कर्णाली प्रदेशको प्रथम दलित संसद सम्पन्न

‘सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश हाम्रो सरोकार, राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण हाम्रो अधिकार’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको कर्णाली प्रदेशको प्रथम दलित संसद विभिन्न प्रस्ताब परित गदै सम्पन्न भएको छ ।
सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न सो सम्मेलन संविधानमा संस्थागत गरिएका दलित समुदायलाई हिस्सेदार बनाउन सामाजिक न्यायसहितको समृद्धिको लागि लोकतान्त्रिक दबाब सृजना गर्ने लक्ष्य सहित आयाजना गरिएको थियो । संविधानमा सुनिश्चित भएका दलित एजेण्डाहरु संस्थागत गर्दै थप उपलब्धीको लागि विचारधारात्मक रुपमा समान बुझाई कायम गर्न र संघीयता सहितको संसदीय प्रकृयामा दलितहरुलाई अभ्यस्त तुल्याउदै यसको निगरानी गर्ने उद्देश्यले समेत सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनको समुद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका थिए । उद्घाटन मन्तब्यमा मुख्यमन्त्री शाहीले प्रदेशका दलितहरुको समग्र विकासका लागि गुणात्मक परिवर्तन गर्ने खालका योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्दै हरेक तहको सरकारले यस मुद्दालाई अभियानकै रुपमा लिनुपर्नेमा जोड दिए । अभियानका अलवा दलितहरुको आर्थिक सशक्तिकरणका योजनाहरु पनि निर्माण गरिने उनले जानकारी दिए । कार्यक्रममा प्रतिनीधिसभाका सदस्यहरु, प्रदेशसभाका सदस्यहरु, राजनीतिक पार्टीृका नेताहरु, स्थानीय तहका जनप्रतिनीधिहरु तथा दलित नेताहरुले संबोधन गरेका थिए ।
दलित संसदमा राजनैतिक दलका नेताहरु, दलित आन्दोलनका अगुवाहरुसहित कर्णाली प्रदेशका सबै जिल्लाबाट दलित समुदायबाट निर्वाचित जिसस प्रमुख तथा उपप्रमुखहरु, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहहरु तथा वडाध्यक्षलगायत १०० बढी प्रतिनीधिहरु दलित साँसदको रुपमा उपस्थिति रहेको थियो । संसदको मूल सहकार्य कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसंग गरिएको थियो भने संसदको मूल आयोजक राष्ट्रिय दलित नेटवर्क, नेपाल र साझेदारी सशक्तिकरण केन्द्र नेपालले गरेको थियो । सो अवसरमा दलित संसदको अवसरमा हरेक वर्ष प्रदान गर्ने गरी मानवअधिकार र सामाजिक न्यायका लागि मानव मर्यादा पुरस्कार २०७६ लेकवेसी नगरपालिकाका प्रमुख दलित नेता गगनसिंह सुनारलाई प्रदान गरिएको थियो ।
सो कार्यक्रम विद्येयक प्रस्तुति, शुन्य समय, संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, प्रथम दलित संसदको सुर्खेत घोषणा लगायतका बिषयमा छलफल र केन्द्रित रहेको थियो ।