राजस्व संकलनमा कमी «

राजस्व संकलनमा कमी

विराटनगर- आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ९८ करोड १९ लाख ५६ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ७६ करोड ६४ लाख ४८ हजार रुपैयाँ कम हो । उक्त अवधिका लागि कार्यालयलाई दुई अर्ब ७४ करोड ८४ लाख चार हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । उनले अन्तःशुल्क घटेकै कारणले लक्ष्य अनुसारको राजस्व संकलन नभएको बताए ।
यसैगरी अन्तःशुल्कतर्फ एक अर्ब ४४ करोड १४ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा उक्त अवधिमा ६१ करोड ४८ लाख ७४ हजार रुपवैयाँ मात्र संकलन भएको कार्यालयले जनाएको छ । विकास निर्माणको काम ढिलो गतिले हुनु, जग्गाको कारोबार नहुनु र मादकपदार्थको बिक्रीमा पनि कमी आउनुजस्ता कारणले राजस्व असुली कम भएको प्रमुख सापकोटाको भनाइ छ । उक्त अवधिमा आयकरतर्फ ७५ करोड ८४ लाख २८ हजार, मूल्य अभिवृद्धि करतर्फ ६० करोड ८३ लाख ८८ हजार, अन्तःशुल्कतर्फ ६१ करोड ४८ लाख ७४ हजार, स्वास्थ्यसेवा करतर्फ ५२ हजार तथा शिक्षा करतर्फ दुई लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
लक्ष्यको तुलनामा आयकरतर्फ १०६ दशमलव ४१ प्रतिशत र मूल्यअभिवृद्धि करतर्फ १०३ दशमलव ३९ प्रतिशत बढी राजस्व संकलन भएको तर अन्तःशुल्कतर्फ लक्ष्यको तुलनामा ४२ दशमलव ६६ प्रतिशत मात्र राजस्व संकलन हुनुले समग्र राजस्व संकलनमा कमी आएको प्रमुख सापकोटाले बताए । उनका अनुसार कार्यालयसँग आवद्ध भएका एक लाख ४३ हजार करदातामध्ये व्यापारिक उद्देश्यका करदाता ६१ हजार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्