व्यवसायजन्य सुरक्षा र स्वास्थ्य चेतनाका लागि पदयात्रा
काठमाडौं– नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्त रुपमा जनचेतानामूलक र्यालीको आयोजना गरेका छन् । आइतबार ललितपुरको पाछटनढाकाबाट सुरु भएको र्यालीको मुख्य उद्देश्य उद्योगी व्यवसायीहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्नु रहेको बताइएको छ ।
सो पदयात्रा ललितपुर महानगरपालिकाका विभिन्न टोल हुँदै साढे चार किलोमिटर यात्रा गरी पुल्चोक पुगेर समापन भएको थियो । उद्योग व्यवसायमा संचालनको क्रममा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना नगर्दा वर्षेनी ठूलो संख्यामा मानवीय क्षति हुने गरेको छ ।
यस सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम संगठनले मापदण्ड तयार गर्नुका साथै उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न संघ संस्था र ट्रेड युनियन अभियानसँग जोडिएका संघ संस्थाको सहयोगमा सचेतना फैलाउनुका साथै सचेतनाको क्रममा तालिम र गोष्ठी पनि आयोजना गर्दै आएको छ ।
यही क्रममा नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच सन् २०१९ मा समझदारी भई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी कार्यहरु अघि बढि रहेका छन् । कार्यक्रम अघि बढाउने क्रममा झण्डै १५०० जनालाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको छ भने तालिम दिन अन्तर्राष्ट्रियस्तरका प्रशिक्षक पनि तयार गरिएको छ ।