Logo

मध्यपहाडी लोकमार्ग

७५ सालमा निर्माण हुने जाजरकोट खण्डको सडक अझै पूरा भएन

वीरेन्द्रनगर– पुष्पलाल राजमार्ग (मध्यपहाडी) अन्तर्गत जाजरकोट खण्डको समयमा निर्माण नहुँदा विजोग भएको छ । कुल ८५ मिलोमिटर जाजरकोट खण्डमा लामो समयदेखि निर्माण कार्य पूरा नहुँदा भारी मात्रामा समस्या थपिँदै गएको हो ।

पाँचवटा खण्ड रहेको यस राजमार्गको भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयाडा गएर टुंगिने गर्दछ । कुदु–स्याउलीखोलासम्मको १७ किलोमिटर सडक २०७५ सालमा निर्माण गर्नुपर्ने भए पनि शर्मा सिंह एण्ड ब्रदर्श जेबीलाई २०८१ असोजसम्म निर्माण गर्न समय अवधि दिइएको छ । यसमा ८०.८६ किलोमिटर प्रगति देखिएको आयोजनाका प्रमुख निमित्त योजना प्रमुख ई. अमितकुमार मण्डलले जानकारी दिए ।

१८.५ मिलोमिटर रहेको भेरी नगरपालिकाको स्याउलेखोला छेडागाड नगरपालिकाको काँर्कीगाउँसम्मको सडक खण्ड २०७५ सालमा निर्माण गर्नुपर्ने भए पनि यस सडकको हालसम्म निर्माण कार्य सम्पन्न नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थप गरिएको छ । यो काम पनि शर्मा सिंह एण्ड ब्रदर्श जेबीले नै गरिरहेको कामको प्रगति अहिलेसम्म ६३.६० प्रतिशतमात्र रहेको आयोजना प्रमुख मण्डलले बताए । शर्मा सिंह एण्ड ब्रदर्श जेबीले नै लिएको काँर्कीगाउँ मन्ताभीरको १० किलोमिटर सडकको २०७६ मा नै सम्पन्न गर्नुपर्ने भए पनि समयमा नै निर्माण नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थप भएको छ । यो सडकको ६३.७७ प्रतिशतमात्र प्रगति भएको छ । मन्ताभीर थलह बजारसम्मको ९.६ किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेबीले हालसम्म उक्त सडक निर्माण नगर्दा समस्या थपिँदै गएको छ ।

उक्त सडक २०७६ मा निर्माण गर्नुपर्ने भए पनि हाल २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ । यसको ४५ प्रतिशतमात्र प्रगति भएको आयोजना प्रमुख मण्डलले बताए । ३१ किलोमिटर रहेको थलह–सुयाडा सडक खण्ड निर्माणकार्य सम्पन्न भएको छ । यहाँ यातायातका साधन सञ्चालनमा छन् । एकै निर्माण व्यवसायीले धेरै ठेक्का लिने तर काम अलपत्र पार्दै समयमा निर्माण नगर्ने परिपाटिका कारण समस्या हुँदै आएको हो ।

यहाँ पनि चारवटा ठेक्का एकैलाई दिएर अलपत्र पारेको देखिएको छ । निर्माणको भाका सकिएको सात वर्षसम्म सडक निर्माण नगरी म्यादमात्र थप्ने कामले गर्दा जाजरकोटका स्थानीयबासीले सडकमा यात्रा गर्ने सपनामाथि तुषारापात भएको छ । सात वर्षसम्म म्याद थपिरहने कामले राज्यले सडक निर्माण गर्न कति ताकेता दिएको रहेछ भन्ने गतिलो उदाहरण हेर्न यही सडक काफी रहेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए । यो सडक भेरी करिडोरसँग कुदुमा जोडिने गर्दछ । भेरी नदीमा आठ वर्षभन्दा लामो समयदेखि पुलसमेत अलपत्र पर्दै आएको छ । पूर्वी रुकुम, पश्चिम रुकुम हुँदै मध्य जाजरकोट हुँदै पश्चिम जाजरकोटबाट दैलेख यो सडकले जोडने गर्दछ ।

काम नगर्ने तर ठेक्काबाट पन्छिन नचाहाने तरिकाले गर्दा विकास निर्माणमा बाधा पुग्दै आएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । ठेक्काभरि एकैले लिने त्यो पनि पूरै गुणस्तरहीन भएको छ अर्का नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य रामदिप आचार्यले भने ।

यो सडकको महत्त्व र लक्ष्य ठूलो भए पनि काम भने सन्तोषजनक नभएको उनको भनाइ छ । भत्किएको ठाउँमा समेत मर्मतको काम नगर्दा ठूलो समस्या परिरहेको छ । राज्यले यसलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने हुन्छ उनले थपे । जाजरकोटको कुदुदेखि सुयाडासम्म सिधा यातायात चढेर देलेख हुँदै सुर्खेत पुग्ने सपना अझै पूरा भएको छैन । कुदुबाट रुकुम पश्चिमको चौरजहारी हुँदै रुकुमपूर्वको बीचबाट काठमाडौं जाने सपनासमेत पूरा हुन नसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्