Logo

त्रिशूली बेलिब्रिजमा सवारी आवतजावत खुला

गोरखा– गोरखा र चितवन जोड्ने गरी त्रिशूली नदीमाथि निर्माण गरिएको बेलिब्रिजमा सवारीसाधन आवातजावत खुला गरिएको छ । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने गरी त्रिशूलीमाथि बनाइएको बेलिब्रिजमा सवारीसाधन आवतजावत खुल्ला गरिएको हो । प्राविधिक भारबाहन क्षमताको परिक्षण सम्पन्न गरी बुधबार औपचारिक रूपमा बेलिब्रिजको उद्घाटन गरेर सवारीसाधन आवतजावत खुला गरिएको हो ।

ब्लु इनर्जी कम्पनीले सडक विभागको समन्वयमा बनाएको बेलिब्रिजको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना र इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरे । ब्लु इनर्जीले सोही ठाउँमा सय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावर निर्माण गरिरहेको छ । पृथ्वी राजमार्गसँग गण्डकी गाउँपालिकाको सडक पहुँच पुर्‍याई विकास निर्माण तथा स्थानीय बासिन्दाको सहजताका लागि बेलिब्रिज निर्माण गरिएको ब्लु इनर्जी लिमिटेडका निर्देशक निरन्जनकुमार रेग्मीले बताए ।

१६ करोड १४ लाख रुपैयाँको लागतमा बेलिब्रिज निर्माण सम्पन्न भएको सुपर त्रिशूली हाइड्रोपावरको वातावरण परामर्शदाता सलिल देवकोटाले जानकारी दिए । ‘बेलिब्रिजको कुल लम्बाइ ११६ मिटर तथा चौडाइ ४.२ मिटर छ । २० टन भारवहन क्षमता रहेको यो बेलिब्रिजमा एक पटकमा एउटामात्र सवारी आवतजावत गर्नुपर्ने हुन्छ ।’

नदीमा पानीको बहावका कारण बेलिब्रिजको फाउन्डेसनको अध्ययनमा केही समय लागे पनि निर्माण कार्य सुरु भएको चार महिनामा काम सम्पन्न भएको उनले जानकारी दिए । बेलिब्रिज बनेसँगै गोरखाको गण्डकी गाउँपालिका– १,२, ३, ४ र ५ तथा सहिद लखन गाउँपालिका– २, ३, ४, ५, ६ र ९ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले बताए । ‘दुवै पालिकाका किसानले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि पृथ्वी राजमार्गसम्म पुर्‍याउन अब सजिलो हुने भयो,’ उनले भने, ‘कृषि उपज डोकोमा बोकेर झोलुंगे पुल तर्नुपर्ने बाध्यता हटेको छ । दैनिक उपभोग्य सामग्री बोकेर झोलुंगे पुल तरेर गण्डकी गाउँपालिकाका गाउँगाउँमा पुर्‍याउनु पथ्र्यो । अब गाडीमा नै सामान गाउँ पुग्ने भयो । ढुवानी खर्च कम लागेपछि पहिलेको तुलनामा कम मूल्यमा गाउँलेले सामान किन्न पाउनु हुनेछ ।’

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बेलिब्रिज बनेसँगै गण्डकी गाउँपालिका र इच्छाकामना गाउँपालिकाका बासिन्दालाई आवतजावता सहज हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा पूर्व सदस्य हरिराज अधिकारीले गोरखाको दक्षिणी भेग विकास निर्माणमा पछि परेकाले यो क्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले पृथ्वी राजमार्गबाट यो बेलिब्रिज हुँदै गोरखा सदरमुकाम पुग्न सकिने भएकाले यस सडकलाई सदरमुकाम पुग्ने वैकल्पिक सडकका रूपमा लिन सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्