जिप दुर्घटनामा १४ को मृत्यु «

जिप दुर्घटनामा १४ को मृत्यु

गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा मंगलबार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् । इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।
त्यस्तै नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडीगाड ७ बस्ने ५५ वर्षीय नरमाया खत्री, गुल्मी जिल्ला इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की, इस्मा–४ का ६५ वर्षीय झवी कार्कीको मृत्यु भएको छ ।
त्यस्तै इस्मा गाउँपालिका–४ दोहोलीका ४५ वर्षीय भूमी कार्की, २५ वर्षीय मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की को पहिचान खुलेको छ । घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीया धनबहादुर कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो ।

बक्स
जो भाग्यले बाँचे
मार्ग शुक्ल अष्टमीका दिन हुने कुलपूजाका लागि गुल्मीबाट बागलुङ हिँडेका तीन बालकसहितका आमा र स्थानीय पूजा गर्ने ठाउँसम्म पुग्नै पाएनन् । गाउँका कार्की खलकले गन्तव्यसम्म पुग्नका लागि १८ हजारमा जीप रिजर्भ गरेका थिए । भित्र अटाएसम्म र छतमा गरी २५ जना सवार थिए ।
इस्माबाट हिँडेको गाडीलाई ग्वालीचौर प्रहरी चौकी खारले समात्यो । क्षमताभन्दा बढी मान्छे हालेको भन्दै प्रहरीले केही मान्छे झा-यो पनि । झरेका मान्छेलाई गन्तव्यसम्म पु-याउनका लागि ग्वालीचौर प्रहरी इञ्चार्ज लालमणि भट्टराईले नै अर्को गाडी खोजेर पठाए । भट्टराईले भने, “बच्चासहितका आमा भएका काखमा राखेर लैजान्छौं भनेपछि मैले १८ जना जिपमा पठाएको हुँ । अन्य ८ जना अर्को सवारी खोजेर पठाएँ तर, भिमगिठे नजिकै दुर्घटना भएको खबर सुन्दा छाँगाबाट खसेजस्तै भएँ ।”
दुर्घटनाको जोखिम देखेर प्रहरीले बाटैमा झारेका यात्रु बाँचे । दुर्घटना भएको जिपभन्दा पछाडि थियो उक्त भ्यान । भ्यानका चालकका तेजबहादुर घर्तीका अनुसार गाडी सडकमा रहेको पिलरमा ठोक्कियो र खोलामा खस्यो ।
दुर्घटना हुनुपूर्व भ्यानमा चढेका मध्येका एक थिए विशाल कार्की । मंगलबार राति कार्की दाजुभाइको कुल पूजाका लागि झाँक्रीसहित जाग्राम बस्ने र बुधबार कुल पुज्ने भएकाले बायखोला जाने कार्यक्रम थियो उनीहरुको । तर, बन्धुकहाँ नपुग्दै मृत्यु भयो १४ जनाको । कार्की गाउँ बायखोला र गुल्मी इस्मा शोकमा छ ।

प्रतिक्रिया दिनुहोस्