Logo

पर्यटन शुल्क खारेजीको माग

पोखरा– ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले गोर्खाको चुमनुब्री गाउँपालिकाले लगाएको पर्यटन शुल्क खारेजीको माग गरेको छ । स्थानीय तहले आफू खुसी पर्यटन शुल्क तोक्नु उपयुक्त नभएको भन्दै टान गण्डकीले पर्यटन शुल्क लिने निर्णय तत्काल खारेज गर्न माग गरेको हो । चुमनुब्री गाउँपालिकाले पालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ ।

स्थानीय तहले आफू खुसी पर्यटन शुल्क तोक्दै जाँदा पर्यटक अन्यत्र जान सक्ने जोखिम रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘पदयात्रा पर्यटन हुने १३ वटा पालिकाहरु छन्’उनले भने,‘यसरी एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिने हो भने यहाँ पर्यटकहरु आउँदैनन्, यहाँ आउने पर्यटकहरु अन्त डाईभर्ट हुने जोखिम हुन्छ ।’ १३ वटा गाउँपालिकाले एक/एक हजार तथा टिम्सबापत ५ हजार रुपैयाँ थप तिरेर पर्यटक नआउने टान गण्डकीले जनाएको छ ।

पर्यटकीय सिजनको मुखमा पर्यटन शुल्क तोक्दा यसले समग्र पर्यटनमा असर पार्ने टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले बताए । यसले मुड बनाएका पर्यटक पनि नआउने उनको भनाइ छ । उनले कोभिडपछि थलिएको पर्यटनलाई उकास्न हातेमालो गर्नु पर्नेमा उल्टै पर्यटन शुल्क तोकेर व्यवसायीलाई निराश पार्ने काम गरेको टिप्पणी गरे ।

केहीअघि कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । यद्यपि टान गण्डकीसहित अन्य संघ संस्थाले त्यसको विरोध जनाएसँगै उक्त निर्णय फिर्ता भएको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोके पनि विरोध भएपछि फिर्ता भएको थियो । तर, फेरि गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो ।

पर्यटनको राजधानी भन्ने अनि पर्यटक आउने वातावरण बनाउनुको सट्टा झन खर्चिलो र बोझिलो बनाउने हो भने त्यसको असर पर्यटनमा पर्ने टान गण्डकीले बताएको छ । उसले उक्त निर्णय तत्काल सच्याउन पनि आग्रह गरेको छ । यसैबीच, टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय खारेजीका लागि पहल गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । टान गण्डकीका अध्यक्ष आचार्यसहितको टोलीले गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा पर्यटन शुल्क खारेज गर्न, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न, प्रवर्द्धनमा जोड दिन आग्रह गरेको अध्यक्ष आचार्यले जनाए । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बस्यालले कोभिडपछि थलिएको पर्यटनलाई उकास्ने समय भएकाले अहिले हतारिएर पर्यटन शुल्क तोक्न नहुने बताए । सम्बन्धित गाउँपालिकामा बुझेर सो शुल्क फिर्ताका लागि पहल गर्ने उनले आवश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्