पोखरा-जोमसोम हवाई सेवा सुचारु
म्याग्दी- मुस्ताङमा पर्यटकीय सिजन सुरु भएसँगै स्थगित रहेको पोखरा-जोमसोम हवाई सेवा सुचारु भएको छ । गत असार १७ गतेदेखि बन्द पोखरा-जोमसोम हवाई उडान सेवा भदौ १४ गते बिहीबारदेखि सूचारु भएको हो । मौसम प्रतिकुलता तथा पर्यटकीय अफसिजनका कारण पोखरा-जोमसोम नियमित हवाई उडान सेवा दुई महिनादेखि ठप्प थियो ।
मुस्ताङमा पोखरा-जोमसोम हवाई उडान सेवा समिट एयरलाइन्स कम्पनीले उडान सञ्चालन गरेको छ । जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख केशव लम्सालका अनुसार मनसुन समाप्तिसँगै अनुकूल मौसम सुरु भइसकेकाले समिट एअरले पोखरा-जोमसोम हवाई सेवा सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनका अनुसार स्थगित उडानपछिको पहिलो हवाई सेवाअन्तर्गत समिट एअरको जहाज दुई महिनापछि जामसोम विमानस्थलमा अवतरण भएको हो । मनसुनसँगै प्रतिकुल मौसमका कारण स्थगित रहेको पोखरा-जोमसोम हवाई उडान सूचारु भएसँगै मुस्ताङमा पर्यटकीय चहल पहल बढेको पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए ।
हवाई मार्ग हुँदै मुस्ताङ आउने पर्यटकले म्याग्दी र मुस्ताङको मनोरम भूगोलको दृष्य देख्न पाउने र हवाई सेवाको यात्राबाट छिटो छरितो सेवा पाईने भएकोले विदेशी तथा स्वदेशी पर्यटक जहाज चढेर मुस्ताङ आउने गरेको उनले बताए । मनसुनका कारण पोखरा-जोमसोम हवाई सेवा बन्द गरिए पनि आपत्कालीन हेली उद्दार गर्न र भिआइपी पर्यटकले हेलिकोप्टर चढेर मुक्तिनाथको दर्शन गर्न आउने समस्या भने खासै प्रभावित बनेको थिएन ।
पोखरा-जोमसोम हवाई उडानका लागि समिट एअरले सेवा सुचारु गरिसकेको छ । तारा एअरलाइन्सले भदौं १८ देखि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको जोमसोम नागरिक उड्डयन कार्यालयले बताएको छ । मुस्ताङमा हवाई सेवा सुचारु भएसँगै सदरमुकाम जोमसोममा पर्यटकीय चहल पहल सुरु भएको छ । हवाई सेवा सुचारु भएसँगै मुस्ताङका पर्यटन व्यवसायी खुसी भएका छन् ।
प्रत्येक वर्ष असार, साउन, पुस र माघ महिनामा प्रतिकुल मौसमका कारण पोखरा-जोमसोम हवाई सेवा बन्द हुने गर्छ । त्यस समय पर्यटकको मुस्ताङ आगमन पनि कम हुने भएकाले निजी एअरलाइन्स कम्पनीले मुस्ताङका लागि आफ्नो हवाई सेवा बन्द गर्ने गर्छन् । पोखरा-जोमसोम हवाई उडानका लागि पोखरा र मुस्ताङमा मौसममा समस्या नहुने भए पनि म्याग्दीको घोडेपानी क्षेत्र र मुस्ताङको लेते क्षेत्रमा बाँक्लो हुस्सु लाग्ने भएकाले पोखरा-जोमसोम बाह्रै महिना हवाई उडानमा समस्या पर्ने गरेको छ ।
जोमसोम नागरिक उड्डयन कार्यालयले पोखरा-जोमसोम हवाई उडानमा पर्ने मौसमी अपडेटका लागि ३ स्थानमा अत्याधुनिक क्यामेरा उपकरण जडान गरिसकेको छ । उक्त स्थानमा जडान गरिएका क्यामराबाट सहयोग लिने गरिएको छ । मनसुनका कारण बर्सेनि असार र साउनमा हवाई सेवा ठप्प हुँदा पोखरा–काठमाडौं यात्रा गर्ने स्थानीय नागरिक तथा पर्यटकलाई सास्ती हुने गर्छ ।
चार लाख पर्यटकबाट मुस्ताङ भ्रमण
माटाको शहरको परिचित हिमालपारिको जिल्ला मुस्ताङमा गत आर्थिक वर्ष २०८०–८१ मा आन्तरिक तथा बाह्य पर्यटक गरी कुल ४ लाख २७ हजारले भ्रमण गरेका छन् । एक्यापको तथ्यांक अनुसार ३ लाख १८ हजार आन्तरिक र १ लाख ८ हजार वाह्य पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले घुम्नै पर्ने सूचिमा मुस्ताङ उपत्यकालाई सूचिकृत गरेकाले मुस्ताङ जिल्लामा पर्यटकको क्रेज बढेको हो । मुस्ताङमा हिन्दु तथा बौद्ध धर्मालम्विहरुको साझा धार्मिक स्थल मुक्तिनाथको दर्शन र कागबेनीमा दिवंगत पितृ उद्दारका लागि धार्मिक तिर्थालु धर्म गर्न आउने भएकाले मुस्ताङमा बर्सेनि पर्यटक आगमन बढी रहेको समिट एअर जोमसोमका स्टेशन म्यानेजर सुमन थकालीले जानकारी दिए ।
चीनसँग सिमाना जोडिएको कोरला नाका, ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुम्बा, लोघेकर गुम्बा, लुरी गुम्बा, दामोदर कुण्ड धार्मिक स्थललगायत ढुम्बाताल, यारुझो भ्युटावर, टिटी ताल, सेकुङ ताल, भुतर्छो ताललगायतको भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटक लालायित हुने गर्छन ।