Logo

सरकारी अस्पतालको अनुगमनलाई प्रभावकारी बनाउन सांसदको जोड

काठमाडौं- सांसदहरुले सरकारी अस्पतालहरुको अनुगमनलाई प्रभावकारी बनाउन जोड दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा अधिकांश सांसदहरुले सरकारले अस्पतालको अनुगमन एवं निरीक्षणमा आवश्यक ध्यान दिन जोड दिएका हुन् । उनीहरुले अस्पतालमा उपलब्ध हुने खाना, औषधि, फोहोरको बारेमा सरकारले विशेष चासो दिएर अनुगमन गर्नुपर्नेमा जोड दिए ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले अस्पतालमा नि:शुल्क पाइने भनेका औषधिहरु अस्पताको फार्मेसीमा नपाइने तर बाहिर राखिएका फार्मेसीमा पैस तिरेर किन्नुपर्ने अवस्था रहेको भन्दै अनुगमनमा जोड दिन आग्रह गरे । उनले सरकारी अस्पतालहरुमा फोहोर व्यवस्थापन हुन नसक्दा बिरामीहरु मनोवैज्ञानिक रुपमा झनै कमजोर हुने गरेको बताए । उनले केन्द्रीय वीर अस्पतालमै फोहोरको व्यवस्थापन नहुनु दु:खको विषय भएको बताए ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले अनियन्त्रित रुपमा न्युट्रास्युटिकलहरु, पोषण परिपूरक, डाइट सप्लिमण्ट भन्ने ओमेगाथ्रिको क्याप्सुलहरु दिने काम भइरहेको भन्दै निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले जण्डिस, शरीरका अंगहरु सानो, ठूलो बनाउन, हर्मोनका लागि यस्ता क्याप्सुलहरु विक्री हुने गरेको भन्दै निरीक्षण गरी कारबाही गर्न माग गरिन् । उनले औषधि स्वास्थ्य विभागमा दर्ता पनि नभएका औषधिहरु बजारमा बिक्री भइरहेको बताइन् ।

बैठकमा नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जथाभावी औषधि बिक्री वितरण भइरहेको भन्दै निगरानीमा ध्यान दिन दबाब दिए । उनले भरपर्दो हिसावले सही शुल्कमा नागरिकले औषधि पाउने सुनिश्चितता सरकारले दिनुपर्ने बताए । उनले अस्पतालमा डेस्क नै नहुने र कतिपय डेस्क रहेका अस्पतालहरुमा सूचना दिने मानिस नै नराखिएको भन्दै सरकारले हरेक अस्पतालमा सूचना दिनका लागि र सोधपुछका लागि एउटा डेस्क अनिवार्य गर्ने व्यवस्था सुरु गर्नुपर्ने बताए ।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद संगीता मण्डल धानुकले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई सुझाव दिइन् । सफा खानेपानीको पहुँच नहुँदा विभिन्न रोगहरु निम्तिने गरेको भन्दै खानेपानीमा ध्यान दिन आग्रह गरिन् । उनले सरकारी अस्पतालमा दिइने खाना नराम्रो हुने भन्दै सफा खाना दिनका लागि र सरकारी अस्पतालले खाना सफा र गुणस्तरयुक्त दिएको छ वा छैन भन्नेबारेमा गम्भीर भएर निगरानी गर्न सरकारसँग आग्रह गरिन् ।

तराईमा सीमा क्षेत्रबाट एन्टीबायोटिकहरु धेरै भित्रिने गरेको भन्दै निगरानी बढाउन आग्रह गरिन् । उनले एन्टिबायोटिकको नामा पिठो मिसाएको औषधि भित्र्याउने र त्यसले झनै रोग फैलाउने गरेको भन्दै निगरानी बढाइ नागरिकको स्वास्थ्यमा पर्ने जोखिमबाट मुक्त गर्न आग्रह गरिन् । समितिको बैठकमा अन्य सांसदहरुले अस्पताललाई व्यवस्थित र सफा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अस्पतालमा बिरामी कुर्न गएका कुरुवाहरु नै बिरामी भएर आउने अवस्था रहेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्