बजार अनुगमन मूल्यसूची र बिलबिजकमै सीमित

६ सय ६३ व्यावसायिक फर्ममा अनुगमन, २५० कारबाही |
पछिल्लो समय बजार अनुगमन गर्ने निकायको काम मूल्यसूची र बिलबिजक अध्ययनमै केन्द्रित भएको छ । अनुगमनको जिम्मेवारी पाएकोवाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलेमूल्यसूची र खरिद बिललाई मात्र अनुगमन केन्द्रित बनाएको हो । चाडपर्वमा सक्रिय हुने बजार अनुगमनको काम पछिल्लो समय फाट्टफुट्ट मात्र हुने गरेको छ ।
बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई प्रोत्साहन मिलेको छ । विभागले बजार अनुगमन केबल मूल्यसूचीर बिलबिजकमा मात्र केन्द्रित बनाउदा कालोबजारी गरी ठगी गर्ने व्यवसायीले उन्मुक्ति पाउने गरेको उपभोक्ताको गुनासो छ । बजार निरीक्षणअधिकृतले अनुगमनका क्रममा कैफियत भेटिए पाँचदेखि तीन लाखसम्म तत्काल फिल्डमै कारबाही गर्ने अधिकार भएपनि अनुगमन केबल मूल्यसूची, बिलबिजक र व्यवसाय दर्तामा केन्द्रित हुँदा बजार अनुगमन प्रभावकारी बन्न नसकेको हो ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना बजार अनुगमन खरिद बिल भए नभएको र मूल्य सूचीमा केन्द्रित हुँदा बजार व्यवस्थित र मर्यादित बन्न नसकेको बताउँछन् । बजार अनुगमन प्रभावकारी नहुँदा अधिकांश सामानमा उपभोक्ता ठगिएको उनको भनाई छ ।
विभागका बजार अनुगमन शाखा निर्देशक सागर मिश्रले बजार अनुगमन नियमितरुपमा भइरहेको बताए । पछिल्लो चार महिनामा २५० व्यावसायिक फर्मलाई कारबाही गरी ४९ लाख राजस्व संकलन गरिएको उनले जानकारी दिए । म्याद नाघेका सामान बिक्री गर्ने, बिलबिजक नभएको, मूल्यसूची नराखेको र व्यवसाय दर्ता प्रमाणपत्र नभएको व्यवसायीलाई कारबाही गरिएको उनले जानकारी दिए ।
विभागले उपभोक्ता संरक्षण ऐनविपरीत व्यवसाय गर्ने व्यवसायीलाई ४९ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा ६६३ फर्म अनुगमन भएको थियो । त्यसमध्ये २५० फर्मलाई विभिन्न कैफियतका आधारमा जरिवाना गरिएको हो । विभागले यो अवधिमा उपत्यका ५८२ र उपत्यकाबाहिर ८१ फर्ममा अनुगमन गरेको जनाएको छ ।
विभागले गत आर्थिक वर्ष २०७५-७६ मा गरेको जरिवानाभन्दा चालू आवको चार महिनाको जरिवाना बढी हुन आएको छ । गत आवमा ४३ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेका थियो । विभागले दसैँमा विशेष अनुगमन टोली परिचालन गरी १५ लाख ९० हजार रुपैयाँ जरिवाना उठाएको थियो ।
बजारमा हुने गलत क्रियाकलाप नियन्त्रण गरी स्वच्छ र व्यवस्थित बजार कायम गर्नका लागि उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको विभागको भनाइ छ । बजार अनुगमनका क्रममा कैफियत फेला परे कसूरअनुसार कारबाही गरिएको विभागको भनाइ छ ।
विभागले चार महिनाको अवधिमा ६६३वटा व्यावसायिक फर्ममा अनुगमन गरिएकोमा २५० लाई कारबाही गरेको छ । सो अवधिमा १२४ व्यावसायिक फर्मलाई स्पष्टीकरण सोधेको छ । यस्तै ४७ वटा व्यावसायिक फर्मलाई व्यवसाय रोक्का गरेको छ । चार महिनाको अवधिमा दुईवटा व्यावसायिक फर्मलाई मुद्दा दायर गर्नका लागि पठाएको छ । यस्तै ११ वटा नमुना परीक्षण गर्नका लागि पठाएको विभागले जानकारी दिएको छ ।बजारमा म्याद नाघेका सामान, मूल्यसूची नराख्ने, तौलमा कमी, मिसानजस्ता समस्या धेरै देखिने गरेको छ ।