Logo

भैरहवाबाट हङकङ र दिल्लीको ट्रान्जिटमा देखिएन आकर्षण

एक वर्षमा ४० यात्रुले मात्र गरे उपयोग

बुटवल– नेपाल वायुसेवा निगमले २०८० भदौदेखि भैरहवाबाट सुरु गरेको काठमाडौं ट्रान्जिट हुँदै हङकङ र दिल्ली उडानमा आकर्षण देखिएको छैन ।

ट्रान्जिटको व्यवस्थाले भैरहवाबाट दिल्ली र हङकङ जान चाहने यात्रुलाई सहज भएको भनिएको थियो । आगामी दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु बढ्ने आशा गरिएको थियो । तर, निगमको ट्रान्जिटमा यात्रुले चासो दिएनन् । पछिल्ला उडानमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुहरु हुँदैनन् ।

प्रत्येक मंगलबार मलेसियाको क्वालालम्पुरबाट निगमको जहाज भैरहवा आई काठमाडौं जाने तालिका छ । भैरहवा आएको जहाजमा ट्रान्जिटका लागि काठमाडौं जाने र काठमाडौंबाट निगमकै जहाजबाट दिल्ली र हङकङ जान पाउने व्यवस्था गरिएको थियो ।

निगमले ट्रान्जिटको लागि भदौ १२ गतेबाट टिकट बुकिङ खुला गरेको थियो । भदौ १९ गते पहिलो पटक एक यात्रु काठमाडौं ट्रान्जिट हुँदै दिल्ली गएका थिए । भदौ २६ गते अर्का यात्रुले भैरहवाबाट हङकङको लागि पहिलो पटक ट्रान्जिटको उपयोग गरेका थिए । केही हप्ता दुई–चार जनाका दरले यात्रुले ट्रान्जिटमार्फत अन्तर्राष्ट्रिय यात्रा गरे, तर त्यो बढ्न सकेन । बरु ट्रान्जिटप्रति यात्रुको आकर्षण घट्न थाल्यो । ट्रान्जिट सुरु भएयता निगमको जहाजले क्वालालाम्पुर–भैरहवा करिब ३० वटा जति उडान गरेको छ । यी उडानमा जम्मा ४० यात्रुले मात्र ट्रान्जिटको उपयोग गरेका छन् । ट्रान्जिटमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांश हङकङका रहेका छन् ।

काठमाडौंमा लामो ट्रान्जिटमा बस्नुपर्ने र भाडा पनि महँगो भएकाले दिल्ली जाने यात्रु आकर्षित नभएको पर्यटन व्यवसायी तथा सोट्टो लुम्बिनीका पूर्वअध्यक्ष सञ्जय बजिमयले बताए । ‘दिल्ली जानुपर्दा काठमाडौं ४ घण्टा ट्रान्जिटमा बस्नुपर्छ । यहाँबाट गोरखपुरसम्म गएर जाँदा भाडा पनि निकै सस्तो पर्छ,’ उनले भने, ‘यहाँबाट को जान्छ र ? त्यही पनि एकतर्फी उडान कसरी चल्छ ?’

वायुसेवा निगमका भैरहवा सेल्स अफिस इन्चार्ज दिवस खड्काले सातामा एउटामात्र उडान भएकाले यात्रु आकर्षित नभएको हुन सक्ने बताए । ‘हप्तामा एउटामात्र भएकाले पर्खेर बस्नुपर्ने, मौसमका कारण जहाज भैरहवा आउने हो कि नआउने भन्ने लागेर हङकङको ट्रान्जिटमा पनि यात्रु नभएका हुन सक्छन्,’ उनले भने, ‘अर्कोतर्फ हङकङ उडानको लागि भैरहवा सानो बजार हो ।’

पुस–माघको जाडो महिनामा हुस्सु लागेर भिजिटीलीटी कम हुँदा मलेसियाबाट जहाज भैरहवा नआई काठमाडौं जाने गथ्र्यो । उडान नियमित नभई केही समय रोकिँदा पनि ट्रान्जिटका यात्रु नभएका हुन् । निगमले २०८० जेठ २९ गतेबाट क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडान थालेको थियो । यो रुटमा हालसम्म ४२ उडान भएको छ, जसमा कुल १ हजार ७२० यात्रु भैरहवा झरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रवक्ता दीपक बज्राचार्यले बताए ।

पछिल्लो ३ महिनादेखि भने निगमको जहाज क्वालालाम्पुरबाट भैरहवा नआएको उनले जानकारी दिए । निगमका दुईवटा जहाज मर्मतको लागि ग्राउण्डेड हुँदा मलेसिया–काठमाडौं उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडानको नाममा गौतम बुद्ध विमानस्थलमा एउटामात्र एकतर्फी उडान थियो । त्यो पनि रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्