Logo

सहुलियत पसल असोज सातदेखि

काठमाडौ– सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई सहज आपूर्ति गर्न र बजार मूल्य नियन्त्रण गर्न सरकारले हरेक वर्ष यस्ता पसल सञ्चालन गर्दै आएको छ । यसकै निरन्तरतास्वरुप यो वर्ष असोज सात गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको हो ।

यस वर्षको दशैंमा सहुलियत पसल कहाँ र कसरी सञ्चालन गर्ने भनेर योजना तयार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई निर्देशन दिएको छ ।

चाडपर्वको समयमा खाद्य कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलियत पसल सञ्चालन हुँदै आएको छ । सहुलियत पसलमा सबैखाले चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ । यस्ता पसल दशैं, तिहार र छठ पर्वसम्म सञ्चालन हुनेछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि सरकारले कम्पनीलाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चामल, दाल, तेल, कर्णालीको गेडागुडी, खसीबोका र च्यांग्रामा छुट दिन कम्पनीलाई शोधभर्नाका लागि यो बजेट विनियोजन गरिएको हो । यसैगरी दशंैमा खसीबोका र च्यांग्रा खरिदका लागि कम्पनीले करिब ४ करोड बजेट छुट्याएको छ । कम्पनीले यस वर्षको दशैंमा १ हजार ८ सय वटा खसीबोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको छ । यसमा १ हजार ५ सय खसीबोका र ३ सय च्यांग्रा हुनेछन् ।

मन्त्रालयको निर्देशनअनुसार असोज सात गतेदेखि सहुलियत पसल सञ्चालन गर्न करिबकरिब तयारी पूरा गरेको जानकारी न्यौपानेले दिइन् । उनका अनुसार कम्पनीले यो दशैंमा देशभर करिब ६० ठाउँमा सहुलियत पसल सञ्चालन गर्नेछ । काठमाडौं उपत्यकाका चार स्थानमा यस्ता पसल हुनेछन् । यसैगरी कम्पनीले अनलाइनमार्फत पनि उपभोक्ताको मागअनुसार खाद्य सामग्री घरघरमा पुर्‍याउनेछ । यसका लागि ५ हजार रुपैयाँसम्मको सामान अर्डर गर्नु पर्नेछ ।

सहुलियत पसलमा सबै खाद्यान्नमा छुट दिइनेछ, तर कुनमा कति दिने तय भइसकेको छैन । मन्त्रालयको निर्देशनअनुसार खाद्यान्नमा छुट दिइने कम्पनीले जनाएको छ । विगतका वर्ष बजार मूल्यको तुलनामा चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तेल र चिउरामा प्रतिकिलो पाँच रुपैयाँ, कर्णालीको सिमी, गेडागुडी, दाल, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ तथा जिउँदो खसीबोका र च्यांग्रामा १० रुपैयाँ प्रतिकिलो छुट दिइएको थियो । यो वर्ष पनि सोही छुट मूल्यलाई निरन्तरता दिने तयारी भएको न्यौपानेले बताइन् ।

कर्णालीका रैथाने बालीहरू, खानेतेल र घिउमा ७ रुपैयाँ छुट हुनेछ । खसीबोका र च्यांग्राको बिक्री मूल्य भने खरिदपछि मात्रै निर्धारण हुने कम्पनीले जनाएको छ । यसैगरी साल्ट ट्रेडिङले नुन, चिनीलगायत खाद्यवस्तु छुटमा बिक्री गर्दै आएको छ । दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिने गरेको छ ।

गत वर्ष खाद्य व्यापार कम्पनीले फापर, भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको थियो । यसैगरी पिठो, चिउरा, तोरीको तेल, सनफ्लावरको तेल र दालमा ५ रुपैयाँ छुट दिइएको थियो । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा २० रुपैयाँ छुट दिएको थियो । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिने गरेको थियो

प्रतिक्रिया दिनुहोस्