भ्रमण वर्षमा सघाउँछौँ : राजदुतहरु «

भ्रमण वर्षमा सघाउँछौँ : राजदुतहरु

नेपालस्थित विदेशी नियोगका प्रमुखहरूले नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा सघाउने प्रतिवद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार मन्त्रालयमै आमन्त्रण गरेर सघाउन आग्रह गरेपछि कुटनीतिज्ञहरूले यस्तो बचन दिएका हुन् । मन्त्री भट्टराईले नेपालस्थित विभिन्न ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरूलाई भ्रमण वर्षमा सघाउन आग्रह गरेका हुन् ।
मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्नमा नेपालस्थित राजदूतहरूको महत्वपूर्ण भूमिका भएको र भ्रमण वर्षका बारेमा विश्वभर सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।
“नेपाल भ्रमण वर्ष २०२० को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरूको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु,” मन्त्री भट्टराईले कुटनीतिज्ञहरूसँग भने, “यो वर्षको नयाँ वर्ष २०२० र क्रिसमस नेपालमै मनाउनुहोस्, यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।”
सम्बन्धित देशका पर्यटनमन्त्रीलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटनमन्त्रीलाई उपस्थित गराइदिन पहलकदमीका अनुरोधसमेत गरे । उनले नेपालमा २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै उठिरहेको स्मरण गर्दै भने, “महाभूकम्पको पीडाबाट उठ्न गर्नुभएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछाँै, अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौँ ।”
मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदामध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिँदै दुई वर्षमा भत्किएका सबै सम्पदाको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको जानकारी दिए ।
पर्यटनबाट नेपालको कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशत योगदान रहेको जानकारी दिँदै उनले १५औँ पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए । मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको र अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भिœयाउने लक्ष्य राखिएको जानकारी दिए ।
मन्त्री भट्टराईले सन् २०२० मा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै उनले लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बताए ।
नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियनलगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै मन्त्री भट्टराईले अन्तरराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेको बताए ।
छलफलमा सहभागी राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटकहरूमा चीन दोस्रो स्थानमा र नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन् । उनले भनिन्, “नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि प्रवद्र्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ ।” उनले नेपालका अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ कम्पनीले निर्माण गरिरहेको र चिनियाँ कम्पनीले गुणस्तरीय कामसहित समयमै निर्माण सम्पन्न गर्ने बताइन् ।
नेपालका लागि अमेरिकी राजदूत -याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामग्री उपलब्ध भएमा उक्त सामग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले नेपाल भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्