अवकाशपछि कागज उद्योगतर्फ

दाङ– दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसी अवकाशपछि नेपाली हाते कागज उद्योगमा सक्रिय रहेका छन् । २५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा काम गरेका जिसी अवकाशपछि नेपाली कागज उद्योग सञ्चालनमा लागेका हुन् । अवकाशपछि राप्ती गाउँपालिका–४ पिपरखुटीमा करिब ४५ लाख रुपैयाँ लगानीमा राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानी लिइरहेका छन् ।
उनले स्थानीय २० जनालाई रोजगारी दिएका छन् । स्थानीय स्तरमा पाइने वनस्पति र केही कच्चा पदार्थ बाहिरी जिल्लाबाट आयात गरी जिल्ला मै पहिलो पटक नेपाली कागज उद्योग सञ्चालन गरेका जिसीले राम्रो आम्दानी गर्दै आएका छन् । पछिल्लो समय आर्थिक मन्दीका कारण जिल्लामा धेरै व्यापार व्यवसाय धराशायी भइरहेका बेला नयाँ व्यवसाय सञ्चालन गरेका जिसी अहिले सफल व्यवसायीको रूपमा रहेका छन् ।
नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थका रूपमा प्रयोग हुने बाबियो, लोक्ता र अघ्रेलीलगायतका कच्चा पदार्थ पूर्वी नेपालको पाँचथर जिल्लाबाट ल्याउने गरेको उनले बताए । कागज उद्योगबाट राम्रो आम्दानी हुन थालेपछि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरका रूपमा कार्यरत छोरा लालबहादुर जिसीले समेत जागिर छोडेर उद्योगमा बुबालाई सघाउँदै आएका छन् ।
उद्योगको उत्पादन र कारोबारले जागिर बिर्साइ दिएको भन्दै जिसीले भने, ‘जागिरका क्रममा महिनामा ३०/३५ हजार तलब आउने गरेको थियो । तर अहिले त्यो भन्दा डबल बढी उद्योगबाटै आम्दानी भइरहेको छ ।’ उद्योगमा आवश्यक पर्ने रसायन जिल्ला बाहिरबाटै ल्याउने गरेको पनि उनले बताए । उद्योगबाट दैनिक विभिन्न साइजका ४ हजारप्रति नेपाली कागज उत्पादन भइरहेको छ । प्रतिदिन २० कोरी कागज उत्पादन हुन्छ । एक कोरीमा २ सय प्रति हुने गर्छ । जिसीले भने,‘नेपाली कागज बिक्रीका लागि बजारको समस्या छैन । जति उत्पादन गरे पनि बिक्री भइरहेको छ ।’
उनका अनुसार उद्योगबाट उत्पादन भएको कागज पूर्वमा काठमाडाैं, विराटनगरदेखि पूर्व–पश्चिम नेपालगन्ज, सुर्खेत, धनगढीलगायतका ठाउँमा जाने गरेको छ । अदालत, मालपोतलगायतका सरकारी कार्यालयमा बढी मात्रमा प्रयोग हुने कागज उत्पादन गर्दै आएका जिसीले गत वर्ष एक करोड बढीको कारोबार गरेको बताए । उनका अनुसार उद्योगबाट २० ग्रामको नेपाली कागजलाई प्रति गोटा १० रुपैयाँ, २५ ग्रामलाई प्रति गोटा २५ रुपैयाँ, ३० ग्रामको कागजलाई प्रति गोटा ३० रुपैयाँ र ४० ग्रामकोलाई प्रतिगोटा ५० रुपैयॉका दरले बिक्री गर्दै आएका छन् ।
सञ्चालकका अनुसार ए–फोर साइजको कागज धेरै बिक्री हुने गरेको छ । सरकारी जागिरपछिको समयमा खाली बस्ने कि के गर्ने भन्ने लागिरहेको समयमा उद्योग सञ्चालन गरेको भन्दै सञ्चालक जिसीले बताए । उनले भने,‘जागिरपछि खाली बस्नुभन्दा पहिलेदेखि बाबियो निर्यातको काम गर्दै आएकाले कागज उद्योग सञ्चालन गरेको थिए । अहिले राम्रो आम्दानी भइरहेको छ । उद्योगको कमाइबाट सन्तुष्ट छु ।’ पछिल्लो समयमा उद्योग तथा कृषि क्षेत्रमा लाग्नेहरुको संख्या बढ्दै गएको पनि जिसीले बताए ।