Logo

जाजरकोट भूकम्प पीडित पहिलो किस्ता पाउनबाट वञ्चित

अस्थायी आवास निर्माण भएकाले पनि पाएनन् दोस्रो किस्ता

वीरेन्द्रनगर– गत कात्तिक २१ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट पीडित भएका स्थानीयबासीलाई दोस्रो किस्ता वापतको रकम भुक्तानी गर्न ढिलाइ हुँदा समस्या भएको छ । जाजरकोटका दुई पालिकाले मात्र रकम दिन सुरु गरे पनि अन्य पालिकामा दोस्रो किस्ताको रकम दिन सुरु नै भएको छैन । पहिलो किस्तावापत २५ हजार र दोस्रो किस्तावापत २५ हजार रकम दिने सरकारको लक्ष्य छ ।

जाजरकोटका सात स्थानीय तहमध्ये बारेकोटले भूकम्प पीडितको रकम बारेकोट र नलगाडले दिन सुरु गरेका छन् । बारेकोट गाउँपालिकाले पाँच हजार ५८६ मध्ये वडा नम्बर १ मा ३५१ घरधुरीलाई मात्र दोस्रो किस्ताको रकम दिइएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले जानकारी दिए । पहिलो किस्तावापत पाँच हजार ३७२ परिवारले सम्झौता गरेकोमा पाँच हजार ११२ परिवारले मात्र पहिलो किस्ता पाएको अध्यक्ष गिरिले जानकारी दिए ।

अन्य रकम अपुग भएकाले दिन नसकिएको उनले जानकारी दिए । दोस्रो किस्ताको रकम उपलब्ध गराई दिनहुन अनुरोध गरेर स्थानीय विपद् व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालयमा विवरण पठाएको भए पनि रकम पठाउन ढिलाइ भएको अध्यक्ष गिरिले बताए । रकम नहुँदा दोस्रो किस्ताको रकम दिने काम रोखिएको छ, आउने बित्तिकै दिइने उनको भनाइ छ । त्यस्तै नलगाड नगरपालिकामा पनि दोस्रो किस्तामा रूपमा रकम दिन सुरु गरे पनि अहिले रोकिएको छ ।

कार्यालय प्रमुख फेरिएको र नयाँ आएका कार्यालय प्रमुखको नाममा खाता सञ्चालन नभएका कारण दोस्रो किस्ताको रकम दिन नसकिएको लेखा शाखाका प्रमुख यामलाल ढकालले जानकारी दिए । नलगाड नगरपालिका–७ मा रहेका ६८० घरधुरीलाई मात्र दोस्रो किस्ताको रकम दिइएको उनले जानकारी दिए । नौ हजार ८७९ घर भूकम्पपीडित छन् । पहिलो किस्ताकोवापत आठ हजार ९७ परिवारले सम्झौता गरे पनि आठ हजारले मात्र पहिलो किस्ताको रकम पाएको तथ्यांकमा देखिन्छ ।

त्यस्तै भेरी नगरपालिकामा दोस्रो किस्ताको रकम कसैलाई पनि उपलब्ध गराएको छैन । लेखा शाखा प्रमुख राजेन्द्रबहादुर कठायतका अनुसार हालसम्म दोस्रो किस्ताको रकम भूकम्प पीडितलाई दिन नसकेको हो । नौ हजार ८०९ घर परिवार यहाँ भूकम्प पीडित छन् । पहिलो किस्ताको चार हजार ८९२ घर परिवारले सम्झौता गरे पनि हालसम्म चार हजार ८९२ ले मात्र पहिलो किस्ता पाएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।

कुशे गाउँपालिकामा पाँच हजार ५७८ भूकम्प पीडित छन् । पाँच हजार ३७४ ले पहिलो किस्ताका लागि सम्झौता गरेर रकम पाएका छन् । दोस्रो किस्ताको रकम वडा नम्वर ७ बाट वितरण सुरु भएको छ, कति वितरण भयो एकिन विवरण आफूसँग नभएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

जुनिचाँदे गाउँपालिकामा पाँच हजार ४०६ भूकम्प पीडितमध्ये हालसम्म सबैैले पहिलो किस्ताको रकम नपाएको र दोस्रो किस्ताको रकमसमेत वितरणको काम सुरु हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीले बताए । पाँच हजार २६३ जनाले पहिलो किस्ता पाएको अभिलेखमा उल्लेख छ ।

शिवालय गाउँपालिकामा तीन हजार २६० भूकम्प पीडितमध्ये तीन हजार २६० ले पहिलो किस्ता पाएको प्रमुख प्रशासकीय अधिकृत रामु ज्ञवालीले बताए । दोस्रो किस्ताको रकम माग गरी पठाएको भए पनि हालसम्म उपलब्ध हुन नसकेको उनको भनाइ छ । माग गरेको रकम आएमा दोस्रो किस्ताको रकमसमेत भुक्तानी हुने उनको भनाइ छ ।

छेडागाड नगरपालिकामा आठ हजार ९९८ परिवार भूकम्प पीडित रहेकोमा हालसम्म पहिलो किस्ताको रकम आठ हजार २०५ परिवारले रकम पाएका छन् । दोस्रो किस्ताको रकम भने भने अझै वितरण सुरु गरिएको छैन । अहिले भएको संख्याभन्दा केही संख्या बढ्न सक्ने पालिकाका प्रमुखहरूले बताएका छन् । इन्ट्री गर्न बाँकी भएकाले बढ्न सक्ने सम्भावना छ ।

हालसम्म ४८ हजार ५१६ घरधुरी भूकम्प पीडित जाजरकोटमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए । ४० हजार ४६३ परिवारले सम्झौता गरेकोमा ४० हजार ४१ ले मात्र पहिलो किस्ता बुझेको उनले जानकारी दिए । त्यस्तै रुकुम पश्चिममा भूकम्पबाट क्षति भएकामध्ये ३२ हजार ९९६ परिवारलाई लाभग्राही कायम गरिएको छ ।

चौरजहारी नगरपालिकामा सात हजार ५०२, आठबीसकोटमा १० हजार ३५४, मुसीकोटमा १६ सय ६०, सानीभेरीमा ६ हजार ७४, त्रिवेणीमा ४ हजार २५, बाँफिकोटमा २६ सय ४१ लाभग्राही रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । ३२ हजार २०२ परिवारले अस्थायी आवास निर्माण गरेको र बाँकी ५२३ निर्माण कार्य जारी रहेको उनले जानकारी दिए । विभिन्न संघसंस्थाबाट ४०९ अस्थायी आवास निर्माण भएको उनको भनाइ छ ।

निर्माण कार्य पूरा भएको ठाउँमा दोस्रो किस्ताको रकम दिन सुरु भएको उनको भनाइ छ । आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीले आफ्नो पालिकामा दोस्रो किस्ताको रकम दिन सुरु गरेको बताए । आठबीसकोटमा तीन हजार १३, चौरजहारीमा २९ सय ५४, सानीभेरीमा पाँच हजार ६४५, बाँफिकोटमा चार हजार ३८८ परिवारले दोस्रो किस्ताको रकम पाएका छन् ।

सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले दिएको जानकारी अनुसार त्रिवेणी गाउँपालिकामा १६ जना लाभग्राही रहेका छन् । पहिलो किस्ताको रकम सबैले पाएको अवस्था रहेको उनले जानकारी दिए । त्यस्तै कुमाखमा १६७ परिवार लाभग्राही रहेकोमा सबैले किस्ताको रकम उपलब्ध गराएको छ । बागचौर नगरपालिकामा १५४ परिवार भूकम्प पीडित भएकोमा पहिलो किस्ता रकम पाएको प्रजिअ रेग्मको भनाइ छ ।

दार्मा गाउँपालिकामा चार हजार ८० मा सबैले पहिलो किस्ता बुझिसकेको भए पनि दोस्रो किस्ता भने नपाएको अवस्था छ । सल्यानमा चार हजार ४०१ लाभग्राही रहेका छन् । आफूहरूले अस्थायी आवास निर्माण गरे पनि हालसम्म दोस्रो किस्ता नै नदिएपछि समस्या परेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले जानकारी दिए । पालिकाले वडामार्फत् विवरण संकलन गर्न ढिला गरेको र पटकपटक संशोधन हुने कार्यविधिले समेत समस्या बनाएको पालिकाका प्रमुखहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्