Logo

सुनसान बने पर्वतका होमस्टे

पर्वत– वर्षायाम सँगै ग्रामीण सडक अवरुद्ध हुँदा पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे सुनसान बनेका छन् । पर्वतमा पाँच दर्जन भन्दा बढी होमस्टे सञ्चालनमा छन् । वर्षायामका कारण सुनसान जस्तै बनेका होमस्टे मनसुन सकिन थालेसँगै पर्यटकको पर्खाइमा रहेका छन् ।

वर्षायाम सुरु भएसँगै गत असारदेखि नै पर्यटकको आगमन कमी भएपछि सुनसान बनेका होमस्टे संचालक खेतबारीको काम सकेर पाहुना कुरेर बसेका छन् । जिल्लाका सातवटै पालिकामा ६२ वटा होमस्टे सञ्चालनमा छन् । कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा ६, महाशिला गाउँपालिकामा ९, पैंयुमा तीन र विहादीमा सात वटा होमस्टे सञ्चालनमा छन् ।

यी सामुदायिक होमस्टे हुन् भने दुईवटा निजी होमस्टेसमेत सञ्चालनमा रहेका छन् । जिल्लाको कुश्मा नगरपालिका–३ मादुर्लुङ्ग, वडा–१४ आर्थर, फलेवास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंखु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे तथा पैंयु गाउँपालिकाको नेकर्गा र चिन्नेखर्कलगायतका स्थानमा सञ्चालित होमस्टे वर्षायामका कारण सुनसान रहेको सञ्चालकहरुले बताएका छन् ।

कोभिड–१९ पछि ठप्प जस्तै बनेका अधिकांस होमस्टेमा गत वर्षदेखि पर्यटकको चहलपहल बढेको थियो । गत वर्ष कोभिड भन्दा अगाडिकै अवस्थामा पर्यटकहरु आएका थिए । गण्डकी प्रदेशकै अग्रणी होमस्टे सञ्चालन गर्दै आएको पर्वतको मोदी गाउँपालिका–८ चित्रेस्थित पञ्चकोशी सामुदायिक होमस्टेमा मात्र गत वर्षमा चार हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए ।

धेरैको रोजाइमा पर्दै आएको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’ मा नेपालका विभिन्न जिल्लाबाट पाहुना आउने क्रम अब सुरु हुने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ ।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगम स्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकको संख्या धेरै छ । यस्तै मोदी गाउँपालिका–१ भुकताङ्लेमा रहेको लप्सीबोट सामुदायिक र भुक देउराली नमुना सामुदायिक होमस्टे पनि सुनसान रहेका छन् । गाउँ जोड्ने पातीचौर–देउपुर–लप्सीबोट सडक एक महिनादेखि अवरुद्ध हुँदा पर्यटक आउन नसकेको वडा अध्यक्ष टेकबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्