मौरीको रोग अध्ययन गर्दै विज्ञ टोली, किसान उत्साहित

जुम्ला– जुम्लाको आर्थिक समृद्धिको मुख्य स्रोतका रूपमा रहेको मौरी पालनमा रोग कीराको संक्रमण बढेपछि विज्ञ टोली झिकाइएको छ । किसानले मौरी मरेर लाखौंको क्षति भएको र अनुसन्धान गर्न हारगुहार गरेपछि जुम्लामा विज्ञ टोली झिकाइएको हो । विगत ३/४ वर्ष यता जुम्लाको मौरीपालन व्यवसाय संकटमा परेको छ ।
अज्ञात रोगका कारण मौरी धमाधम मर्दै जाने र किसानले लाखौको घाटा बेहोर्न थालेपछि मौरी विकास केन्द्र ललितपुर गोदावरीको मौरी विज्ञ टोली जुम्ला पुगेर अनुसन्धान गर्न थालेको छ । मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोलीले जुम्लाका गाउँगाउँमा पुगेर मौरीमा लागेको रोग कीराबाट अध्ययन गर्न थालेको हो । अज्ञात रोगले वर्षेनी मौरी सखाप हुँदै गएपछि चिन्तित बनेका चन्दननाथ नगरपालिका–३ का मौरी किसान बालकृष्ण उपाध्याय विज्ञ टोली जुम्ला पुगेपछि उत्साहित छन् ।
उनीसंँग एक वर्ष पहिलेसम्म २५ वटा मौरीका घार थिए । मह बेचेर वार्षिक ७/८ दाख आम्दानी पनि गर्दै आएका थिए । १८ वटा घारका मौरी एकाएक मरेर अहिले सातवटा घारमात्रै बाँकी छन् । उनी भन्छन्, ‘अज्ञात रोगले मौरी पालनमा ठूलो क्षति गरेपछि आम्दानी खोसिएको छ । २५ घार मौरीमध्ये अहिले सातवटा मात्रै छन् । मौरी निष्क्रिय हुँदै जाने, मौरी र पोला दुवै कालो हुँदै जानेजस्ता लक्षण देखिएका छन् । कसरी रोग निवारण गर्ने होला ? केही थाहा छैन । तर अहिले जुम्लामा मौरी विज्ञ टोली आएको छ । अब समस्या पहिचान हुने आशामा छाैं ।’
जुम्लाका आठ पालिकामा अनुमानित आठ हजार बढी मौरीका घार छन् । तर पछिल्लो समय मौरीमा बढ्दो रोग किराको संक्रमणले भने चिन्तित बनेका किसानलाई राहत दिन विज्ञ टोली जुम्ला पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । गाउँगाउँमा पुगेर विज्ञ टोली मौरी घारको अध्यायन गर्नेछ ।
उनले भने, ‘क्रमश: गुठिचौर पातारासी, तातोपानी, चन्दननाथलगायत बढी प्रभावित पालिकाका किसानका घार अनुसन्धान गरिने छ । मौरीमा देखिएको रोग पत्ता लाग्ने आशामा किसान छन् । मौरीघारको अवस्था, चरन क्षेत्र र रोग किराको बारेमा टोलीले अध्ययन प्रतिवेदन दिनेछ ।’ जुम्लामा सबैभन्दा बढी सेराना जातको मौरी पालन हुँदै आएको छ ।
किसानले प्राय: चरण क्षेत्रको अभावले मौरी मर्न थालेको बताएका छन् । तर सिजनकै बेला मौरी मर्नुले भने चरण क्षेत्र नभई कुनै रोग भएको आशंका रहेकाले अब पत्ता लाग्ने आशा पलाएको कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाईंले बताए । उनका अनुसार गत साउन दोस्रो सातातिर भएको मौरी किसान र सरोकारवालाको छलफलपछि प्रशासनमार्फत् केन्द्रबाट मौरी विज्ञ टोली बोलाउने निर्णय भएको थियो ।
प्रशासनको सक्रियताका कारण मौरी विज्ञ टोली आएको अब मौरी पालन व्यवसाय ढुक्कले गर्ने गरी समस्या पहिचान हुनेमा जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापा आश्वस्त छन् । लम्पी स्किन रोगले सबै गाईगोरु मरेपछि गत वर्षबाट मौरीपालनमा होमिएका पातारासी गाउँपालिका–७ का टेकबहादुर बुढाले मौरी पालनको लगानी सबै गुमेपछि चिन्तित बनेका छन् । विज्ञ टोलीकै उनकै गाउँमा पुगेर अनुसन्धान गर्ने, परामर्श दिने र समस्या पहिचान हुने कुराले उनी उत्साहित छन् ।