ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनद्वारा तीन विधामा पुरस्कार प्रदान

काठमाडौ– ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनले विभिन्न तीन विधामा फरक फरक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनले पहिलोपटक उक्त पुरस्कार प्रदान गरेको हो । यस वर्ष पर्यटन पत्रकारितातर्फ कान्तिपुर दैनिकका सुरज कुँवर, लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारबाट एन्टी पोचिङ युनिट, चितवन राष्ट्रिय निकुञ्ज कसरा र दुर्गादेवी मिश्र शिक्षा पुरस्कार बाघखोर अमलटारी नवलपरासीस्थित दुर्गा भवानी प्राथमिक विद्यालयलाई प्रदान गरेको हो । पुरस्कृत व्यक्ति तथा संस्थालाई जनही तीन लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान समयमा पर्यटन र वातावरणको संरक्षण विश्वव्यापी मुद्धा बनेको र यसमा नेपालले सकारात्मक योगदान पुर्याएको बताए । विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाकै पहलमा नेपालले यस्तो सफलता प्राप्त गरेको भन्दै उनले त्यसमा समर्पित व्यक्तिको सम्मान हुनु असल कर्म भएको बताए । यस किसिमको सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र वातावरण तथा पर्यटन संवद्र्धनमा लाग्न अरुलाई पनि पे्ररित गर्ने उनले बताए ।
पूर्वप्रधानन्यायाधीश एवम् फाउन्डेसनका संरक्षक कल्याण श्रेष्ठले पवित्र उद्देश्यसहित स्थापित फाउन्डेसनले अत्यन्त पारदर्शीतासहित सम्बन्धित क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मानित गरेको बताए । फाउन्डेसनलाई भविष्यमा अध्ययन अनुसन्धानमा पनि लगानी गर्न सुझाव दिँदै उनले समाजमा सकारात्मकता पैदा गर्न यस्ता प्रयास हुनु आवश्यक रहेको धारणा राखे ।
फाउन्डेसनका संस्थापक बसन्त मिश्रले नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेकाले पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।