दुवाथलनमा पनि नेपाललाई स्वर्ण «

दुवाथलनमा पनि नेपाललाई स्वर्ण

खेलाडीले खेल सामग्री र पोशाक पाएनन्

पोखरा-१३ औं साग अन्तर्गत दुवाथलनमा पनि नेपालले एक स्वर्ण पदकसहित तीन पदक हात पार्न सफल भएको छ । पोखराको लेकसाइडमा मंगलबार भएको ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर दौडमा नेपालले एक स्वर्ण सहित तीन वटा पदक हात पार्न सफल भएको हो ।
भारत र श्रीलंकाका खेलाडीलाई पछि पर्दै नेपालका खेलाडीले एक स्वर्ण र दुई रजत सहित तीन पदक हात पार्न सफल भएका हुन् । पुरुष तर्फको दुवाथलनमा नेपालका हिमाल टमटाले निर्धारित दूरी ५७ मिनेट ३३ सेकेण्डमा पार गरी नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । त्यसैगरी नेपालका लक्ष्मण मल्लले रजत पदक जितेका छन् ।
उनले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गरी रजत पदक दिलाएका हुन् । श्रीलंकाका आशिथ पेरेराले निर्धारित दुरी ५९ मिनेट ३२ सेकेण्डमा पार गरी तेश्रो भए ।
त्यसै गरी महिला तर्फको दुवाथलनमा श्रीलंकाले स्वर्ण र कास्य पदक हात पार्न सफल भएको छ । प्रतियोगितामा नेपाल सहित श्रीलंका र भारत सहभागि भएका छन् ।

खेलाडीले खेल सामग्री र पोशाक पाएनन्
१३ औं साग अन्तर्गत केही खेलका खेलाडीहरुले उययुक्त खेल पोशाक तथा खेल सामग्री प्राप्त गर्न सकेका छैनन् । दुवाथलनमा स्वर्ण पदक बिजेता हिमाल टमटाले अर्कासँग मागेर खेल पोशाक लगाएर प्रतियोगितामा सहभागि भएका हुन् । उनले प्रयोग गरेको साइकल भने करिब ५ वर्ष पुरानो हो । उनले भने, “हामीले राष्ट्रको नाममा आफ्नो मुढेबल प्रयोग गरेर खेलिरहेका छौं । हाम्रा प्रतिष्पर्धी भारत, श्रीलंकाली खेलाडीले प्रयोग गर्ने लेटेस्ट मोडलको साइकल हो, त्यस्तो साइकल पाएको पाएको खण्डमा हामीले जित निकाल्न धेरै सहज हुन्छ ।”
१५ वर्षदेखि रनिङ र कराँतेमा लाग्दै आएका नेपाल आर्मीका टमटा आठौं राष्ट्रिय खेलकुदमा रजत पदक हात पार्न सफल भएका थिए । आठौं राष्ट्रिय खेलमा क्रस कन्ट्री र दुवाथलनमा सहभागि हुँदा दोश्रो भएका थिए । महेन्द्रनगर १२ का २७ वर्षीय टमटाले अब एसियन गेममा स्वर्ण पदक जित्ने आफ्नो लक्ष्य भएको बताए । उनले भने, “हामीलाई समयमै खेल पोशाक र खेल सामग्री सहित प्रशिक्षणको प्रबन्ध हुन सकेको खण्डमा हामीले खेलमा धेरै सुधार गर्न सक्छौं ।” ८ वर्षदेखि आर्मीमा आबद्ध भएका टमटाले आफूहरुले प्रयोग गर्ने साइकल आलमुनिएमको र अन्य देशले प्रयोग गर्ने साइकल भने कार्वनबाट बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्