नापतौल कार्यालय नहुँदा व्यवसायी समस्यामा

दाङ– नापतौल कार्यालय नहुँदा व्यवसायीहरू समस्यामा परेका छन् । जिल्लामा नापतौलका सामाग्री चेक जाँच तथा नवीकरण गर्न नसकिएपछि व्यवसायीहरू समस्यामा परेका हुन् । केही समयअघि घोराहीका सुन चाँदी व्यवसायीहरूले गाडी रिजर्भ गरेर नेपालगन्ज पुगी आफ्ना नापतौलका सामग्रीहरू चेक जाँच तथा नवीकरण गराएर ल्याएका थिए ।
केही व्यावसायीहरू केही दिनमै गाडी रिजर्भ गरेर नेपालगन्जमा नापतौलका सामग्री चेक जाँच तथा नवीकरण गर्न जाने तयारीमा रहेका छन् । जिल्लामा नापतौलको कार्यालय नहुँदा हरेक उद्योग तथा व्यावसायीहरू नेपालगन्जसम्म पुगेर आफ्ना नापतौलका सामाग्री चेक जाँच तथा नवीकरण गर्नु पर्ने बाध्यतामा रहेका छन् । नापतौल कार्यालय नहुँदा आफूहरू बाध्य भएर नेपालगन्जसम्म जानु पर्ने बाध्यतामा रहेको घोराही सुन चाँदी व्यवसायी समितिका अध्यक्ष विनोद वि.क बताउँछन् ।
नेपालगन्जसम्म जानु पर्दा आफूहरूलाई आर्थिक तथा समयको समेत खर्च हुने गरेको उनको भनाइ छ । सामान लगेर जाँदा सामान समेत हराउने गरेको उनले बताए । सुन चाँदी व्यवसायीहरू हरेक वर्ष चेक जाँच तथा नवीकरण गर्नु पर्ने बाध्यतामा रहेको उनको भनाइ छ । ‘समयमा नवीकरण नगरेमा जरिवाना लाग्ने गर्छ । त्यसैले समयमा नै जानु पर्ने बाध्यता छ’ उनले भने ।
नेपालगन्ज जाँदा आफ्नो सवारी नहुनेहरूलाई २ दिनसम्म लाग्ने गरेको उद्योगीहरू बताउँछन् । जसले गर्दा जाँदा आउँदा खर्च, होटेलमा बस्दा खर्च हुने गरेको छ । सबैको एकै पटक म्याद नसकिने हुँदा आ–आफ्नो तरिकाले व्यवसायी जाने गरेका छन् । ‘जिल्लामा नापतौलको कार्यालय भएमा धेरै सहज हुने थियो’ अध्यक्ष विकले भने,‘आफूहरूले समस्याका बारेमा पटकपटक सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान भएको छैन ।’ ‘हामीले समस्याका बारेमा सम्बन्धित निकायमा, मन्त्री, सांसद राजनीतिक दललाई जानकारी गराए पनि समस्या समाधान हुन सकेको छैन’ उनले भने ।
नापतौल कार्यालय जिल्लामा नहुँदा गल्ला किराना व्यवसायीहरू धेरै समस्यामा रहेको गल्ला तथा किराना व्यवसायी समिति घोराहीका सचिव सुरज सुवेदीले बताए । ‘नापतौलका सामग्री धेरै प्रयोग हामीले गर्छौ, कति वेला बिग्रिन्छ थाहा हुँदैन । नयाँ किनेको नापतौलका सामग्री ३५ दिन भित्र दर्ता गर्नु पर्ने व्यवस्था छ । दर्ता गर्नका लागि नेपालगन्ज जानु पर्छ’ उनले भने । ३५ दिनपछि गएमा दर्ता तथा नवीकरण समेत नहुने समस्या रहेको छ ।
‘जिल्लामा कार्यालय छैन । टाढा जानु पर्ने बाध्यता छ । भनेको समयमा जान सकिएन भने दर्ता नहुने समस्या छ’ उनले भने । म्याद सकिएको समयमा नवीकरण गराउन नसक्दा जरिवाना तिर्नु पर्ने बाध्यता रहेको छ । नेपालगन्जसम्म जानु पर्दा समयसँगै आर्थिक खर्च समेत धेरै हुने गरेको सचिव सुवेदीले बताए । उद्योगी तथा व्यावसायीहरूको समस्या पटकपटक उठाए पनि समस्याको समाधान हुन नसकेको उनको भनाइ छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले जिल्लामा गुणस्तर तथा नापतौलको कार्यालय स्थापनाका लागि आफूहरूले सम्बन्धित निकायमा निरन्तर प्रयास जारी राखेको बताए । ‘हामीले लामो समयदेखि आवाज उठाउँदै आएका छौं, तर हालसम्म कार्यालय स्थापना हुन सकेकौ छैन’ उनले भने । जिल्लामा नापतौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायीहरूले समस्या भोग्नु परेको छ । जिल्लामा मात्र नभई साबिक राप्ती अञ्चलमा नै नापतौल कार्यालय छैन ।
साबिक राप्ती अञ्चलमा रहेका उद्योगी तथा व्यवासायीहरू आफ्ना नापतौलका सामग्री चेक जाँच एवं नवीकरण गराउन नेपालगन्जसम्म जाने गरेको उनले बताए । उद्योगी तथा व्यावसायीहरूलाई सहजताका लागि उद्योग वाणिज्य संघले नापतौल कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालन गर्दै आएको उनले बताए । यसले केही मात्रामा भए पनि उनीहरूलाई सहज हुने गरेको उनको भनाइ छ ।
राज्यले उद्योगी, व्यावसायीहरूलाई सहज रूपमा सेवा पाउने वातावरण सिर्जना गर्नु पर्नेमा उनले जोड दिए । नेपालगन्ज गुणस्तर तथा नापतौल कार्यालयको कार्य क्षेत्र रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया रहेको छ । जिल्लामा नापतौल कार्यालय स्थापना भएमा साविक राप्ती अञ्चलका उद्योगी तथा व्यावसायीहरूलाई समेत सहज पुग्ने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
जिल्लामा व्यवसायीहरूलाई सेवा दिने भनेर उद्योग वाणिज्य संघले शिविर सञ्चालन गर्ने गरेको छ । तर, शिविर समेत नियमित रूपमा सञ्चालन हुने गरेको छैन । जिल्लामा कार्यालयको स्थापना भएमा दाङ मात्र नभइ सिंगो राप्तीबासीलाई समेत सहजता हुने निजी क्षेत्रका अगुवाहरूको भनाइ छ । पटकपटक सम्बन्धित निकाय तथा राजनीतिक नेतृत्वसँग छलफल गरेर जानकारी गराए पनि यसको समाधान हुन सकेको छैन ।