रोकिएन चोरीतस्करी

काठमाडौं– १– सुनसरीको देवानगञ्ज गाउँपालिका–४ मेहता टोलबाट ४ लाख ४२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद ।
२– सप्तरीको बोदेबरसाइन नगरपालिका–८ स्थित बेरियाही इलाकाबाट २ लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद ।
३– कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ अटो वर्कशप नजिकैबाट ५८ लाख ९३ हजार रुपैयाँ बराबरका लत्ताकपडा, सवारी साधन तथा मोबाइल पार्ट्स, इलेक्ट्रोनिक्स सामान बरामद ।
नेपाल र भारतबीचको खुला सीमाको मौका छोपेर सामान चोरीतस्करी गरिएका यी केही उदाहरणमात्र हुन् । संसद्का दुई ठूला दल मिलेर स्थिर सरकार बनेका बेलामा पनि चोरीतस्करीका घटनामा कमी आउन सकेको छैन । सशस्त्र प्रहरी र राजस्व अनुसन्धान विभाग जस्ता सरकारी निकायहरुले दैनिकजसो चोरी तस्करी भई आएका सामान बरामद गरिरहेका छन् । विगतमा स्थिर सरकार भएका बेला चोरीतस्करी केही हदसम्म नियन्त्रण हुँदै आए पनि अहिले रोकिएको छैन । यही कारण अर्थ मन्त्रालयले हालै राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको थियो ।
पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नेछन् ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्ययोजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो । भन्सार विभागका सूचना अधिकारी हरिहर पौडेलले टोलीले चुहावट नियन्त्रणको योजना बनाइरहेको जानकारी दिए । उनका अनुसार दुवै टोली चाँडै नै परिचालन हुनेछन् ।
पौडेलले चोरीतस्करी नियन्त्रण गर्न विभागले आफ्नै हिसाबले काम गरिरहेको पनि बताए । दुई मुलुकबीचको खुला सीमाका कारण चोरीतस्करी नियन्त्रण गर्न गाह्रो हुने भए पनि सरकारले निरन्तर प्रयास गरिरहेको उनको दाबी छ ।
पौडेलले पछिल्ला दिनमा प्रहरीको उजुरी पनि कम देखिएको बताए । ठूला भन्सार नाकाहरुमा भन्दा पनि छोटी भन्सार नाका नजिकबाट सामान चोरी तस्करी हुने गरेको छ । सरकारको लक्ष्यअनुसार भन्सार राजस्व संकलन नहुनुमा एउटा कारण चोरीतस्करी नियन्त्रणमा नआउनु पनि हो । चालु आवमा भन्सार विभागलाई ५ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व असुलीको लक्ष्य दिइएको छ । भदौ १९ सम्ममा लक्ष्यको करिब १० प्रतिशतमात्र राजस्व उठेको छ ।
यस्तै, अर्थ मन्त्रालयले भदौसम्ममा विभागलाई ९५ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । त्यसमध्ये भदौ १९ सम्ममा ७६ अर्ब ६३ करोड रुपैयाँ असुली भएको छ । यो लक्ष्यको ६० प्रतिशत हाराहारीमात्र हो । अर्थका एक अधिकारीका अनुसार खुला सीमाबाट चोरी तस्करी भई राजस्व छल्ने बाहेक ठूला भन्सार नाकाहरुबाट पनि मिलेमतोमा राजस्व अपचलन गरिन्छ । उनका अनुसार उद्योगी–व्यापारीमा सामान ल्याउँदा सकेसम्म थोरै कर तिर्ने प्रवृति छ । ‘धेरै मूल्य पर्ने सामानलाई कम मूल्य देखाउने र धेरै कर लाग्ने सामानलाई कम कर लाग्ने सामानको सूचीमा राखिन्छ,’ ती अधिकारीले कारोबारसँग भने, ‘सामानको परिमाण नै कम देखाएर राजस्व छल्ने नियत पनि व्यवसायीले देखाउँदै आएका छन् ।’ यसमा भन्सार कर्मचारीले सहयोग पुर्याउँछन् ।
उनका अनुसार पछिल्लो समय विभागले भन्सार नाकाहरुमा सामान जाँचपास गर्दा अनलाइन लाइभ मनिटरिङमा कडाइ गरेपछि केही नियन्त्रणमा आएको छ । यो प्रणालीबाट भन्सारमा भएका सबै गतिविधि हेर्न सकिन्छ । कर्मचारीले कुनै मालवस्तुको थोरै भन्सार महशुल लिए थपाउने काम पनि हुन्छ । भन्सार नाकाहरुमा भएको बेथितिकै कारण केही वर्षदेखि राजस्व असुली न्यून भएको छ । राजस्वका क्षेत्रहरुमध्ये सबैभन्दा कम भन्सार महसुल उठेको छ । भारतीय सीमा नाकाबाट स–सानो परिमाणमा सामान भित्र्याएर नेपालका विभिन्न स्थानमा जम्मा गर्ने र पछि काठमाडौंलगायत मुलुकका विभिन्न सहरहरुमा पुर्याउने गरिन्छ । यस्तोमा पुराना भन्सारका प्रज्ञापनपत्र देखाएर सुरक्षा निकायलाई ‘नजराना’ चढाउँदै लक्षित सहरमा सामान लैजाने प्रचलन छ ।