Logo

‘सडक पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन’

पर्वत– गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताएका छन् ।

दक्षिण पर्वतमा मंगलबार बेउलीवास–पूर्णगाउँ, पैंयुँकोट–लुंखु सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्दै मन्त्री बस्यालले जतिबेलासम्म गाउँगाउँमा पुग्ने सडक सहज बन्दैनन् तबसम्म गाउँमा कुनै पनि विकास गर्न नसकिने बताए । सडकको पहुँच नपुगेकै कारण बसाइँसराइको दर बढ्दै जाँदा गाउँ रित्तिन थालेको बताउँदै मन्त्री बस्यालले नागरिकलाई गाउँमै बस्ने वातावरण बनाउन गुणस्तरीय सडक, शिक्षा, स्वास्थ्यमा जोड दिनुपर्ने बताए ।

मन्त्री बस्यालले अहिले सरकारले सडक सुविधावाट बञ्चित भएका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनीयोजन गरेको दावी गरे । उनले गाउँगाउँमा उत्पादित बस्तुलाई बजार सम्म पुर्‍याउन नसक्दा कृषक र उद्यमी व्यावसायिक बन्न नसकेको बताउँदै गुणस्तरीय सडक निर्माणपछि ग्रमीण क्षेत्रका नागरिक समेत स्वरोजगारमुखि हुने बताए ।

प्रस्तावित पोखरा–सेतीवेणी–रिडी पर्यटकीय राजमार्गसँग जोडिने बेउलीवास–पुर्णगाउँ–पैंयुँकोट–लुंखु सडक स्तरोन्नति र कालोपत्रे भएपछि यस क्षेत्रको पर्यटन विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । मन्त्री भएपछि पहिलोपटक आफ्नो गृह पालिका पुगेका बस्यालले यस क्षेत्रको विकासका लागि आफू निरन्तर खट्ने प्रतिबद्धता जनाए ।

बेउलीवास–पूर्णगाउँ–पैंयुँकोट–लुंखु सडक पाँच करोडको लगानीमा स्तरोन्नति गर्न थालिएको हो । बहुवर्षीय योजनामा समावेश भएको यो सडकका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र संघीय सरकारमार्फत् चालु वर्षका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन भएको छ । १३ किलोमिटर लामो यो सडक खण्ड स्तरोन्नतिको जिम्मा स्वर्गद्वारी महाप्रभु निर्माण सेवाले पाएको छ ।

यो सडक स्तरोन्नतिपछि पैंयुँ गाउँपालिका–३ बेउलीवास, महाशिला गाउँपालिकाका होश्राङदी, बालाकोट, भोक्सिङ र लुंखुका बासिन्दा लाभान्वित हुने भएका छन् । कार्यक्रममा पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले ग्रामीण क्षेत्रमा रहेको यो गाउँपालिकाका अधिकांश सडक कच्ची रहेको भन्दै सबै सडक क्रमश: स्तरोन्नति गर्दै लगिने बताए । उनले पालिकाको बजेटले मात्र सम्भव नभएकाले प्रदेश सरकार र संघीय सरकारमार्फत् बजेट माग गरेर भए पनि सडकलाई बाह्रैमास सञ्चालन हुनेगरी विकास गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्