर लगानीकर्तालाई ठूलो असर पर्ने गरेको उल्लेख गरे ।
नेपाली काँग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर सेबोन र नेप्सेलाई रिफर्म गर्ने नीति बनाउन आवश्यक रहेको बताए । उनले पुँजीबजार समग्र देशको अर्थतन्त्र विस्तारको औजार भएको दाबी गरे । उनले पुँजीबजारमा सुधारको लागि लगानी संरक्षण र सुरक्षित गर्ने नीति आवश्यक रहेको उल्लेख गरे । उनले पुँजीबजारमा जति सक्दो लगानी भित्र्याउन सक्नुपर्ने धारणा राख्नुभयो । उनले धितोपत्र बोर्डमा अहिलेसम्म धेरै चलखेलमा चल्ने गरेको भन्दै यस्ता खालका चलखेलले सधैँ लगानीकर्तामा आत्मबलको कमी ल्याउने बताए ।
उनले पुँजीबजारमा कम्पनीको शेयर तल माथि हुनु स्वाभाविक भएको बताए । उनले नेपालमा अप्रेशनमा नआएका आयोजनाको पनि आईपीओ जारी हुने गरेको बताए । उनले आईपीओ जारी गर्ने विषयमा अन्तर्राष्ट्रिय अभ्यास र कानूनका आधारमा जारी गर्न दिए अन्तर्राष्ट्रिय रुपमा लिगेसी बोकेका संस्थाहरु पनि आईपीओमा आउन सक्ने बताए । उनले तजबिजी अधिकार हुँदा आईपीओ लगायतमा समस्या रहेको बताए । उनले धितोपत्रबोर्डको अध्यक्ष ल्याउने नै त्यस्तो काम गराउन ल्याउने खोज्ने गरेको धारणा राखे । उनले यो मानिसिकताबाट नेपालको क्यापिटल मार्केट र लगानी दुवै माथि नजाने उल्लेख गरे ।
त्यस्तै धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले लामो समयसम्म रोकिएर बसेको आइपीओ निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्ने भएको बताए । उनले अब आइपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको आइपीओ फाइल अगाडि बढाउने बताए । उनले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको हकमा भने पर्ख र हेरको अवस्थामा नै रहेको बताए । उनले कम्पनीहरूको वित्तीय अवस्था अध्ययन गरेर स्वीकृतका लागि अगाडि बढाइएको बताए । उनले वित्तीय अवस्थामा कमजोरी भएका कम्पनीहरूलाई बोर्डले थप अध्ययन र परीक्षण गरेर मात्रै निर्णय लिने योजना बनाएको बताए ।