राष्ट्रिय बिमा संस्थान ५१ वर्षमा प्रवेश

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५१ औं वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बिमा र वित्तीय क्षेको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताएका छन् ।
वित्तीय क्षेत्रमा विभिन्न किसिमका जोखिम हुने भन्दै उनले सम्पत्ति र दायित्वको जोखिम भार बहन गर्ने क्षमता नै बिमा भएको प्रष्टयाए । प्रतिस्पर्धी बन्दै गएको बिमाका योजनाहरूलाई समय सुहाउँदो बनाउँदै बिमकहरू सामु आफूलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै गभर्नर नेपालले ग्रामीण जनसमुदायमा बिमाको पहुँच अत्यन्त न्यून रहेकाले बिमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफूलाई विकास गर्नुपर्नेमा जोड दिए ।
अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जोखिम व्यवस्थापन, वित्तीय पहुँच वृद्घि तथा सुरक्षित बचतका लागि बिमा व्यवसायकोे माध्यमद्वारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । नेपालको बिमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले समयानुकूल प्रविधिको विकास, संगठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिस्पर्धामा उत्रन आग्रह गरे ।
आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धी कार्य प्रणालीको अवलम्बन गर्दै जीवन बिमा व्यवसायमा आम नागरिकहरूलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न अधिकारीले सुझाव दिए ।
बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सरकारी संस्थानका हैसियतले जीवन बिमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिँदै संस्थान प्रतिस्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरूको दक्षता वृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिए । संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाका रूपमा स्थान बनाउन सफल भएको बताए । बिमा बजारमा निजी र विदेशी कम्पनीहरूको आकर्षण रहे तापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उनको भनाइ छ । मुलुक संघीय संरचनामा पूर्णरूपमा प्रवेश गरिसकेको परिप्रेक्षमा संस्थानले आफ्नो कार्य क्षेत्रलाई सोहीबमोजिम सेवा विस्तार गर्ने योजना बनाइरहेको अध्यक्ष डा. खरेलले जानकारी दिए ।
संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले संस्थानको आफ्नो सेयर पुँजी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बिमाशुल्क, पुनर्बिमा कमिसन नै संस्थानको आर्थिक स्रोतको आधार रहेको बताए । मुलुकका प्रमुख व्यावसायिक केन्द्रहरूमा छरिएर रहेका संस्थानका शाखा कार्यालयहरूले ग्राहकहरूको घर दैलोसम्म बिमा सेवा प्रदान गर्दै आइरहेको भन्दै संस्थानले हाल मुलुकको कुल जनसंख्याको करिब दुई प्रतिशतलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा पुरायाउँदै आएको उनले बताए ।
अभिकर्ताहरूको कारण सामान्य जनतामा बिमा चेतनाको विकास गरी बिमा सेवालाई सर्वसाधारणसम्म पुरायाउन महत्वपूर्ण योगदान पुगेको भन्दै प्रशासक थापाले संस्थानका देशभर छरिएर रहेका करिब ३ हजार क्रियाशील अभिकर्ताहरूको सक्रिय योगदानले बिमा बजारको आजको स्थितिसम्म पुरायाउन उल्लेखनीय भूमिका खेलेको बताउए ।
वि.सं ०२४ साल पुस १ गते स्थापना भई फागुन ११ गतेदेखि व्यावसायिक कारोबार सुरु गरी राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ अनुरुप सञ्चालन हुदै आएको संस्थान शुक्रबार स्थापनाको ५० औं वर्ष पार गरी ५१ औं वर्ष प्रवेश गरेको हो । स्थापनाकालदेखि नै लगातार नाफामा रहेको संस्थानले नेपाल सरकारलगायत संस्थापक सेयरधनीहरूलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिब २० करोड वार्षिक राजस्व बुझाउदै आएको विज्ञप्तिमा जनाएको छ ।