Logo

घरमा धारा, पानी बोकेर खाने दिनको अन्त्य

स्याङ्जा– जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका १३ हिरापाटा बस्तीमा अहिले खुशी छाएको छ । दैनिक आधा घण्टादेखि एकघण्टा समय खर्चेर खानेपानी बोकेर ल्याउनु पर्ने दिनको अन्त्य भएपछि सिंगाे बस्तीमा खुशी छाएको हो ।

१५० घरधुरीलाई लिफ्टिङ खानेपानी आयोजनामार्फत् ‘एक घर, एक घारा’ निर्माण भएपछि सधै डोकोमा बोकेर खानेपानी प्रयोग गर्दै आएका नागरिकलाई सहज भएको छ । संघीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७४/०७५ बाट सुरु भएको आयोजना आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएको हो ।

आयोजना सम्पन्न भएपछि ७९५ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । सम्पन्न भएको हिरापाटा खानेपानी तथा सरसफाइ आयोजनाको संघीय सांसद राजु थापाले उद्घाटन गरे । जिल्लाका नागरिक अझै पनि खानेपानी खोज्न हिँड्नुपर्ने बाध्यता रहेको बताउँदै सांसद थापाले अब त्यस्ता दिन अन्त्य हुने धारणा व्यक्त गरे ।

दरौखोलामा इनार बनाएर दुई इस्टेजमार्फत् लिफ्टिङको माध्यमबाट खानेपानीको व्यवस्था गरिएको छ । यो गुणस्तरसहितको आयोजना भएकाले शुद्धिकरणसहित उपभोक्ताको घरमा खानेपानी पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । शुद्धिकरण सहितको प्लान्ट भएकाले पानी सिधै पिउन मिल्नेगरी निर्माण गरिएको उनले जानकारी दिए ।

उपभोक्ताको ४१ लाख बराबरको जनश्रमदान र संघीय सरकारको तीन करोड ५४ लाख गरी तीन करोड ९५ लाखमा आयोजना सम्पन्न भएको हो । ‘एक घर, एक धारा’ अनुसारको अवधारणा भएकाले ८१० मिटर पाइपलाइनबाट खानेपानी वितरण गरिएको कार्यालयले जनाएको छ । घर–घरमा खानेपानी आएपछि उपभोक्ताले सरकार रहेछ भन्ने महसुस भएको सुनाए ।

पुतली बजारका नागरिक खानेपानीबाट वञ्चित नहुनेगरी कार्ययोजना अगाडि बढाइएको पुतली बजारका नगर प्रमुख तुलसीराम रेग्मीले बताए । साना–साना योजनामार्फत् खानेपानीको समस्या समाधानमा नगरपालिका लाग्ने र ठूला आयोजनाका लागि प्रदेश र संघीय सरकारमार्फत् सहयोग मागेर पुतली बजारका नागरिकलाई खानेपानीको अभाव हुन नदिने नगर प्रमुख रेग्मीले जनाए ।

प्रतिक्रिया दिनुहोस्