खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन निर्देशन
काठमाडौं- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति अम्मरबहादुर थापाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्न निर्देशन दिए । उनले आफ्नो अनुकुलतामा कार्यविधि बनाएर अघि बढ्नेकुरा राम्रो नभएको बताए । उनले कानूनको समस्या छ भने ड्राफ्ट गरेर समितिमा ल्याउन निर्देशन दिए ।
फास्ट ट्रयाकमा कानून बनाउने गरी समिति अघि बढ्ने पनि बताए । उनले खेलकुदलाई कसरी प्राथमिकता दिने भन्नेबारेमा समिति नै गम्भीर रहेको बताए । खेलकुदको कानून नै चाहिएको छैन झैँ गरी अहिले समितिमा कुनैपनि कानूनहरुको बारेमा चर्चा नै नभएको बताए ।
बैठकमा नेकपा एमालेका सांसद छविलला विश्वकर्माले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिए । उनले समयमै हुन नसक्ने हो भने निश्चित समय निर्धारण गरी सहज रुपमा खेलकुदका गतिविधि अघि बढाउन सकिने बताए । उनले सम्भावना हेरेर उचित ठाउँमा खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले खेलकुद क्षेत्रको महत्त्व बढ्दै गइरहेको बताइन् । उनले सिमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरुले विकास र राष्ट्रको गौरव बढाउँदै आएको बताइन् । उनले खेल क्षेत्रमा लगानी समस्या रहेको बताइन् । खेल क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताइन् । उनले खेलाडीलाई रोजगारीको सुनिश्चितता गर्न आग्रह गरिन् ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले युवाहरुलाई समेट्ने गरी, युवालाई प्रोत्साहन दिनेगरी र युवालाई देशभित्रै रोजगारीको सुनिश्तिता हुनेगरी युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाउन सुझाव दिइन् । उनले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत आजसम्म कति वटा प्रपोजल परेका छन् ? भन्दै प्रश्न गरिन् । उनले युवाहरु देशभित्रै देशभित्रै केही गर्न चाहेपनि मन्त्रालयमा पठाएका प्रपोजल स्वीकृत हुन ढिलाइ भइरहेको बताइन् । उनले युवाका समस्याहरुको सूचि बनाइ समाधान गर्न मन्त्रालयलाई आग्रह गरिन् ।