वैदेशिक रोजगारीमा सुविधासँगै ठगी बढ्यो

काठमाडौं– वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै यसको नाम हुने ठगी बढेको पाईएको छ । सरकारले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न अनुसन्धान र कारबाहीलाई पूर्ण कडाइ गर्न नसक्दा ठगीको उजुरी बढेको हो । वैदेशिक रोजगारीका नाममा उजुरी बढेपछि संघीय संसदमा समेत यस सम्बन्धमा आवाज उठ्न थालेको छ ।
भदौ ८ मा संघीय संसदको तेस्रो अधिवेशनमा यस सम्बन्धी प्रश्न समेत दर्ता भएको थियो । सांसद प्रेम सुवालले वैदेशिक रोजगारका क्रममा महिलामाथि हुने शोषण र ठगीका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई प्रश्न गरेका थिए । वैदेशिक रोजगारीको विकृतिलाई लिएर संसदमा पटक पटक आवाज उठ्ने गरेको छ । यस सम्बन्धमा मन्त्रालयले ठगी बढेसँगै कारबाही र अनुसन्धान बढेको जनाएको छ ।
संसदमा उठेको प्रश्नको प्रतिकार गदै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीको नाममा मेनपावर कम्पनीहरूबाट ठगी बढिरहेको भन्ने उजुरीहरूका आधारमा मन्त्रालय मातहतका निकायहरूबाट मेनपावर कम्पनीहरूको अनुगमन भइरहेको जवाफ दिएका छन् । मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा व्यक्तिगत र संस्थागत गरी ४ हजार ८५७ वटा उजुरी परेको जनाएको छ । जसमध्ये २ हजार ४१४ वटा उजुरी फस्र्यौट भएको उल्लेख छ ।
तथापि ठगीका उजुरीहरू निरन्तर रूपमा बढिरहेको श्रममन्त्रीले नै स्वीकार गरेका छन् । देशभरका सम्बन्धित कार्यालयहरूमा परेको वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरीहरू अध्ययन गर्दा प्रमाण पुग्ने उजुरीहरू कमै मात्र परेको देखिएको मन्त्रालयको भनाइ छ । यद्यपि विभाग र यसअन्तर्गतका निकायहरूबाट ती उजुरीहरू उपर अनुसन्धानअघि बढाई कारबाही भइरहेका जनाएको छ ।
खासगरी वैदेशिक रोजगारी सम्बन्धी ठगीबाट बच्नका लागि मन्त्रालयले विभिन्न जानकारीमूलक एवं सचेतनामूलक सूचनाहरू जारी गर्नुका साथै श्रमाधान कल सेन्टरमार्फत चौबिसै घण्टा गुनासो सुनुवाइ सम्बन्धी कार्य गरिरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा अघिल्लो आर्थिक वर्षमा नयाँ र पुराना गरी ७ लाख ७१ हजार युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । चालु आवमा ७ लाख ४१ हजार जनाले श्रम स्वीकृति लिएको र दैनिक सरदर दुई हजार ११३ जना श्रम गर्न विदेश गइरहेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा सुविधा वृद्धि
आन्तरिक रोजगारीका अवसरहरू सिर्जना हुन नसकेको कारण वैदेशिक रोजगारीमा रहरभन्दा पनि बाध्यता बन्दै गएको देखिन्छ । देशभित्र उपर्युक्त रोजगारीका अवसरहरू सिर्जना गरी युवाहरूलाई स्वदेशमा नै रहने वातावरण सिर्जना गर्न मन्त्रालयले २०८१ देखि २०९० सालसम्मलाई आन्तरिक रोजगारी दशक अभियान सञ्चालन गर्ने कार्यहरू गरिरहेको जनाएको छ ।
हालैमात्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरी आन्तरिक रोजगारी प्रवद्र्वन कार्यक्रम सञ्चालन गरिएको थियो । मेलामार्फत १५ हजार युवाले रोजगारी पाएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले कार्य भिसा बाहेक अन्य भिसामा विदेश गएर काम गरिरहेका युवाको सहजिकरणका लागि श्रम गन्तव्य मुलुकमा नै श्रम स्वीकृति दिने व्यवस्था गरेको जनाएको छ ।
नेपालबाट खुला भएका गन्तव्य मुलुकमा श्रम स्वीकृति बाहेक जुनसुकै भिषाबाट प्रचलित कानुन बमोजिमको कार्य विदेशी मुलुकमा गरिरहेको भएमा ३० मे, २०२४ सम्म विदेशस्थित नेपाली कूटनीतिक नियोगमा निवेदन दिएमा एक पटकका लागि महिला पुरुष सबैलाई वैधानिकीकरण श्रम स्वीकृति उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट सधैं श्रम स्वीकृति उपलब्ध गराउने गरी कार्यविधि संशोधन गरी कार्यान्वयन भइरहेको जनाइएको छ । श्रम स्वीकृति लिएर संस्थागत रूपमा जाने महिला कामदाहरूको हकमा श्रम सम्झौता विपरीतका कार्यहरू भई पीडित भएमा मन्त्रालय र मातहतका निकायहरूबाट सम्बन्धित वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई जिम्मेवार बनाई निरन्तर अनुगमन गर्ने कार्यलाई प्रभावकारी बनाइने पनि बताइएको छ ।