Logo

डेढ करोडको रैथाने वस्तु बिक्री

जुम्ला– डेढ करोड रुपैयाँको अग्र्यानिक रैथाने वस्तु बिक्री भएको छ । जुम्ली रैथाने वस्तुको माग बढ्दै गएपछि गत वर्ष उक्त रकम बराबरको वस्तु बिक्री भएको हो ।

स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा जुम्ली रैथाने बालीको माग बढ्दो छ । खेतीयोग्य जमिन बाँझिएर यूवा पलायन बढे पनि जुम्लास्थित चन्दननाथ अग्र्यानिक मिनी मार्केटले अग्र्यानिक वस्तुको मागलाई पूरा गर्दै आइरहेको छ ।

चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाद्धारा सञ्चालित उक्त अग्र्यानिक मिनी मार्केटले आन्तरिक बाह्य पर्यटकको मागअनुसार सबै प्रकारका रैथाने वस्तु सस्तो मूल्यमा लेवलिङ र प्याकेजिङ गरेर बिक्री गर्दै आएको छ ।

मिनी मार्केटले बिक्री गरेको डेढ करोड रुपैयाँको अग्र्यानिक वस्तु सबै जिल्ला बाहिर र देश बाहिर मात्रै पुगेको छ । जसले गर्दा जुम्लाको अग्र्यानिक वस्तुको माग बढेको देखिन्छ । सिमी, मार्सी चामल, ओखर, स्याउका चाना, सिस्नोको धुलो, फापरको पिठो, चिनो, कागुनो, राडीपाखी,महलगायतका ३० प्रकारका रैथाने बाली प्याकेजिङ गरेर बिक्री गर्दै आएको मिनी मार्केटले जनाएको छ ।

तथ्यांकनुसार गत आवमा ३५ लाखको सिमी, ३० लाखको मार्सी चामल, २३ लाखको फापरको पिठो, पाँच लाखको काँचो मह, २९ लाखको स्याउका चाना, ९ लाखको ओखर, १४ लाखको राडीपाखी बिक्री गरिएको थियो । त्यस्तै, चार लाख ८० हजारको लिउ, १० लाख ५० हजार रुपैयाँको कोटे पकडा उनको, पाँच लाख ९५ हजारको चिनो, चार लाख ८० हजारको कागुनो र नौ लाख ९५ हजारके सिस्नो गरेर गत वर्षमा कुल एक करोड ५२ लाख ८० हजार रुपैयाँको अग्र्यानिक रैथाने वस्तु मिनी मार्केटबाट बिक्री भएको चन्दननाथ सहकारीका सामुदायिक विभाग प्रमुख गोर बहादुर बस्नेतले बताए । उनका अनुसार मिनी र्मोकटमा दशैं तिहार र चैत वैशाखको समयमा अत्यधिक अग्र्यानिक वस्तुको माग हुन्छ ।

दशैं बिदामा घर जाँदा जिल्ला बाहिरका कर्मचारीले लाखौंको वस्तु किन्ने गरेको उनको भनाइ छ । गत आवमा एक करोड ६९ लाखबराबरको अग्र्यानिक वस्तु खरिद गरिएकोमा एक करोड ५२ लाखको बिक्री भएको थियो । हाल १७ लाखबराबरको वस्तु मौज्दात छ । यो दशैंमा सबै सकिने अनुमान छ । मिनी मार्केटले गत आवमा खुद आम्दानी मात्रै ३० लाख बढी गरेको छ भने ७ जनालाई नियमित रोजगारी दिइरहेको छ ।

चन्दननाथ सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डे लोपोन्मुख रैथाने बालीको उत्पादन बढाउन र पर्यटकलाई अग्र्यानिक खानामा आकर्षण गर्न सहकारीमार्फत अग्र्यानिक मिनी मार्केट सञ्चालन गरेको बताउँछन् । उनी भन्छन, ‘हाल सहकारीमा २५ हजार सदस्य छन् । मिनी मार्केटले सहकारी सदस्यको उत्पादन मात्रै खरिद गर्छ । पैसासँग वस्तु साटिरहेका छौं । कुनै सदस्यलाई पैसा आवश्यक परे लिन्छन् । नभए बचत खातामा जम्मा गर्छन् ।’

यस्ता वस्तु जुम्लामै लेबलिङ प्याकेजिङ गरेर बिक्री हुन्छ भने अर्डरअनुसार सुर्खेत नेपालगन्ज, काठमाडौं, विराटनगर, बुटवल धनगढीलगायतका शहरमा पनि पुर्‍याउने गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थल नजिक पनि अग्र्यानिक मिनी मार्केटको शाखा विस्तार गरिएको छ ।

जुम्ला प्रदेश राजधानीपछिको दोस्रो ठुलो शहर भएकोले प्राय ठूला कार्यक्रमदेखि भिआइपीको आगमन भइरहेको हुन्छ । साथै राराताल गएर जुम्ला फर्किने पर्यटकको संख्या पनि उल्लेखनीय रहेको छ । जसका कारण स्याउका चाना, सिमी, ओखर खरायोको टोपी सबैभन्दा बढी बिक्री हुने गरेको छ ।

कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यक नीति कार्यक्रम र लगानी बढाउन सके आयात प्रतिस्थापन गर्न सक्ने सम्भावना देखिएको छ । उत्पादन बढाउने नीति र उत्पादित वस्तुको बजार अभावले कर्णालीका खाद्यान्न बाली निर्यात हुन नसकेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्