बीमामा सुस्तता: व्यवसाय र पहुँच खुम्चियो
काठमाडौं– अर्थतन्त्रमा आएको सुस्तताको असर बीमा व्यवसायमा परेको छ । सोही कारण बीमा कम्पनीहरूको व्यवसाय र पहुँचमा संकुचन आएको हो । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा पहुँच १.३ प्रतिशत बिन्दुले घटेको छ ।
गत वर्षको साउनमा कम्पनीको दायारमा आएको जनसंख्या ४४ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा घटेर ४२.७० प्रतिशत कायम भएको हो । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । यस्तै, म्यादि र लघुम्यादी जीवन बीमालेखसहितको बीमा दायरामा आएको जनसंख्या भने ३५.८६ प्रतिशत रहेको छ ।
तर, अघिल्लो साउनमा भने ३८.५० प्रतिशत थियो । म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या भने १७.४८ प्रतिशत छ । बीमाको पहुँच सक्रिय बीमालेखकै आधारमा गणना गरिन्छ । तर, साउनमा सक्रिय बीमालेखको संख्या २.२४ प्रतिशत घटेको छ । बीमालेख संख्यामा आएको गिरावटले नै पहुँच घटेको हो ।
चालु आवको साउनमा कम्पनीहरूले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको पहिलो महिनाको तुलनामा गत साउनमा व्यवसायमा २.९९ प्रतिशत कमी भएको तथ्यांकले देखाएको छ । गत आवको पहिलो महिनामा बीमा कम्पनीहरूले २३ अर्ब ५९ करोड २८ लाख रुपैयाँबराबरको व्यवसाय गरेका थिए ।
चालु आवको साउनमा जीवन बीमा व्यापारमा ५.२६ प्रतिशत संकुचन देखिएको छ । गत आवको साउनमा जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६० करोड ६९ लाख बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । समग्र बीमा व्यवसाय घटे पनि साउन महिनामा कम्पनीहरूको नयाँ व्यवसाय २३.५८ प्रतिशत बढेको छ ।
अघिल्लो साउनमा कम्पनीहरूले २ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा यस्तो बीमा शुल्क बढेर २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । साउनमा कम्पनीहरूको नवीकरणमार्फत संकलन हुने बीमा शुल्क पनि ९.०९ प्रतिशत घटेर १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । हाल कुल सक्रिया जीवन बीमालेखको संख्या २.२४ प्रतिशत घटेर १ करोड ३७ लाख ७ हजार २५१ वटा कायम भएको छ ।
अझै पनि आर्थिक शिथिलता कायमै रहेकाले व्यवसायमा सुधार हुन सकेको छैन । चालु आवको साउनमा निर्जीवन बीमा व्यवसाय ८.१८ प्रतिशत वृद्धि भई ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ कायम भएको थियो । अघिल्लो आवको साउनमा कम्पनीहरूले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कम्पनीहरूको बीमालेख बिक्री दर पनि १२.८५ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवको साउनमा २ लाख १३ हजार ८२८ निर्जीवन बीमालेख बिक्री भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने भने २ लाख ४१ हजार ३१४ वटा बिक्री भएका छन् । बीमा क्षेत्रमा एक वर्षको अवधिमा साढे ५ सय जना कर्मचारी थपिएका छन् । अघिल्लो आवको साउनमा बीमा कम्पनीहरूमा कुल ११ हजार १५२ जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा ५४० जना थपिएका छन् ।
योसँगै हाल बीमा क्षेत्रमा कुल ११ लाख ६९२ जना कर्मचारी आबद्ध छन् । निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा धेरै ५.२७ प्रतिशत कर्मचारी वृद्धि भएको छ । अघिल्लो आवको साउनमा निर्जीवन बीमकसँग ५ हजार ५८० जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा बढेर २९४ जना थपिएर ५ हजार ८७४ जना पुगेका छन् ।
यता, जीवन बीमा कम्पनीमा पनि एक वर्षमा २४६ जना कर्मचारी थपिएर ५ हजार ८१८ पुगेका छन् । कम्पनीहरूले व्यवसाय विस्तारका लागि शाखा कार्यालय पनि बढाइरहेका छन् । अघिल्लो साउनमा कम्पनीहरूको देशभर २ हजार ७९९ वटा कार्यालय थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा १९३ थपिएका छन् । योसँगै कम्पनीहरूसँग कुल २ हजार ९९२ वटा कार्यालय पुगेका छन् ।