धादिङ दूध, मासु र अण्डामा आत्मनिर्भर

धादिङ- धादिङ जिल्ला संघीय राजधानी प्रवेशको मुख्य नाका हो । यहाँका हरेक उत्पादन बिक्री केन्द्रित हुन्छन् । यस जिल्लाका खासगरी पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ र कालु पाण्डे राजमार्ग आसपासका किसान वर्षाैंदेखि व्यावसायिक उत्पादनमा लागेका छन् । यहाँको उत्पादनले राजधानीका उपभोक्ताको आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको छ ।
तथ्यांकलाई हेर्ने हो भने दूध, मासु र अण्डामा आत्मनिर्भर देखिन्छ धादिङ । खाद्य सुरक्षाका दृष्टिकोणबाट हर्ने हो भने उपलब्धता, पर्याप्तता, पहुँच र दिगोपना हुनुपर्छ । तर उत्पादकले बिक्री सहर केन्द्रित गर्ने गर्दछ । सबै उपभोक्ताको आर्थिक तथा भौतिक रूपमा सहज पहुँच छैन । भौगोलिक विविधताले भरिपूर्ण रहेका गाँउबस्तीमा मासु भए दूध हुँदैन । दूध भए अण्डा हुँदैन, अण्डा भए मासु हुँदैन ।
विश्व खाद्य संगठनले तोकेको मापदण्ड अनुसार आपूर्ति भएको नहुन सक्ने पशुपक्षी विकास कार्यालय धादिङ प्रमुख डाक्टर सन्दीप सिलवालले बताए । उत्पादनका हिसाबले धादिङ आत्मर्निभर छ । तर वितरण प्रणाली सहर केन्द्रित रहेको छ । गाउँघरमा मासु किनेर खाने चलन पुरानै हो । तर अण्डा र दूध किनेर खाने बानी परिसकेको छैन । बजारमा त मासु, दूध र अण्डा नै किनेर खान्छन् । यहाँको उत्पादन काठमाडौं सहर केन्द्रित रहेको डा. सिलवालले बताए ।
खाद्य सुरक्षाका ढृष्टिकोणले प्रतिव्यक्ति वार्षिक १४ किलोग्राम मासु, प्रतिव्यक्ति ५२ वटा अण्डा, प्रतिव्यक्ति ९१ लिटर दूध तोकेको छ । यहाँ उत्पादन हेर्ने हो भने मासु प्रतिव्यक्ति ३७ केजी, दूध १२३ केजी, अण्डा १३७ वटा पर्न आउँछ । आव २०७९/०८० मा गाईको दूध १७ हजार ७१४ मेट्रिकटन, भैंसीको दूध २३ हजार ५७६ मेट्रिकटन, गरी ४१ हजार २९० मेट्रिकटन दूध उत्पादन भएको छ । गत आवको तुलनामा तीन हजार ४३० मेट्रिकटन दूध उत्पादन घटेको छ ।
यसैगरी भैसी/राँगोको मासु तीन हजार ६८५ मेट्रिकटन, खसी/बोकाको मासु एक हजार २०४ मेट्रिकटन, भेडा/च्याग्राको मासु ३५ दशमलव ४ मेट्रिकटन, संगुर/बंगुरको मासु ३९० मेट्रिकटन र कुखुरा हाँसको मासु ६ हजार ७६० दशमलव १ मेट्रिकटन गरी १२ हजार ७४ दशमलव ५ मेट्रिकटन, मासु उत्पादन भएको छ । गत आवको भन्दा ३१ दशमलव ५ मेट्रिकटन मासु उत्पादन वृद्धि भएको छ ।
यसैगरी कुखुराको अण्डा उत्पादन ४४ करोड ४४ लाख नौ हजार गोटा र हाँसको अण्डा उत्पादन ८३ हजार गोटा गरी ४४ करोड ५३ लाख दुई हजार गोटा उत्पादन भएको छ । गत आवको भन्दा चार लाख ४६ हजार गोटा अण्डा कम उत्पादन भएको छ । भेडा च्याग्राको उन उत्पादन ट हजार ४९० मेट्रिकटन उन उत्पादन भएको छ । गत आव भन्दा ९९ मेट्रिकटन उन उत्पादन घटेको छ ।
जिल्लामा पशुपंक्षी व्यवसायलाई औषधि उपचार सेवालाई प्रभावकारी बनाउन ६४ भेटेनरी औषधि पसल सञ्चालनमा रहेको तथ्यांक छ । व्यावसायिक फर्मको संख्या हेर्ने हो भने उत्पादन अझ बढी हुनुपर्ने देखिन्छ । पशुपंक्षी विकास कार्यालय धादिङको वार्षिक पुस्तिका गाई फर्म १३ वटा, भैसी फर्म ३३ वटा, दुई सय चार वटा बाख्रा फर्म, बंगुर फर्म २१ वटा, एक सय ६ वटा पंक्षी फर्म रहेको छ । यी फर्महरू अधिकांश पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ र कालु पाण्डे राजमार्ग र जिल्ला सदरमुकाम आसपास मात्र रहेका छन् ।
कृषक तहबाट सञ्चालन हुदै आएका र्फमहरु दिगोरुपमा सञ्चालन भएको र नयाँ किसान जो अनुदान केन्द्रित र्फम सञ्चालन गर्छन । ति फर्महरु तथ्यांकमा मात्र हुन्छन् । अनुदान लियो केही समयपछि बन्द गरेर कता पुग्छन् पत्तो हुदैन । जो वास्तविक किसान हुन उनीहरू पनि अनुदानमा आश्रित किसानले गर्दा अनुदान नपाएको बताउँछन् । यहाँ काम गर्ने किसान मकै खाने बाँदर भएको वास्तविक किसानको गुनासो छ ।
कार्यालय प्रमुख डा. सिलवाल पनि यी भनाइमा सहमत छन् । जो पशुपंक्षी व्यवासाय गर्दै आएका छन् । उनीहरूको अनुदानमा पहुँच राख्न सक्दैनन् अर्थात आवश्यक कागजात पूरा गर्न वा सूचना नै पाउन सक्दैनन् । जसरी दूधमा उत्पदान दिएको छ । त्यसैगरी किसानको खोर/गोठमा गएर उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम बन्दैन । त्यति बेलासम्मको अनुदान निरन्तर पशुपंक्षी पालन गर्ने किसानले अनुदान पाउन सक्दैनन् भन्छन् कार्यालय प्रमुख डा. सिलवाल ।
तथ्यांक अझ मसिनो गरी संकलन गर्न संघीय मन्त्रालय, प्रदेशअन्तर्गतको पशुपंक्षी विकास कार्यालय र स्थानीय तहको पशुपंक्षी विकास शाखा एकीकृत रूपमा काम गर्नुपर्ने देखिएको कार्यालय प्रमुख डा. सिलवालले बताए । व्यावसायिकता र खाद्य सुरक्षा फरक पाटो भएकाले खाद्य सुरक्षाको दृष्टिकोणबाट ग्रामीण भेगमा उत्पादन र उपभोक्ता शिक्षा एक साथ सञ्चालन गर्नुपर्ने देखिन्छ । नव आगन्तुक किसानको एक्कासि हुने प्रवेशले जीविकोर्पाजनका लागि पशपंक्षी पालन गर्ने किसानलाई निरुत्साहित गर्दै आएको छ ।
सरकारी अनुदानको पक्कापक्की भएपछि असारमा फर्म दर्ता गर्ने र भदौ असोजमा फर्म बोकेर अनुदानको दाबी गर्ने नवआगन्तुक किसानलाई निरुसाहित गर्न प्रभावकारी अनुगमन गर्न कार्यालयलाई वा अन्य कुनै निकायलाई जिम्मेवारी तोक्नु पर्छ । राजनीतिक पूर्वाग्रह त्याग्न सक्नुपर्छ । धादिङमा हरेक वर्ष उत्पादन बढाउन सकिन्छ । सबै परिवारमा खाद्य सुरक्षाको दृष्टिकोणबाट पनि मासु, दूध र अण्डाको उपलब्धता, पर्याप्तता, पहुँच र दिगोपन दिन सकिन्छ ।