शुक्लाफाँटामा हात्ती आतंक

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ग्रामीण बस्तीहरुमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिका बस्तीमा पसेर हात्तीले स्थानीयका अन्नबाली नष्ट गर्न थालेका हुन् । केही सातादेखि हात्तीको आवतजावत बाक्लिन थालेको छ ।
हात्ती भगाउन गाउँ गाउँमा स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन् । हात्तीले वडा–५, ७ र ८ का बस्तीमा दैनिक धानबालीमा नोक्सानी गरिरहेको स्थानीयको गुनासो छ । ८/१० वटाको संख्यामा रहेको हात्तीको बथानले धानबाली, केरा र उखु खेतीमा क्षति पुर्याएको स्थानीय दानसिह कुँवरले बताए ।
शुक्लाफाँटाको कालापानी, शान्तिपुर, झण्डाभोज, पारिफाँटा, पिल्लरीफाँटा, सिमलफाँटा, खजुवालगायतका क्षेत्रमा दिनँहु हात्तीको बथान पुग्ने गरेको छ । हात्ती भगाउने कुनै साधन नभएकाले बढी क्षति व्यहोर्नु परेको कुँवरले बताए । त्यसैगरी रातको समयमा २–३ पटकसम्म एउटै ठाउँमा हात्ती आउने गरेको स्थानीयको गुनासो छ ।
शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुरसिंह महराले मानव र जंगली जनावरको द्वन्द्व कम गर्न सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए । ‘जंगली हात्तीको बासस्थान र चरन क्षेत्र मासिँदै जाँदा बस्तीसम्म पुग्ने गरेका छन्’ उनले भने, ‘हात्तीबाट जोगिन सचेतनामूलक कार्यक्रम गर्न आवश्यक छ ।’ वडाध्यक्ष महराका अनुसार इलाका प्रहरी कार्यालय झलारीमा साउनदेखि नै हात्तीले खेतबालीमा क्षति पुर्याएको भन्दै २७ जनाले निवेदनसमेत पेश गरेका छन् । प्रहरीको तथ्याकअनुसार वडा–५ मा १३ परिवारको २० कट्टा, वडा–७ मा १८ परिवारको ६९ कट्टा र वडा–८ मा ६ परिवारको १५ कट्टामा लगाएको धानबालीमा क्षति भएको छ ।
त्यसैगरी हात्ती प्रभावित क्षेत्रका लागि शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले प्रदेश र संघ सरकारसँग माग गरिएको बताए । ‘हात्ती प्रभावित क्षेत्रमा नगरपालिकाकाले पनि बत्ती जडान गरिरहेको छ’ उनले भने, ‘क्षतिपूर्ति निकुञ्ज कार्यालयले दिने प्रावधान छ, ऐलानी जग्गा भएकाको हकमा नगरपालिकाले सक्ने सहयोग गर्दै आएको छ । शुक्लाफाँटामा विगत वर्षमा हात्तीले मानवीय क्षतिसमेत गरेको थियो ।’ यहाँ गत वर्ष मात्रै हात्तीसमेत मरेको थियो ।