मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नति हुँदै

पर्वत– पर्वतको जलजला गाउँपालिकाको तीनवटा वडालाई जोड्ने रणनीतिक महत्त्वको मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नतिको काम सुरु भएको छ । मार्ग खुलेको करिब २० वर्षपछि स्तरोन्नति हुन लागेको १८ किलोमिटर दूरीको यो सडकले जलजलाको कृषि क्षेत्रदेखि म्याग्दीको नागीसम्मको पर्यटन विकासमा सहयोग पुग्ने देखिएको छ ।
करिब २०६४/०६५ सालतिर ‘ट्याक’ निर्माण भएको यो सडकमा झन्डै २० वर्षपछि कालोपत्रे गर्न सुरुवात गरिएको छ । गण्डकी प्रदेशको भौतिक मन्त्रालयमार्फत् गत आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय सडकको स्रोत सुनिश्चितको निर्णय भएबमोजिम सुरुवाति तीन करोड रुपैयाँबाट टेन्डर प्रक्रियाका सबै काम सकेर कालोपत्रे गर्न तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । सडक कालोपत्रे गर्न युग बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेडले ठेक्का पाएको छ ।
कालोपत्रेको काम सुरु गर्नका लागि ठेकेदार र जनप्रतिनिधि सहितको टोलीले सडक कालोपत्रे पुग्न सक्ने ठाउँसम्मको अवस्थाको अवलोकनको काम सकिएको छ । सडकको लम्बाइ १८ किलोमिटर लामो भए पनि यस वर्षका लागि प्राप्त भएको तीन करोडबाट करिब डेढ किलोमिटर टाढा खोलाखेतसम्म कालोपत्रे हुनसक्ने अनुमान छ ।
‘निकै ठूलो क्षेत्र र लामो दूरी ओगटेको सडक हो । म्याग्दीको नागी र काफलडाँडा सम्मलाई जोड्ने सडक पनि हो । यो रणनीतिक महत्त्वको सडक हो, उपाध्यक्ष आचार्यले भने, ‘तरकारी पकेट क्षेत्र काउली, बन्दा, आलुलगायताका नगदे बालीको बजारीकरणका लागि समस्या भएकोमा अब केही सहज हुन्छ ।’
जलजलाकै अर्को किराखोर–घाहाखेत–धारापानी सडक खण्ड पनि सोही निर्माण कम्पनी युग बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेडले कालोपत्रे गर्नका लागि ठेक्का पाएको छ । यो सडकका लागि पनि तीन करोड रुपैयाँ विनियोजन भएको छ । करिब ६ किलोमिटर लम्बाइको यो सडकको ‘ट्रयाक’ करिब २०६८/०६९ सालतिर खोलिएको उपाध्यक्ष आचार्यले बताए । स्थानीय कृष्ण भवन धर्म माध्यमिक विद्यालयसम्म पुग्ने यो सडकबाट पनि तरकारी निर्यातदेखिका अन्य कामका लागि सहज हुने उनको भनाइ छ ।
यसअघि नै कालोपत्रे भइसकेको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी कालोपत्रे सडकमा जोडिएको यो सडकले घाहाखेत, लालुखानी, बराए, कृष्णभवन माविसम्मको क्षेत्रलाई प्रभावित गरेको छ । यो सडक खण्डका ठाउँ–ठाउँमा पहिरो झर्ने क्रम नरोकिएकोले अब वर्षा रोकिएपछि पहिरो पन्छाएर काम थाल्ने तयारी छ ।
निर्माण कम्पनी युग बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेडका सञ्चालक प्रदीप बानियाले मिलनचोक–लेखफाट– शालिजा सडकको काम गर्नका लागि कामदार उक्त ठाउँमा पुगिसकेको बताउँदै निर्धारित समयमा नै काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । गत साउन २८ गते दुवै सडकको काम १२ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको र त्यसमा काम सक्ने गरी काम सुरु भएको छ ।
किराखोर–घाहाखेत–धारापानी सडकको काम भने दसैं वा तिहार आसपासबाट सुरु गर्ने तयारी छ । यो सडकमा साना ठूला पहिरा भएकाले पनि तत्कालै काम सुरु गर्दा पुन: बिग्रिने त्रास रहेकाले तिहार आसपासबाट काम सुरु गरिने बानियाले बताए ।