बेनी–जोमसोम–कोरला सडकमा ७२ करोड खर्च
म्याग्दी– उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा ७२ करोड ७७ लाख रुपैयाँ खर्च भएको छ । विनियोजित बजेट ७२ करोड ८२ लाखमध्ये यो खर्च ९९ प्रतिशत हो । कोरला सडकका लागि आर्थिक वर्ष २०८०/८१ मा पुँजीगत विकास खर्च सडकतर्फ ७० करोड र सडक पुल पुलेसातर्फ २ करोड ८२ लाख विनियोजन भएको थियो ।
जसमध्ये सडकतर्फ ६९ करोड ९५ लाख खर्च भएको हो । यस्तै, पुल पुलेसातर्फ शतप्रतिशत खर्च भएको छ । कोरला सडकका लागि विनियोजित कुल बजेट सकिएको र भौतिक प्रगतिका आधारमा बिल प्रमाणित भइसकेका निर्माण कम्पनीलाई करिब नौ करोड बढी भुक्तानी दिन बाँकी रहेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाँईले जानकारी दिए ।
‘गत आर्थिक वर्षमा आयोजनाको सडक तथा पुलमा अपेक्षाकृत भौतिक प्रगति भएको छ, हामीलाई विनियोजन भएको बजेट पर्याप्त हुन सकेन,’ आयोजनाका सूचना अधिकारी चापागाँईले भने,‘ अपुग हुने बजेट विभागमा माग गरेका थियौं, चिठी लेखेर विभागमा बजेट पठाईदिन अनुरोध गरेका छौं ।’ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाका जोड्ने गरी तत्कालीन सरकारले २०७३–७४ सालदेखि उक्त सडक आयोजना सञ्चालनमा ल्याएको हो ।
कोरला सडक आयोजनाले हालसम्म करिब ७ अर्ब ४० करोड बढी बजेट खर्च गरिसकेको छ । कोरला सडकअन्तर्गत पर्वतको मालढुंगादेखि बेनी हुँदै जोमसोम-कोरला २०२ किमी सडक स्तरोन्नतिका लागि कुल ३७ वटा योजना कार्यान्वयनमा ल्याएको थियो । पछिल्लो समयसम्म पुल पुलेसा २१, कालोपत्रे सडक ८, ग्राभेल सडक ७ र १ कन्स्ट्रक्सन अफ फेन्सिङ एट मार्फा योजना कार्यान्वयनमा आएको आयोजनाका सूचना अधिकारी चापागाँईले बताए ।
यसैगरी निर्माणाधीन २१ पुल पुलेसामध्ये मुस्ताङको स्याङ खोला, लुप्रा पान्डा खोला, छाक्ताङ खोला, सेतु खोला, राहुघाट, घट्टे खोला पुल र उपल्लो मुस्ताङको लोमान्थाङदेखि कोरलासम्मको ४ वटा निर्माणाधीन पुल सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले म्याग्दीको रुप्से र म्याग्दीको बेनीमा बेलिब्रिज निर्माण गरिसकेको पनि जनाएको छ । कोरला सडकअन्तर्गत मुस्ताङको मार्फा खोला, छुसाङको नरसिंह खोला, घमी खोला, चराङ खोला पुल निर्माणाधीन अवस्थामा छन् ।
यस्तै, म्याग्दीको रुप्से, मुस्ताङको खहरे खोला र मुस्ताङको कागखोलामा पुल निर्माणका लागि डिजाईन रिभ्यूलगायतको आवश्यक प्रक्रियाअघि बढाइसकेको छ । कोरला सडकतर्फ ८ कालोपत्रे सडकमध्ये बेनी-जोमसोम सडकको तेस्रो खण्ड कैकुदेखि खन्तीसम्म, बेनीदेखि गलेश्वर ३ किमी कालोपत्रे सडक र जोमसोम कोरला ६ खण्डको ग्राभेल सडक सम्पन्न भएको हो ।
चराङ-छोसेर सडक निर्माण कम्पनीका कारण अलपत्र परेकोमा त्यसको समेत कामअघि बढाइएको छ । यसका अतिरिक्त जोमसोम-कागबेनी १३ किमी कालोपत्रे सडक योजनाका काम भइरहेको छ । आर्थिक वर्ष सकिँदा कोरला सडकको विभिन्न खण्डमा गरी करिब ५० किमी सडक कालोपत्रे भइसकेको आयोजनाका सूचना अधिकारी चापागाँईले बताए ।