गाउँपालिकाद्वारा ५१३ हल गोरुको बिमा
धादिङ– गजुरी गाउँपालिकाले किसानले जोत्न पालेका गोरुको एक वर्षका लागि बिमा गरिदिएको छ । २०८१ असार २३ गते बिमापत्र जारी गरी एक वर्ष अर्थात् २०८२ असार २२ गतेसम्मका लागि ५१३ हल गोरुको दुई करोड ५४ लाख बिमांक रकमको तीन लाख ४९ हजार रुपैयाँ प्रिमियम रकम गजुरी गाउँपालिकाले बेहोेरेको छ ।
गोरु बिमा तथा नगद सहायता कार्यक्रम कार्यविधि २०८१ अनुसार २०८१ वैशाख ३१ गते गोरुको बिमा गर्न सार्वजनिक सूचना जारी गर्यौं । गोरुपालक किसान र हलको फोटोसहित निवेदन संकलन गरेका थियाैं । बिमा कम्पनी छनोट गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग जेठ ३१ गते सम्झौता गर्याैं । गोरु पाल्ने ६१४ जना किसानले निवेदन पेस गरेका थिए ।
निवेदन पेस गर्ने गोरुपालक किसानकोमा बिमा गर्न बिमा कम्पनीका कर्मचारी गोठमा पुगेर ट्रयाक लगाउँदा ५१३ हल गोरु भेटिएको पशुपंक्षी शाखा प्रमुख डा. अस्मिन खुलालले बताए । गोरु बिमा गर्नुको उद्देश्य भनेको स्थानीय जातका गोरुको संरक्षण गर्नु, आयस्तर कमजोर भएका समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्ने र खेत बाँझो नराख्न र प्राङ्गारिक मलबाट किसानलाई कृषिमा आत्मनिर्भर बनाउने हो । गजुरी गाउँपालिकाको वडा नं. १ का २९ हल गोरु पालन भएको निवेदन आएकोमा बिमा गर्न गोठमा २७ हल गोरु भेटिएको छ ।
वडा नं. २ का १०६ हल गोरु पालन भएको निवेदन आएकोमा बिमा गर्न गोठमा ८० हल गोरु भेटिएको छ । वडा नं.३ का ११० हल गोरु पालन भएको निवेदन आएकोमा बिमा गर्न गोठमा ८३ हल गोरु भेटिएको छ । वडा नं. ४ का ९६ हल गोरु पालन भएको निवेदन आएकोमा बिमा गर्न गोठमा ७८ हल गोरु भेटिएको छ । यसैगरी वडा नं. ५ का १०१ हल गोरु पालन भएको निवेदन आएकोमा बिमा गर्न गोठमा ९० हल गोरु भेटिएको छ ।
वडा नं. ६ का ८५ हल गोरु पालन भएको निवेदन आएकोमा बिमा गर्न गोठमा ८५ हल गोरु भेटिएको छ । वडा नं. ७ का ३२ हल गोरु पालन भएको निवेदन आएकोमा बिमा गर्न गोठमा २७ हल गोरु भेटिएको छ । वडा नं. ८ का ५५ हल गोरु पालन भएको निवेदन आएकोमा बिमा गर्न गोठमा ४८ हल गोरु भेटिएको छ । ट्रयाक लगाउँदा भेटिएका सबै गोरुको बिमा गरिएको छ । प्राविधिकको सल्लाहअनुसार प्रतिगोरुको बिमांक रकम २० हजारदेखि ३० हजारसम्म तोकिएको डा. खुलालले बताए ।
गोरु बिमा गरिएका विषयमा किसानको धारण बुझ्दा गजुरी गाउँपालिका–१ का शान्तमणि ढुंगाना भन्छन्, ‘अल्छी किसानलाई ६० हजारको ट्रयाक्टर किनेर ५० प्रतिशत अनुदानमा दिने, हामी वर्षाैंदेखि गोरु पालेर गोबर सोरेर प्राङ्गारिक मलसमेत उत्पादन गरेर जमिन जोत्ने किसानलाई १२/१५ सयको बिमांक रकम तिरिदिएर हुन्छ । मलाई बिमाको कागज लिन बोलाएको थियो गइन । यसअघि पनि गोरु विमार पर्दा उपचार गरिआएको हो । सकेसम्म बचाउन खोज्ने हो । मरे छ भने मर्यो भनिदिए ।’ यसैगरी वडा नं. ८ का बद्री ढुंगाना भन्छन्, ‘आफ्नो धनमालको सुरक्षा आफैले गर्नुपर्ने हो । गाउँपालिकाले गोरुको बिमा गरिदिएको छ । यो काम राम्रो हो । गोरुको मात्र होइन गाई, भैसी, राँगा, खसीबाख्राको पनि बिमा गरिदिए अझ राम्रो हुन्थ्यो ।’
पहिले निवेदन दिनेबेला गोरु पाल्ने किसानलाई १०/१० हजार रुपैयाँ दिन्छ भनेर गोरुको फोटो खिच्ने, फोटो धुलाउने, नागरिकता फोटाकपी गर्ने निवेदन दिने गरेको हो खै अहिलेसम्म पैसा आएको छैन । गोरुको काममा पहेलो के हो झुड्याइदिएको छ पैसा आउँदैन कि के हो गजुरी गाउँपालिका–१ का गणेशमान तामाङले भने ।
यसअघि खाद्य अधिकार सञ्जाल गजुरीले गोरुपालक किसानलाई प्रोत्साहन गर्न माग गर्दै गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि अध्यक्ष श्रेष्ठले कृषि प्रमुख प्राथमिकता भएकाले गोरुपाल्ने किसानका लागि कार्यक्रम बनाउने प्रतिबद्धता गरेका थिए ।