मुस्ताङकाे कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुने

म्याग्दी– नेपाल र चीनको सीमा नाका कोरलामा दसैं अगावै अध्यागमन कार्यालय (इमिग्रेसन) स्थापना गर्ने तयारी गरिएको छ । नेपाल पक्षको कोरला नाकाको २४ नं. सीमास्तम्भ यता नेपाल सरकार अध्यागमन विभागले छिमेकी देश चीन आउजाउ तथा व्यापारिक कारोबार सञ्चालनका लागि कोरलामा अध्यागमन स्थापना गर्ने तयारी गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले कोरला नाकामा इमिग्रेसन स्थापना गर्न गृह मन्त्रालयलाई पटक पटक पत्रचार गर्दै आइरहेको थियो । ‘हामीले गृह मन्त्रालयलाई कोरलानाकामा इमिग्रेसन राख्नपुर्छ, यसले नेपाल–चीन पक्षलाई ब्यापारिक आर्थिक कारोबार गर्न सहज पुग्छ भनेर लिखित पत्रचार गर्यौं,’ प्रजिअ पन्तले भने, ‘हामीले राखेको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएको छ । दसंै अगावै त्यहाँ इमिग्रेसन कार्यालय बस्छ ।’
मुस्ताङको उत्तरी क्षेत्र कोरलानाकामा इमिग्रेसन कार्यालय स्थापना गर्ने तयारी गरिएको भए पनि कहिले स्थापना हुन्छ भन्नेमा विभागले मिति उल्लेख गरेको छैन । नाकामा इमिग्रेसन कार्यालय स्थापनापछि किनमेलका लागि चीन जाने नेपाली नागरिकको अभिलेख तथा आयात निर्यात गर्ने सामानको अभिलेखीकरण हुने प्रजिअ पन्तले बताए । कोरलानाकामा गत वर्ष गण्डकी प्रदेश सरकारअन्र्तगत पूर्वाधार विकास कार्यालयले कोरला नाकामा ६ कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको थियो । सोही भवनमा इमिग्रेसन, एपीएफ र नेपाल प्रहरीलाई व्यवस्थापन गरिने प्रजिअ पन्तको भनाइ छ ।
नाकामा हाम्रो पूर्ण भौतिक संरचना बनेको छैन । कोरलानाका गत वर्षको पुस २७ गते औपचारिक रूपमा उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई खुल्ला गरिएको थियो । जिल्ल प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकलाई मात्रै सीमापार पास वितरण गर्दै आइरहेकोमा चालु वर्षदेखि मुस्ताङका अन्य पालिकाका नागरिकलाई पनि पास वितरण गर्न सुरु गरेको प्रजिअ पन्तले जानकारी दिए । प्रजिअ पन्तका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको समन्वयमा स्थानीय नागरिकलाई सीमापार पास वितरण सुरु गरिएको हो । वारागुङमा एक सय र घरपझोङमा एक सय गरी दुई सय जनालाई पास वितरण भएको बताए ।
मुस्ताङबासीले कोरलानाकाबाट चिनियाँ बजारबाट खाद्यान्न, लत्ताकपडा, कस्मेटिक, स्थानीय धर्मसंस्कृति अनुसार आवश्यक पर्ने सामान र इलेक्ट्रोनिक उकपरण आदि आर्यात गर्ने गर्छन । नाका व्यवस्थित रूपमा सञ्चालन भएमा चीनबाट भेडाच्यांग्रा आदि आयात हुने जनाइएको छ । नेपाल पक्षले नेपाली बजारमा पाइने मालसामान तथा स्थानीय कृषि तथा घरेलु उत्पादन सामग्री निर्यात गर्ने गरेका छन् । कोरला नाकाको दशगजा यता करिब १६ किमि दूरीमा नेचुङ भन्सार कार्यालय र सुरक्षाकर्मी बस्छन् ।