Logo

बढ्न थाल्यो द्वन्द्वग्रस्त युक्रेनसँग व्यापार

काठमाडौं– झन्डै तीन वर्षअघि रुस र युक्रेनबीच युद्ध सुरु भएसँगै प्रभावित बनेको नेपाल–युक्रेन व्यापार अहिले भने लयमा फर्कन थालेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा युक्रेनबाट २ अर्ब ३० करोडको वस्तु आयात भएको छ । यो तथ्यांक गत आवको सोही अवधिको भन्दा ४०.४२ प्रतिशतले बढी हो । गत आवको साउनमा २.४ प्रतिशतले बढेको युक्रेनसँगको आयात व्यापार चालु आवको सुरुको महिनामै ह्वात्तै बढेको हो ।

आव २०७९–८० र २०८०–८१ मा युक्रेनसँग नेपालको व्यापार स्थिर थियो । गत आवमा युक्रेनबाट १८ अर्ब ८९ करोडको वस्तु आयात भएको थियो भने अघिल्लो आवमा १८ अर्ब ४३ करोडको वस्तु आयात भएको तथ्यांक छ । यससँगै गत आवसम्म नेपालले बढी वस्तु आयात गर्ने मुलुकको सूचीमा पाँचौं स्थानमा रहेको युक्रेन चालु आवको पहिलो महिनामै चौथो स्थानमा उक्लिएको छ । केन्द्रका अनुसार नेपालले भारत, चीन र कतारपछि सबैभन्दा बढी वस्तु युक्रेनबाटै आयात गर्छ ।

भन्सार विभागका अनुसार युक्रेनबाट नेपालले भटमास र सनफ्लावरको कच्चा तेलसहित स्मार्टफोन, धनियाँ, गहुँलगायत वस्तु खरिद गर्ने गरेको छ । नेपालबाट भने गत महिना छुर्पी अर्थात् डगच्यू भनिने कुकुर र बिरालोको आहारमात्रै युक्रेन निर्यात भएको छ । जम्मा ३५ लाख १२ हजार रुपैयाँबराबरको डगच्यू युक्रेन निर्यात भएको विभागको तथ्यांक छ । यसरी युक्रेनसँग नेपालले एकै महिना २ अर्ब ३० करोडको व्यापार घाटा व्यहोरेको छ ।

रसिया र युक्रेनबीच युद्ध सुरु हुनुअघि आव २०७८–७९ मा नेपालमा युक्रेनबाट वार्षिक २१ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक छ । सो आवमा पनि युक्रेनतर्फको निर्यात भने १९ लाख २९ हजारमा सीमित थियो । २०७७–७८ मा नेपालमा युक्रेनबाट १७ अर्ब १७ करोडको आयात र २२ लाख ८७ हजारको निर्यात भएको थियो । यसअघि युक्रेनबाट नेपालमा सुकेको मटर, चकलेट, कोका पाउडर, लुब्रिकेन्ट आयल, पशुलाई लगाउने भ्याक्सिन, दाँतमा भर्ने सिमेन्ट, रासायनिक मल, बेकरी र प्रिन्टिङ सम्बन्धी मेसिन तथा अन्य तयारी खाद्यान्न आयात हुने गरेको थियो ।

नेपालले युक्रेनमा अहिलेसम्म डगच्यू मात्र निर्यात गर्न सकेको र अन्य निर्यातयोग्य वस्तुहरुको पहिचान गर्दै निर्यात बढाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल बताउँछन् । नेपालले धेरै वस्तु आयात गर्ने मुलुकमा निर्यात गर्न पनि सजिलो हुने उल्लेख गर्दै उनले व्यावसायिक सम्बन्ध द्विपक्षीय हुनुपर्ने र त्यसका लागि युक्रेनमा नेपाली वस्तुको बजारीकरण जरुरी रहेकोमा जोड दिए । ‘युक्रेनमा तत्काल भिजिट गरेर नेपाली वस्तुको प्रवद्र्धन गर्न नसकिए पनि डिजिटल माध्यमबाट प्रवद्र्धन गर्ने वा नेपालमा निर्यात गर्र्दै आएका युक्रेनी व्यवसायीसँगको सम्पर्कका माध्यमले नेपाली वस्तुको बजार खोजी गर्नुपर्छ,’ उनले भने, ‘युक्रेनसहित छिमेकी मुलुकमा हामीले छुर्पीजस्तै हाइ भ्यालु प्रडक्टको निकासी गर्न सक्छौं ।’

रसिया र युक्रेनबीच युद्ध अझै जारी रहे पनि विश्वव्यापी अर्थतन्त्रमा यसका असरहरु क्रमशः कम हुँदै गएका छन् । जसका कारण नेपालमा पनि युक्रेनबाट आयात बढ्दै गएको र आयातकर्ता मुलुकको सूचीमा फेरि युक्रेन चौथो स्थानमा उक्लिएको यस क्षेत्रका जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक निर्देशक राजेन्द्र सिंहले युक्रेनबाट आयात भएका सामग्री अधिकांश खपतकै लागि भएको र कच्चा पदार्थको रुपमा निकै कम आएको बताए । कच्चा पदार्थ आयात गरेर अन्तिम सामग्री निर्यात गर्ने लक्ष्य राखिए पनि सबैजसो सामान आन्तरिक खपतकै लागि आयात भएको छ । व्यापारका लागि युक्रेन पनि सम्भावना भएको देश हो तर पछिल्लो समय युद्धका कारण प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्