Logo

मनास्लु घुम्ने सबैले गाउँपालिकालाई कर तिर्नुपर्ने

गोरखा– मनास्लु संरक्षण क्षेत्र घुम्ने पर्यटकले गोरखाको चुमनुब्री गाउँपालिकालाई पदयात्रा शुल्क तिर्नुपर्ने भएको छ ।

आन्तरिक आम्दानी बढाउन भन्दै गाउँपालिकाले संरक्षण क्षेत्र भ्रमण गर्ने आन्तरिक र विदेशी दुवै पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । पालिकाको आर्थिक ऐन २०८१ अनुसार विदेशीसँग प्रतिव्यक्ति १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । भ्रमण टोलीसँग जाने भरियाले भने पदयात्रा शुल्क बुझाउनु पर्नेछैन ।

मनास्लु क्षेत्रमा जाने पर्यटकसँग राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएका छन् । तर, यो क्षेत्र रहेको चुमनुब्री गाउँपालिकाले पर्यटकले बुझाएको शुल्क प्राप्त गर्दैन । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए । ‘पालिकाको आन्तरिक आम्दानी वार्षिक करिब १५ लाख रुपैयाँमात्र छ । प्रकृति संरक्षण कोषले उठाएको शुल्क पनि बाँडफाँट नगर्ने भएकाले सरोकारवाला सबैसँगको छलफलपछि पालिकाको आर्थिक ऐनअनुसार आन्तरिक आम्दानी बढाउन पदयात्रा शुल्क लिने निर्णय गरेका हौं,’ उनले भने । केही दिनमै जगतमा कार्यालय स्थापना गरी कर्मचारी व्यवस्थापन गरेर पर्यटकसँग पदयात्रा शुल्क लिन थाल्ने उनले बताए । यो निर्णयसँगै वार्षिक करिब १ करोड आन्तरिक आम्दानी हुने पालिकाको अनुमान छ ।

गत आर्थिक वर्ष मनास्लुमा ९ हजार ५ सय ७७ विदेशी पर्यटक पुगेका थिए । यो तथ्यांकमा नेपाली पर्यटकको संख्या जोडिएको छैन । मनास्लु क्षेत्र घुम्ने नेपाली पर्यटकको आधिकारिक तथ्यांक कुनै पनि निकायले राख्ने गरेको छैन । चुमनुब्रीको यो निर्णयसँगै मनास्लु घुम्ने नेपाली पर्यटकले समेत पदयात्रा शुल्क बुझाउनुपर्ने भएकाले तथ्यांक पनि रहने भएको छ । यसबाट पर्यटकको उद्धारमा पनि सजिलो हुने गाउँपालिकाको तर्क छ । उठाएको पदयात्रा शुल्क समग्र पालिकासँगै मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवद्र्धनमा लगानी गर्ने चुमनुब्री गाउँपालिकाको योजना छ ।

मनास्लु संरक्षण क्षेत्रले चुमनुब्री गाउँपालिकाको ७ वटा वडा सिर्दीबास, ल्हो, प्रोक, विही, सामागाउँ, चुम्चेत र छेकम्पारलाई समेटेको छ । यीमध्ये सामागाउँ, ल्हो, प्रोक र विहीलाई नुब्री उपत्यकाका रुपमा चिनिन्छ भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रुपमा चिनिन्छन् । यी क्षेत्रमा बसोबास गर्ने भोटे समुदायको धार्मिक तथा सास्ंकृतिक अवस्था अध्ययन गर्न, प्राकृतिक दृश्यावलोकन गर्न तथा मनास्लु हिमाल आरोहणका लागि पर्यटक आउने गरेका छन् । ५ हजार २ सय मिटरको लार्केपास पार गर्न पनि मनास्लु क्षेत्र पुग्नुपर्छ । लोप हुन लागेका वन्यजन्तु तथा प्राकृतिक सुन्दरता यो क्षेत्रका विशेषता हुन् । यहाँ धुवाँ, धुलो, प्रदूषण पनि छैन । तिब्बतको सीमानामा पर्ने भएकाले तिब्बती संस्कृति पनि यहाँ बुझ्न सकिन्छ । खासगरी मनास्लु क्षेत्रमा बढी पर्यटक पदयात्राका लागि आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्