‘अब नेपालमा राम्रो चलचित्र निर्माण हुने नयाँ माहोल बनेको छ’

काठमाडौं- भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् ।
सोमबार नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन आएका उनले सो चलचित्रले नेपालमा चलचित्रका लागि अब नयाँ माहोल बनेको बताएका हुन् । निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको उनको भनाइ छ । उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे ।
उनले भने, ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरु आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहोल बन्छ । अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरु आउँछन् । जो अहिले पनि छन् । अब उनीहरुले नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ । उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।’ अभिनेता सिद्धिकीले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताए ।