नेपालगन्जको राजस्व संकलन वृद्धि «

नेपालगन्जको राजस्व संकलन वृद्धि

स्थानीय तहको निर्वाचनपछि नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आम्दानी वृद्धि गरेको छ । चालू आर्थिक वर्षको ७ महिनामा उपमहानगरपालिकाले गत आर्थिक वर्षभन्दा ७४ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म ५ करोड ७१ लाख ९५ हजार ६ सय ९६ रुपैयाँ राजस्व संकलन गरेको उपमहानगरपालिकाले जनाएको छ । गत वर्ष यही अवधिमा ४ करोड ९८ लाख ३० हजार २ सय १६ रुपैयाँ संकलन गरेको थियो । यस अवधीमा गत वर्षभन्दा ७३ लाख ७५ हजार ४ सय ८० रुपैयाँ बढी राजश्व संकलन गरिएको छ ।
उपमहानगरपालिकाको राजस्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट १ करोड २८ लाख ४७ हजार ३ सय ३ रुपैयाँ संकलन गरिएको छ । जवकी गत वर्ष यस अवधीमा १ करोड ४७ लाख ५२ हजार ६ सय २५ रुपैया राजस्व संकलन भएको थियो । गत वर्ष बनिसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधीमा बढी राजस्व उठेको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माले बताए । नगरका साविकका १८ देखि २८ वडासम्मका घर नक्सा प्रमाणितमा छुट दिइएको समेत इन्जिनियर शर्माले जानकारी दिए । पुराना घरको नक्सा प्रमाणितपछि नयाँ घर/भवन नक्सापास गर्नेहरु अझै घट्दै जाने उनले जानकारी दिए ।
यसैबीच उपमहानगरपालिकाले सहरी योजना तथा भवन निर्माण मापदण्ड ०७४ मस्यौदा अन्तिम चरणमा पुराएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । आन्तरिक आम्दानी वृद्धि गर्दै जाने लक्ष्यका साथ काम सुरु गरिएकै कारण चालू आर्थिक वर्षमा राजस्व संकलन बढेको र अझै झनै वृद्धि हुँदै जाने उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले बताए । गत वर्ष १२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको उपमहानगरपालिकाले चालू आवमा १६ करोड संकलन गर्ने लक्ष्य राखेको राजस्व शाखा प्रमुख भूपति खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्