Logo

काममा फर्किए रघुगंगा जलविद्युतका कर्मचारी

पर्वत– म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा मजदुरले गरेको हडताल फिर्ता भएको छ । समयमै तलबको माग गर्दै शुक्रबारदेखि मजदुरहरूले काम रोकेर हडताल गरेका थिए । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसिएट्सले समयमै तलब नदिएको भन्दै मजदुरहरूले शुक्रबार आयोजनाको काम रोकेर आन्दोलन गरेका हुन् ।

मजदुरहरूलाई समयमै पारिश्रमिक दिने सहमति भएपछि हडताल फिर्ता लिएर काम सुचारु गरिएको छ । शुक्रबार साँझ मजदुर र निर्माण कम्पनीका प्रतिनिधिबीच भएको छलफलमा समयमै पारिश्रमिक दिने प्रतिबद्धता भएपछि मजदुरहरूले दिनभर रोकेको काम सुचारु गरेका थिए ।

आयोजनाको सिभिल ठेकेदार कम्पनी जेपी एसोसिएट्सका प्रशासन विभागका वरिष्ठ व्यवस्थापक राम सिंहले विगतमा हरेक महिनाको तबल अर्काे महिनाको १५ तारिकमा दिने गरिएकोमा यस पटक एक महिनाको तलब भुक्तानी गर्न ढिलाइ भएको बताए । शुक्रबार जुलाई महिनाको तलब भुक्तानी गरिएको र अगष्ट महिनाको आगामी २० तारिकभित्र पारिश्रमिक भुक्तानी गर्ने सहमति भएपछि मजदुरहरूले आंशिक रूपमा रोकेको काम पूर्णरूपमा सूचारु गरेको उनको भनाइ छ ।

‘मजदुरहरूले तीन महिनाको तलब नपाएको भनेको सुनें, एक महिनाको तलब दिन मात्रै ढिलाइ भएको हो, त्यो समस्या समाधान भइसकेको छ, मजदुरहरू पनि सबै काममा फर्किएका छन्, हामीले मजदुरलाई समयमै पारिश्रमिक दिने प्रबन्ध गर्दै आएका छौं,’ सिंहले भने । जेपी एसोसिएट्सले यस आयोजनमा नेपाली र भारतीय गरी करिब साढे सात सय मजदुर परिचालन गरेको जनाएको छ ।

आगामी एक वर्षभित्र आयोजनाको निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कम्पनीले स्रोत, साधन र जनशक्ति परिचालन गरेको जनाएको छ । राहुघाट जलविद्युतको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको छ भने इलेक्ट्रिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले ठेक्का लिएको छ । यस आयोजनाको ६ हजार २७० मिटर लामो मुख्य सुरुङ गत साउनमा छिचोलिएको थियो ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्ससँग २०७४ मंसिरमा सम्झौता भएको थियो । अहिले सुरुङलाई कंक्रिट गर्नुका साथै बाँध र विद्युतगृहको पूर्वाधार निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्