निर्वाचन क्षेत्र पूर्वाधार विकासको अधिकांश बजेट सडक र भवनमा «

निर्वाचन क्षेत्र पूर्वाधार विकासको अधिकांश बजेट सडक र भवनमा

लमजुङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत अधिकाँश बजेट सडक र भवनका लागि विनियोेजन भएको छ । लमजुङबाट प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र क अन्तर्गतको बजेट विनियोजन भएको हो ।
प्रदेश सभा सदस्य धनञ्जय दवाडीको अध्यक्षतामा प्रदेश सभाका सांसदहरू मायानाथ अधिकारी मधु अधिकारी र सदस्य सचिव प्रकाश लम्सालसहितको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको दुई करोड रुपैयाँ विनियोजन गरेको हो । विनियोजन भएको बजेटमा अधिकांश सडक र सामुदायिक भवन निर्माणका लागि छन् । विनियोजित दुई करोड रुपैयाँमध्ये सडकका लागि ८० लाख, सामुदायिक भवनका लागि ७१ लाख, शैक्षिक क्षेत्रमा २५ लाख, खेल मैदानका लागि १४ लाख र पर्यटनसँग सम्बन्धित स्वागतद्वार निर्माणार्थ ६ लाख रुपैयाँ विनियोजन भएको छ ।
सडकका लागि विनियोजित बजेटमध्ये अधिकाँश सडक स्तरोन्नति गर्ने भनिएको छ । यस्तै भवनका लागि विनियोजित बजेटमा अधिकांश भवन आमा समूह तथा सामुदायिक भवन निर्माण गर्ने उल्लेख गरिएको छ । शिक्षातर्फ विद्यालयहरूमा ई–पुस्तकालय सञ्चालनार्थ कम्प्युटर खरिद गर्ने शीर्षकमा २५ लाख रुपैयाँ विनियोजन भएको छ । खेल क्षेत्रमा दुईवटा खेल मैदानको स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।
पूर्वाधार विकासका लागि विनियोजित बजेटमध्ये ४० प्रतिशत बजेट सडक स्तरोन्नतिका लागि छुट्याइएको पाइएको छ । यस्तै सामुदायिक भवन निर्माणका लागि भने ३५.५ प्रतिशत बजेट विनियोजन भएको छ । कुल बजेटको २.५ प्रतिशत अर्थात पाँच लाख रुपैयाँ प्रशासनिक खर्चका लागि राखिएको छ । क्षेत्र क अन्र्तगत पर्ने पाँच स्थानीय तहका लागि बजेट विनियोजन भएको छ । निर्वाचन क्षेत्र क अन्तर्गत सबैभन्दा धेरै बजेट मस्र्याङ्दी र दूधपोखरी गाउँपालिकामा परेको छ । दुवै स्थानीय तहका लागि ४४-४४ लाख बजेट विनियोजन भएको छ ।
मस्र्याङ्दी गाउँपालिका अन्तर्गत चारवटा योजना छनोट भएका छन् भने दूधपोखरी गाउँपालिकामा आठ योजनाका लागि ४४ लाख बजेट विनियोजन भएको छ । राइनास नगरपालिकाका चार योजनाका लागि २७ लाख विनियोजन भएको छ । त्यसैगरी दोर्दी गाउँपालिका अन्तर्गत चार योजनाका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । निर्वाचन क्षेत्र क अन्र्तगत बेंसीसहर नगरपालिकामा पर्ने दुईवटा वडाका लागि पनि बजेट विनियोजन भएको छ । बेंसीसहर–१० र ११ का लागि सडक तथा सामुदायिक भवन निर्माणमा ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
गण्डकी प्रदेश सरकारले विकास निर्माणमा सांसदहरूको प्रत्यक्ष सहभागिता रहने गरी खर्च गर्ने किसिमले प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोडका दरले रकम वितरण गरेको हो । सो रकमको योजना छनोटको निम्ती निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित साँसद संयोजक र सोही निर्वाचन क्षेत्रका समानुपातिक सांसदहरू सदस्य रहने प्रावधान छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्